बिरामी जाँच्न छाडेर स्वास्थ्य प्रणाली बदल्ने हुटहुटी
रूपन्देहीको अञ्चलपुरमा २०३४ सालमा जन्मिएका डा. लेखजंग थापाले एमडी (आन्तरिक चिकित्सा) र डीएम (न्युरोलोजी) अध्ययन पूरा गरेका छन्।
राष्ट्रिय न्युरो केन्द्र काठमाडौंमा न्युरोलोजी विभागका निर्देशक तथा प्रमुखको रूपमा कार्यरत थापा मनमोहन मेमोरियल मेडिकल कलेजका वरिष्ठ न्युरोलोजिस्ट, नेपाल स्ट्रोक संघका संस्थापक तथा अध्यक्ष र विश्वस्तरीय न्युरोलोजी तथा स्ट्रोक नेटवर्कहरूसँग आबद्ध छन्।
क्लिनिकल सेवासँगै अनुसन्धान, नेतृत्व र जनस्वास्थ्य उनको मुख्य चासोका क्षेत्र हुन्।
उनले नेपालमा पहिलो पटक थ्रोम्बोलाइसिस थेरापी प्रयोग, दुर्लभ न्युरोलोजिकल रोगहरूको पहिचान र नेपाल स्ट्रोक परियोजना मार्फत अन्तर्राष्ट्रिय सहकार्यमा अनुसन्धानको नेतृत्व गरेका छन्।
भैरहवामा पहिलो न्युरोलोजी केन्द्र स्थापना, ग्रामीण क्षेत्रमा नियमित ओपीडी सेवा, स्ट्रोक र अपस्मार सम्बन्धी जनचेतना अभियान तथा युवा र विद्यालयहरूसँग सहकार्य उनका प्रमुख पहलहरू हुन्। शिक्षा र स्वास्थ्य सुधारका लागि विभिन्न सामाजिक कोष स्थापना तथा सहयोगमा पनि संलग्न छन्।
नेपालमा पक्षघातले मान्छेको ज्यान लिने स्वास्थ्य समस्या नजिकबाट नियालेका उनले पहिलो पटक यसको उपचारमा राज्यको दायित्व हुनुपर्ने बहस पैरवीको नेतृत्व गर्दै कार्यान्वयनमा ल्याउन सफल भए। अहिले सातवटै प्रदेशमा पक्षघातको औषधि उपचारमा राज्यले दायित्व लिएको डा. थापाको भनाइ छ।
राजनीतिमा लागेर स्वास्थ्य प्रणाली बदल्न लागेको बताउने डा. थापा २०७९ को चुनावमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा जोडिएर रूपन्देही ३ बाट प्रदेश सभा सदस्यमा समानुपातिक उम्मेदवार थिए।
गत कात्तिकमा उपनिर्वाचन हुने भएपछि थापालाई भैरहवाका रास्वपा नेता कार्यकर्ताले पार्टीमा भित्र्याए। उनी प्रारम्भिक निर्वाचनमा ९ जनालाई पछि पार्दै उम्मेदवारका लागि छानिए। तर भदौमा जेनजी आन्दोलन भएपछि उपनिर्वाचन भएन। रास्वपाले फागुन २१ को चुनाव घोषणा लगत्तै उक्त क्षेत्रमा थापालाई नै उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गर्यो।
डा. थापाले रूपन्देही–३ मा नेपाली कांग्रेसका सुशील गुरुङ, एमालेका वासुदेव घिमिरे, नेपाल कम्युनिष्ट पार्टीका फैज अहमद खान र राप्रपाका गौरव बोहरा लगायत उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्।
१ लाख ४० हजार ३५ मतदाता रहेको यो क्षेत्रमा २०७९ सालको चुनावमा ९० हजार मत खसेको थियो। जसमा समानुपातिकतर्फ कांग्रेसले २० हजार २७८, एमालेले १६ हजार ९८६, रास्वपाले १४ हजार १५४ र राप्रपाले ९ हजार १८३ मत पाएको थियो।
२०७९ मा एमालेसँगको गठबन्धनबाट राप्रपाका दीपक बोहरा ३६ हजार ७१७ मत पाएर विजयी भएका थिए। तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण २ हजार ६८१ मतले पराजित भएका थिए। कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा लगायतसँग गठबन्धन गरेको थियो।
–टोपराज शर्मा
डा. लेखजंग थापा को उम्मेदवारि कस्तो लागयो ?



