सार्वजनिक छवि मतमा रुपान्तरण गर्ने टासीको चुनौती
२६ वर्षीया टासी ल्हाञ्जोम आफ्नै कर्मले सार्वजनिक छवि र पहिचान बनाउन सफल छिन् । यसपटक उनी हुम्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई हुम्लाबाट उम्मेदवार बनाएको छ ।
नेपालको नीतिलाई जनमुखी, समावेशी र प्रभावकारी बनाउने भन्दै उनी राजनैतिक यात्रा सुरु गरेको बताउँछिन् । राष्ट्रको नीतिले हिमाली भेगका समुदायको दैनिकीलाई कस्तो असर पार्छ भन्नेबारे आफू जानकार रहेकाले सदनमा बहस पैरवी गर्ने उनको भनाइ छ ।
जिल्लामा गुणस्तरीय शिक्षा र विद्यालयको अभावका कारण सानै उमेरदेखि घर छोडेर बाहिर बसेर पढ्नुपर्ने बाध्यता उनी आफैंले भोगेकी छिन् । भाषण र नाराभन्दा समस्या पहिचान, विपदमा तत्काल राहत सहयोग र दीर्घकालीन नीति सुधारमा विश्वास गर्छिन् ।
साटी जलवायु नीति तथा लैंगिक समानता र सामाजिक समावेशीकरण (एलईएसआई) की विशेषज्ञका रूपमा उनले संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठन (एफएओ), अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको आवाज बुलन्द बनाएकी छिन् ।
उनीसँग यसअघि बागमती प्रदेशमा युवा जलवायु सल्लाहकारका रूपमा नीति निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष संलग्न रहँदै प्रमाण–आधारित र समावेशी नीति अभ्यासमा काम गरेको अनुभव छ । हुम्लाका हिमताल विस्फोट, पीडितहरूका लागि राहत संयोजन, आदिवासी पहिचान र मान्यता अभियानले समेत उनले सञ्चालन गरेकी छिन् ।
जेन–जी आन्दोलनमा समेत सक्रिय रूपमा लागेकी टासी भ्रष्टाचारविरुद्ध दृढ अडान राख्दै प्रमाणमा आधारित, पारदर्शी र जनमुखी राजनीतिमा विश्वास गर्ने गरेको बताउँछिन् ।
टासीले भारतको दिल्ली विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक र २०२४ मा अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा, भिजिटिङ रिसर्चरको अध्ययन पूरा गरेकी छिन् । उनीसँग हिमाली समुदायसँग फिल्डमै बसेर काम गरेको र विकेन्द्रीकृत टोली निर्माण लगायतका काम गरेको अनुभव छ ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व, जेनजी नेतृत्व तथा आदिवासी अधिकारको अभियान सञ्चालन र निडर तर मर्यादित राजनीतिक शैली उनका विशेषता हुन् ।
टासी २०२० देखि लिमि एकता सहकारीको सह–संस्थापक, २०२१ देखि २०२४ सम्म लिमि युवा समाजको परियोजना संयोजक, २०२४ देखि २०२५ सम्म बागमती प्रदेश युवा जलवायु सल्लाहकार, हाल राष्ट्रिय स्वतन्त्र पार्टी, हुम्लाबाट प्रतिनिधि सभा उम्मेदवार बनेकी हुन् ।
टासी लाजोम हिमनदी संरक्षण अभियन्ताको रूपमा २०२५ मा संयुक्त राष्ट्रसंघ एफएओ, हिम संरक्षण अभियानका दूतका रूपमा २०२३ मा इसीआईएमओड, २०२५ मा प्रेरणादायी युवा वक्ताको रूपमा इसीआईएमओड मा सहभागी, स्वीस राजदूतद्वारा राजनीतिक नेतृत्व मार्गदर्शन (२०२२–२०२३), एसिया फाउन्डेसनको २०२४ मा लिडनेक्स फेलोको रूपमा समेत सहभागिता र काम गरिसकेकी छिन् ।
उनले गर्ल राइजिङ (अमेरिका)को २०२२ मा भविष्य नेतृत्व फेलो, सांस्कृतिक अधिकार युवा फेलो २०२३, कोनराड एडेनाउर प्रतिष्ठानबाट उदाउँदो नेतृ, दक्षिण एसिया जलवायु कार्य च्याम्पियन सञ्जाल सदस्य र जीवाष्म इन्धन अप्रसार सन्धि अभियान २०२५ को दूतको रूपमा समेत काम गरेको अनुभव उनीसँग छ ।
अनुकूलता :
आफ्नै कर्मले विश्वव्यापी छवि बनाउन सफल व्यक्ति हुन् । सामाजिक कार्यमा पनि सक्रिय छिन् ।
प्रतिकूलता :
राजनीतिक यात्रा सुरु गरेसँगै प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएकी छन् । सामाजिक रुपमा प्राप्त विश्वास मतका प्रकट गराउने चुनौती छ ।
व्यक्तिगत विवरण
नाम: टासी ल्हान्जोम
उमेर : २६ वर्ष
स्थायी ठेगाना: नाम्खा गाउँपालिका, हुम्ला
शिक्षा: स्नातक
राजनीतिक टाइमलाइन
२०८२ : रास्वपाबाट राजनीतिक यात्रा प्रारम्भ
२०८२: प्रतिनिधिसभा सदस्य उम्मेदवार
टासी ल्हान्जोम को उम्मेदवारि कस्तो लागयो ?


