सम्पदा संरक्षणको मुद्दा बोकेर प्रतिस्पर्धामा
सपना राजभण्डारी नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले नेपाली कांग्रेसबाट टिकट प्राप्त गरेकी छन्।
नेपाली कांग्रेसले यसपटक धेरै निर्वाचन क्षेत्रमा नयाँ अनुहार अघि सारेको छ, जसअन्तर्गत सपना राजभण्डारी पनि पर्छिन्। उनी महिला उम्मेदवारमध्ये एक हुन् । दिवंगत नेता नवीन्द्रराज जोशीकी धर्मपत्नीसमेत रहेकी राजभण्डारी वि.सं. २०७४ मा आदिवासी जनजाति समुदायबाट समानुपातिक सांसद रहेकी थिइन्।
वि.सं. २०५८ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा संलग्न रहँदै आएकी राजभण्डारीसँग पार्टीका विभिन्न तह र जिम्मेवारीमा काम गरेको अनुभव छ। हाल उनी नेपाली कांग्रेस महासमिति सदस्यसमेत हुन्।
उनी काठमाडौं उपत्यकाको नेवारी समुदायसँग सम्बन्धित सांस्कृतिक सम्पदा, जात्रा, डबली तथा मठ–मन्दिर संरक्षणका साथै जलवायु परिवर्तनका विषयमा निरन्तर वकालत गर्दै आएकी छन्।
नेपाली विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेकी राजभण्डारीले काठमाडौं जिल्लामा पार्टी संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्।
वि.सं. २०५८ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा संलग्न रहँदै आएकी राजभण्डारीसँग पार्टीका विभिन्न तह र जिम्मेवारीमा काम गरेको अनुभव छ। हाल उनी नेपाली कांग्रेस महासमिति सदस्यसमेत हुन्।
काठमाडौं–८ मा यसपटक कडा प्रतिस्पर्धा देखिएको छ। यस क्षेत्रमा नेकपा (एमाले) का राजेश शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का सुमन सायमीलगायत २२ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस क्षेत्रमा कुल ५६ हजार ८११ मतदाता रहेका छन्।
वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १०,११२ मतसहित विजय हासिल गरेका थिए। त्यस्तै, हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६,१७९ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका थिए भने एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ ४,८८१ मतसहित तेस्रो स्थानमा रहेका थिए।
अनुकूलता
• संगठनात्मक अनुभव र पार्टीभित्रको पकड
• महिला र समावेशी प्रतिनिधित्व
• सांस्कृतिक सम्पदा संरक्षणको एजेन्डा
प्रतिकूलता
• नयाँ पुस्तासँग प्रतिस्पर्धा
• व्यक्तिगत पहिचान निर्माणको चुनौती
• अघिल्लो निर्वाचनको नतिजा
सपना राजभण्डारी को उम्मेदवारि कस्तो लागयो ?


