नेपाल मजदुर किसान पार्टी स्थापना : पार्टी प्रमुख : नारायणमान बिजुक्छे
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) नेपालको पुरानो वामपन्थी राजनीतिक दल हो । सन् १९७६ मा रोहित समूह, सर्वहारा क्रान्तिकारी संगठन, नेपाल र किसान समिति बीच एकीकरण हुँदा नेमकिपा बनेको थियो ।
नेमकिपा बनेदेखि नै नारायणमान बिजुक्छे (रोहित) निरन्तर अध्यक्ष छन् । तर निरन्तर चुनाव लड्दै आएको नेमकिपा लगभग भक्तपुरमा सीमित हुन पुगेको छ । २०५१ को चुनावमा नेमकिपाले ४ सिट जितेको थियो ।
२०६४ को पहिलो संविधानसभामा भक्तपुरबाट विजुक्छे र सुनिल प्रजापतिले जिते । तर २०७० मा भक्तपुर–१ बाट बिजुक्छेले मात्रै जिते । २०७४ मा पनि भक्तपुर–१ बाहेक अन्यत्र जित्न सकेन । यो क्षेत्रबाट प्रेम सुवालले जितेका थिए । यो चुनावमा पनि भक्तपुर–१ मा सुवाल नै उम्मेदवार छन् । सरकारमा सहभागी नहुने यो दलको भक्तपुर–१ मा अहिले पनि बलियो पकड छ ।
तर नेमकिपालाई राष्ट्रिय दल बन्न थ्रेसहोल्डको व्यवस्था नै बाधक देखिन्छ । कुल सदर मतको तीन प्रतिशत कटाएमा नेमकिपा राष्ट्रिय दल बन्न सक्छ । यद्यपि, राष्ट्रिय राजनीतिमा नेमकिपाको जब्बर विरासत भक्तपुरमा कायमै छ ।