स्थानीय तहको नेतृत्वबाट संघीय संसद्को यात्रामा
दुई कार्यकालको नगरप्रमुख अनुभव, राष्ट्रिय-अन्तर्राष्ट्रिय सञ्जाल र संगठनात्मक आधारसहित अशोककुमार ब्याञ्जु श्रेष्ठ काभ्रे-२ बाट संघीय संसद् यात्रामा छन्।
०००
अशोक कुमार ब्याञ्जु श्रेष्ठ काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ का नेकपा एमाले उम्मेदवार हुन्। उनी धुलिखेल नगरपालिकाको दुई कार्यकालसम्म निर्वाचित नगरप्रमुख हुन् । २०२८ भदौ १ गते जन्मिएका ब्याञ्जु बुबा बच्चुनाथ ब्याञ्जु र आमा तुईमाया ब्याञ्जुका छोरा हुन् । उनको परिवारमा श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र, अर्थशास्त्र र साहित्य विषयमा स्नातक गरेका ब्याञ्जुले २०४३ सालदेखि राजनीतिक जीवनको सुरुआत गरेका हुन् । २०५४ सालमा धुलिखेल नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुँदा उनी देशभरका उपप्रमुखहरूमध्ये सबैभन्दा कान्छा जनप्रतिनिधि थिए ।
उपप्रमुखमा निर्वाचित भएपछि उनी नेपाल नगरपालिका संघमा निरन्तर २० वर्षसम्म (२०७४ सालसम्म) उपाध्यक्षका रूपमा कार्यरत रहे । संघीय संरचना कार्यान्वयनपछि धुलिखेल नगरपालिकाको नगरप्रमुख निर्वाचित भएका उनी नेपाल नगरपालिका संघको अध्यक्षसमेत बने ।
सन् २०२१ देखि उनले एसिया प्यासिफिक क्षेत्रका स्थानीय सरकारहरूको सञ्जाल युनाइटेड सिटिज एन्ड लोकल गभर्नमेन्ट्स अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् ।
स्थानीय सुशासन, विकास पत्रकारिता, साहित्य तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय ब्याञ्जुको नेतृत्वमा काभ्रेपलाञ्चोक जिल्लाबाट पत्रिका तथा रेडियो सञ्चालन हुँदै आएका छन् ।
उनी टुरिजम प्रमोसन अर्गनाइजेसन एसिया प्यासिफिक (कोरिया) को सचिवालय सदस्य हुनुका साथै स्थानीय सरकार र सहस्राब्दी विकास लक्ष्य कार्यान्वयनका लागि गठित समितिका सदस्य पनि हुन् ।
उनले इन्डोनेसिया, चीन, जापान, दक्षिण अफ्रिका, दक्षिण कोरिया, फ्रान्स, बंगलादेश, बेल्जियम, भारत र संयुक्त राज्य अमेरिकालगायत विभिन्न देशहरूको भ्रमण गरेका छन् ।
नेकपा एमालेको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी निर्वाह गरिसकेका ब्याञ्जु श्रेष्ठ २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेबाट काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ का उम्मेदवार हुन् ।
यस क्षेत्रमा २०७४ र २०७९ को निर्वाचनमा एमालेकै गोकुल बाँस्कोटा निर्वाचित भएका थिए । पहिलो पटक प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवारी दिएका ब्याञ्जु श्रेष्ठका लागि स्थानीय तहमा जस्तै मतदाताको विश्वास जित्नु यस पटक मुख्य चुनौतीका रूपमा रहेको छ ।
अनुकूलता
- स्थानीय तहमा लामो कार्यकालको नेतृत्व अनुभव
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको राजनीतिक-संस्थागत पहुँच
- पार्टी संगठन भित्र बलियो पकड
प्रतिकूलता
- प्रतिनिधिसभा निर्वाचनको पहिलो अनुभव
- अघिल्लो निर्वाचनमा स्थापित उम्मेदवारको प्रभाव
- स्थानीय उपलब्धिलाई संघीय एजेन्डासँग जोड्ने चुनौती
अशोक कुमार ब्याञ्जु श्रेष्ठ को उम्मेदवारि कस्तो लागयो ?


