जनमत पार्टी स्थापना : ०६ जेठ २०७६ पार्टी प्रमुख : सीके राउत
स्वायत्त मधेशको एजेण्डासहितको गतिविधिका कारणले चर्चा पाएका चन्द्रकान्त राउत (सिके) नेतृत्वको यो पार्टी पहिलोपटक संसदीय चुनावमा भाग लिंदैछ । पृथकतावादी गतिविधिकै कारण अनेक पटक पक्राउ परेका राउत २०७७ देखि शान्तिपूर्ण रूपमा संवैधानिक राजनीतिमा छन् ।
सरकारसँग वार्ता गरी पृथकतावादी आन्दोलन त्यागेका राउत नेतृत्वको जनमत पार्टीले ३० वैशाखको स्थानीय चुनावमा भाग लिएको थियो । सप्तरीको बलानबिहुल गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिका जनमत पार्टीले जितेको छ ।
पछिल्लो समय किसान आन्दोलनलाई मधेश प्रदेशका जिल्लाहरूमा चर्काएको जनमत पार्टीले ५४ जना उम्मेदवार उठाएको छ । सिके राउतले सप्तरी–२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवविरुद्ध उम्मेदवारी दिएकाले उनी चर्चामा छन् । राउतसहित राजकिशोर, उमेशकुमार यादवलगायत जनमत पार्टीको चिनिएका नेता हुन् ।