मधेस आन्दोलनका अनुभवी अनुहार फेरि चुनावी मैदानमा
मधेस आन्दोलनबाट उदाएको नेतृत्वका रूपमा चिनिने रामेश्वर राय यादव आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर–४ बाट प्रतिस्पर्धामा उत्रिँदै छन् ।
मधेसका पुराना र अनुभवी राजनीतिक खेलाडीका रूपमा परिचित यादव हाल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार हुन्।
यादवको राजनीतिक यात्रा एउटै दलमा सीमित रहेन। फरक–फरक चरणमा विभिन्न राजनीतिक दलसँग आबद्ध हुँदै उनी राष्ट्रिय राजनीतिसम्म पुगेका हुन्।
उनले आफ्नो राजनीतिक जीवन नेपाल सद्भावना पार्टीबाट सुरु गरे। त्यसपछि मधेस आन्दोलनको क्रममा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) हुँदै हाल जनता समाजवादी पार्टीमा आइपुगेका छन्।
निर्वाचन अनुभवका हिसाबले यादव अनुभवी नेता हुन् । उनी २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए भने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट सांसद बनेका थिए ।
त्यसपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
यसअघिसम्म सर्लाही क्षेत्र नम्बर–३ बाट चुनाव जित्दै आएका यादव यसपटक भने आफ्नो पुरानो क्षेत्र छोडेर क्षेत्र नम्बर–४ मा उम्मेदवारी दिएका छन् ।
सर्लाही–३ बाट नेकपाको टिकटको अपेक्षा गरेका उनले टिकट नपाएपछि जसपा नेपालबाट ४ नम्बर क्षेत्र रोजेका हुन् ।
सर्लाही–३ मा नेकपाले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएपछि उनको चुनावी मार्ग परिवर्तन भएको हो।
सर्लाही जिल्लामा बलियो जनाधार र जातीय समीकरणमा पकड राख्ने नेताका रूपमा चिनिने यादव यसपटक नेपाली कांग्रेसका नेता गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंह र नेकपाका डा. रजनीश राय यादवजस्ता बलिया र चर्चित प्रतिस्पर्धीसँग सामना गर्दैछन्।
मधेस आन्दोलनको अनुभव, संघीय राजनीतिमा पहिचान र मन्त्रीको जिम्मेवारी सम्हालिसकेको पृष्ठभूमि यादवको मुख्य शक्ति हो ।
तर दल परिवर्तनको इतिहास र पुरानो क्षेत्र छोडेर नयाँ क्षेत्रमा प्रवेश गर्नु उनका लागि चुनौती पनि बनेको छ। अनुभवी राजनीतिज्ञको हैसियतमा उनले फेरि एकपटक मतदाताको विश्वास जित्नुपर्ने परीक्षा सामना गरिरहेका छन्।
अनुकूलता
• दुई पटक संघीय/संवैधानिक निर्वाचन जितेका अनुभवी नेता
• संघीय राजनीतिमा परीक्षित र चिनिएको अनुहार
• मधेस–केन्द्रित एजेन्डा र जातीय समीकरणमा पकड
प्रतिकूलता
• बारम्बार दल परिवर्तनको प्रभाव
• राजनीतिक स्थिरतामाथि प्रश्न उठ्ने सम्भावना
• पुरानो क्षेत्र छोडेर नयाँ क्षेत्रमा प्रतिस्पर्धा
रामेश्वर राय यादव को उम्मेदवारि कस्तो लागयो ?


