नतिजा उल्टाउने लक्ष्यसहित चुनावी मैदानमा नगीन्द्र
नगीन्द्र शाही ‘नेशनल’ कालीकोटबाट दोहोरिएका उम्मेदवार हुन् । २०७९ को निर्वाचनमा उनी कर्णालीका पहिलो मुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए । एमाले उम्मेदवार नगीन्द्रले १६ हजार ७१८ मत ल्याउँदा नेकपा नेता महेन्द्रबहादुर २३ हजार ७२७ मल ल्याएर विजयी भएका थिए ।
यो पटक पनि नेकपाले तीनै महेन्द्रलाई पुन: उम्मेदवार बनाएको छ । कालिकोटमा अन्य उम्मेदवारसँगै फेरि एकपटक नगीन्द्र र महेन्द्र आमनेसामने छन् । यी दुई नेतासँगै प्रतिस्पर्धा उत्रिएका छन् नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा ।
१८ वर्षपछि पुन: ‘ब्यालेट’ यात्रामा फर्किएका विश्वकर्मा २०६४ को निर्वाचनमा यही क्षेत्रबाट विजयी भएर मन्त्रीसमेत बनेका थिए । त्यस्तै, नेपाली कांग्रेसका हर्षबहादुर बम र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपाने पनि चुनावी मैदानमा छन् ।
नगीन्द्र नेकपा एमालेनिकट विद्यार्थी संगठनबाट राजनीतिमा आएका नेता हुन् । हाल एमालेको केन्द्रीय सदस्य हुन् । २०३६ साल भाद्र १२ गते कालिकोट रास्कोट नगरपालिकाको विजयपुरमा जन्मिएका नगीन्द्र २०४९ देखि राजनीतिमा छन् ।
२०४९ देखि विद्यार्थी आन्दोलनमा सक्रिय भएका उनी २०५४ देखि २०५७ सम्म नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पसको अनेरास्ववियु अध्यक्ष बनेका नगीन्द्र २०५७ देखि २०५८ सम्म अनेरास्ववियु बाँके जिल्ला कमिटी उपाध्यक्ष बने ।
२०६० मा तत्कालीन अनेरास्ववियु कर्णाली अञ्चल कमिटीको सचिव हुँदै २०६३ मा एमाले कालिकोटको जिल्ला उपसचिवमा निर्वाचित भए । २०६६ देखि २०६८ सम्म एमाले कालिकोटको उपाध्यक्ष भएका उनी २०७२ देखि २०७५ एमाले जिल्ला कमिटी अध्यक्ष रहे ।
नगीन्द्र २०७३ मा एमाले कर्णाली प्रदेश कमिटी सदस्यसमेत भएका उनी २०७५ देखि २०७७ सम्म तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिकोट जिल्ला कमिटी सचिव भएका थिए ।
उनी २०७८ को केन्द्रीय महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इञ्चार्जको भूमिकामा रहे । काठमाडौंमा सम्पन्न एमालेको ११ औंं राष्ट्रिय महाधिवेशनबाट पुन: केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी हाल केन्द्रीय सदस्य तथा एमाले कालिकोट जिल्ला संयोजकको जिम्मेवारीमा छन् ।
स्थानीय शान्ति समिति कालिकोटको संयोजकसमेत भएका शाही तत्कालीन माओवादीले गरेको सशस्त्र युद्धकालमा मानवअधिकारकर्मीको रूपमा काम गर्दथे । द्वन्द्व रूपान्तरणमा सक्रिय रहेका उनी २०६२/०६३ को जनआन्दोलनमा सक्रिय थिए ।
एमाले कालिकोटमा बौद्धिक नेताको छवि बनाएका शाहीका नेपाल भित्रको कर्णाली, द्वन्द्वभित्रको कर्णाली, कर्णाली विकासका आयाम र विचार मार्गसहित चारवटा पुस्तक प्रकाशित छन् । उनले त्रिचन्द्र कलेज काठमाडौंबाट स्नातक गरेका छन् ।
चुनाव जितेपछि शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारलगायतका विकासलाई प्राथमिकतामा राखेको र संसद् भित्र नीति निर्माण तथा कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्ने उनको प्रतिवद्धता छ ।
उनले भनेका छन्, ‘जिल्लाका सबै खाले समस्याप्रति संघीय सरकारको ध्यानाकर्षण गराउन जरुरी छ । जिल्लाको समृद्धि र सुखारी कालिकोटवासी मेरो मूल एजेन्डा हो ।,’
व्यक्तिगत विवरण
नाम: नगीन्द्र शाही ‘नेशनल’
जन्म : २०३६ साल भाद्र १२ गते
जन्मस्थान : कालिकोट
स्थायी ठेगाना: रास्कोट नगरपालिकाको विजयपुर, कालिकोट
शिक्षा: स्नातक
राजनीतिक टाइमलाइन
२०४९ : विद्यार्थी आन्दोलनमा सक्रिय
२०५४–२०५७ : महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको अनेरास्ववियु अध्यक्ष
२०५७–२०५८ : अनेरास्ववियु बाँके जिल्ला कमिटी उपाध्यक्ष
२०६० : अनेरास्ववियु कर्णाली अञ्चल कमिटीको सचिव
२०६३ : एमाले कालिकोटको जिल्ला उपसचिव
२०६६–२०६८ : एमाले कालिकोटको उपाध्यक्ष
२०७२–२०७५ : एमाले जिल्ला कमिटी अध्यक्ष
२०७३ : एमाले कर्णाली प्रदेश कमिटी सदस्य
२०७८ : एमाले केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इञ्चार्ज
२०७९ : प्रतिनिधिसभा सदस्यको उम्मेदवार
२०८२ : केन्द्रीय सदस्यमा निर्वाचित
२०८२ : प्रतिनिधिसभा सदस्यको उम्मेदवार
Battleground Analysis
अनुकूलता
- बौद्धिक र वैचारिक छवि
- लामो र सुदृढ सांगठनिक आधार
- द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियाको अनुभव
प्रतिकूलता
- विगतको पराजय र कडा प्रतिस्पर्धी
- बहुआयामिक प्रतिस्पर्धा
- विकल्पको विश्वास दिलाउने मनोवैज्ञानिक दबाब
नगीन्द्र शाही को उम्मेदवारि कस्तो लागयो ?



