Home Candidate टीकाराम लिम्बू

भत्केको किल्लामा पुन: झण्डा गाड्न संकल्पित

सुनसरी - १ उम्मेदवार

टीकाराम लिम्बू

नेकपा एमाले
पुरुष , ४१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

विद्यार्थी राजनीतिबाट संसदीय राजनीतिमा फड्को मारेका टीकाराम माङ्लेङ लिम्बू सुनसरी-१ मा भत्किएको कम्युनिस्ट गढको पुरानो साख पुनर्स्थापित गर्ने दाउमा छन् । २०४१ भदौ २१ गते ताप्लेजुङ जिल्लाको साविक मामाखे, हाल श्रीजङ्गा गाउँपालिका–६ मा जन्मिएका लिम्बूले धरानबाट राजनीतिक यात्रा थालेका हुन् ।

कानुनमा एलएलबी र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका लिम्बू आफ्नो निर्वाचन क्षेत्रका युवा र प्रौढ दुवै पुस्तामाझ लोकप्रिय मानिन्छन्।

उनले आर्जन गरेको यही लोकप्रियतालाई आधार बनाएर सुनसरी–१ मा गुमेको राजनीतिक साख पुनःउत्थान गर्ने प्रयासमा छन्।

सुनसरी–१ को बदलिँदो राजनीतिक परिदृश्यलाई नजिकबाट नियालिरहेका, शालिन, अध्ययनशील र युवाको भावना समेट्न सक्ने क्षमता भएको देखेर नेकपा एमालेले उनलाई उम्मेदवार बनाएको हो ।

यद्यपि, उनीसामु श्रम संस्कृति निर्माण गर्दै श्रम अभियानमार्फत लोकप्रिय बनेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ), राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन), नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ तथा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सूर्यबहादुर भट्टराई (मनोज) चुनौतीका रूपमा छन्।

२०४८ सालको आमनिर्वाचनमा यही क्षेत्रबाट एमालेका अध्यक्ष मनमोहन अधिकारी निर्वाचित भएर प्रधानमन्त्री हुँदा लिम्बू ८ वर्षका थिए।

त्यसपछि २०६४ सालसम्म सुनसरी–१ एमालेको एकछत्र किल्ला रह्यो । तर २०६४ को निर्वाचनमा मतदाताले तत्कालीन माओवादीलाई जनादेश दिए । २०७९ मा गठबन्धनका नाममा अशोक राई विजयी भए भने स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसले एमालेको किल्ला भत्कायो ।

२०४८ सालको आम निर्वाचनमा यही क्षेत्रबाट एमालेका अध्यक्ष मनमोहन अधिकारी निर्वाचित भएर प्रधानमन्त्री हुँदा लिम्बू ८ वर्षका थिए। त्यसपछि २०६४ सालसम्म सुनसरी–१ एमालेको गढ रह्यो । त्यसपछि भत्केको किल्ला फर्काउने योजनामा लिम्बू संकल्पित छन् ।

त्यसपछि २०७९ कै स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा हर्कराज राई (साम्पाङ) विजयी हुँदा एमालेको लालकिल्ला पूर्ण रूपमा विघटन हुन पुग्यो।

लिम्बूले ताप्लेजुङको सिनामा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहँदा अनेरास्ववियुबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।

२०६२ सालमा धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य बने। २०६७ मा अनेरास्ववियु सुनसरी जिल्ला कमिटी अध्यक्ष, २०६९ मा अनेरास्ववियु केन्द्रीय सदस्य भए भने २०६४ सालमा एमालेको संगठित सदस्यता लिए। सोही वर्ष धरान–१० को वडासचिव, २०६५ मा धरान नगर कमिटी सदस्य हुँदै २०७७ मा जिल्ला कमिटी सदस्यसम्म पुगे।

२०७२ सालको भूकम्पपछि प्रभावित क्षेत्रमा राष्ट्रिय स्वयंसेवकका रूपमा खटिएका उनी लिम्बू विद्यार्थी मञ्च, किरात याक्थुङ चुम्लुङ, ताप्लेजुङ–सुनसरी सरोकार समाज, नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक संघ-संस्थामा आबद्ध छन्। २०६२/६३ को जनआन्दोलनका क्रममा एक सातासम्म हिरासतमा बस्नुपरेको अनुभव पनि उनीसँग छ।

सुनसरी–१ मा एमालेले उनलाई उम्मेदवार बनाउनुको मुख्य कारण उनको शालिनता, अध्ययनशिलता र युवाको भावना समेट्न सक्ने क्षमता नै हो ।

यदि यहाँबाट विजयी भई संसद्‌मा पुगेमा आफ्नो क्षेत्रमा गर्ने कामका विषयमा लिम्बूका योजना अन्य उम्मेदवारभन्दा धेरै फरक भने छैनन्। धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाका पाँच वडा र रामधुनी नगरपालिकाका दुई वडा समेटिएको यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, सिँचाइ, खानेपानी, यातायात तथा उन्नत सडक विस्तार, नदी कटान नियन्त्रणमार्फत समग्र परिवर्तन ल्याउनु साझा उद्देश्य रहेको उनको भनाइ छ।

सुनसरी–१ भित्रै रहेका देशकै अग्रणी स्वास्थ्य शैक्षिक संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सरकारको एक मात्र केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, कृषि इन्जिनियरिङ अध्यापन हुने पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, स्नातकोत्तरसम्म अध्ययन हुने संस्कृत विश्वविद्यालयअन्तर्गत पिण्डेश्वर विद्यापीठ तथा त्रिभुवन विश्वविद्यालयको महेन्द्र बहुमुखी क्याम्पसलाई आधार बनाएर कोशी प्रदेशकै शैक्षिक राजधानीको रूपमा विकास गर्ने पहल गर्ने उनको योजना छ।

धार्मिक तथा पर्यटकीय सम्भावनालाई समेत उनले प्राथमिकतामा राखेका छन् । संसारमै पहिलो पटक भगवान विष्णुले पितृश्राद्ध गरेको विश्वास गरिएको विष्णुपादुका, शिवजीको महिमा गाइने विजयपुरको पिण्डेश्वर बाबा धाम, सेनकालमै स्थापित शक्तिपीठ दन्तकाली मन्दिर, मूर्तिविहीन तर रक्सी र सुर्ती चढाइने बुढासुब्बा मन्दिर तथा कोशी र कोकाहा नदीको संगमस्थलमा रहेको बराहक्षेत्र मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उनको योजना छ।

यही क्षेत्र भएर कोशी नदी बग्दा पनि धरानमा दशकौँदेखि खानेपानीको अभाव रहेकाले तमोर नदीको पानी टनेलमार्फत ल्याउनु पहिलो प्राथमिकता हुने लिम्बू बताउँछन्।

साथै दानाबारी, भेडेटारको पर्यटन प्रवर्द्धन, सुलिकोट डाँडाको याक्थुङ मुन्धुम स्थल, विजयपुरका लिम्बुवानकालीन भग्नावशेषको संरक्षण, गोरखा भूतपूर्व सैनिकहरूको सहयोगमा निर्माण भएको ब्रिटिस गोर्खा स्मृति पार्कलाई अध्ययन, अनुसन्धान र पर्यटनसँग जोड्ने योजना पनि उनको एजेन्डामा छ।

कानुन र राजनीतिशास्त्रका अध्येता भएकाले सर्वसाधारणबीच कानुनी साक्षरता अभिवृद्धि र सचेतना कार्यक्रम सञ्चालन गर्नु पनि लिम्बूको अर्को प्राथमिक योजना हो।

अनुकूलता

  • विद्यार्थी राजनीतिबाट संगठित राजनीतिक यात्रा तय । संगठन र क्षेत्र दुवैलाई नजिकबाट बुझेका व्यक्ति
  • कानुन र राजनीतिशास्त्रमा उच्च शैक्षिक योग्यता भएकाले नीति, विधेयक र संसदीय बहसमा प्रभावकारी भूमिका खेल्न सक्ने सम्भावना
  • शालिन, अध्ययनशील र युवाको भावना समेट्न सक्ने नेताका रूपमा युवा तथा प्रौढ मतदातामाझ स्वीकार्य हुनसक्ने ।

प्रतिकूलता

  • सुनसरी–१ मा एमालेको परम्परागत लालकिल्ला भत्किसकेको अवस्था ।
  • श्रम अभियान, प्रत्यक्ष जनसम्पर्क र भावनात्मक अपिलका कारण लोकप्रिय बनेका हर्कराज राई (साम्पाङ) जस्ता बलिया प्रतिस्पर्धी।
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

टीकाराम लिम्बू को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित