ह्याट्रिकपछिको चौथो प्रतिस्पर्धामा आफ्नै दाइको चुनौती
संसद्का पछिल्ला तीन निर्वाचनमा जित हासिल गरेका धनबहादुर चौथो बाजी मार्ने प्रयासमा मतदातासम्म पुगिरहेका छन् ।
०००
२०३१ साल फागुन ७ गते डोल्पाको काइके गाउँपालिका–२, शहरतारामा जन्मिएका धनबहादुर बुढा चौथो डोल्पाबाट पटक सांसद हुने प्रयासमा छन् । उनी नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार छन् । धनबहादुर बुढा यसअघि २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर काम गरेका व्यक्ति हुन् ।
एकै क्षेत्रबाट लगातार तीन वटा निर्वाचनमा विजयी भइसकेका बुढालाई पार्टीले चौथोपटक पनि उम्मेदवार बनाएको हो । रोचक त के भने यसपटक उनका प्रमुख प्रतिस्पर्धी आफ्नै सहोदर दाइ कर्णबहादुर बुढा बनेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्रीसमेत रहेका कर्णबहादुरलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ । जसले गर्दा एउटै घरका सहोदर दुई भाइ दुई पार्टीबाट चुनावी प्रतिसपर्धामा उत्रिएका छन् ।
चौथो जितको खोजीमा रहेका धनबहादुरलाई आफ्नै दाइ कर्णबहादुर चुनौती बनेका छन् ।
यसअघि २०७९ मा भएको निर्वाचनमा ११ हजार २१९ मत ल्याएर धनबहादुर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी थिए, एमालेका उम्मेदवार गणेशबहादुर शाही । गणेशबहादुरले ५ हजार ५०५ मत ल्याएका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।
यसपटक भने तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका दल एक भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ, जसबाट धनबहादुर उम्मेदवार बनेका हुन् ।
२०५५ सालपछि राजनीतिमा लागेका धनबहादुरले एसएलसीसम्म अध्ययन गरेका छन् । उनी २०६० र २०६२ मा दुई कार्यकाल जिल्ला विकास समिति डोल्पाको सभापति समेत बनेका थिए ।
धनबहादुरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजनीति गरेका थिए । २०७० सालदेखि भने नेकपा (एमाले) को सक्रिय राजनीतिमा लागे । राप्रपा छाडेर एमालेमा प्रवेश गरेलगत्तै २०७० को दोस्रो संविधान सभा सदस्यमा निर्वाचित भए ।
२०७४ मा पनि नेकपा एमालेबाटै प्रतिनिधिसभा निर्वाचन जिते । २०७८ मा एमाले विभाजन भएर नेकपा एकीकृत बन्यो । धनबहादुर नयाँ पार्टीतिर लागे । २०७९ को निर्वाचनमा एकीकृत समाजवादीबाट उम्मेदवार बने र चुनाव जिते ।
नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र सहितका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि पनि उनी उम्मेदवार भएका हुन् । धनबहादुर ठेकेदार पृष्ठभूमिका नेता हुन् । उनी बुद्ध हिमाली निर्माण सेवाका सञ्चालक हुन् । उनको निर्माण कम्पनी देशभरका विभिन्न निर्माण परियोजनाको दाबेदार रहने गरेको छ ।
उनी अहिलेसम्म दुईपटक जिविस सभापति, तीनपटक सांसद र दुईपटक मन्त्री बनिसकेका छन् ।
व्यक्तिगत विवरण
नाम: धनबहादुर बुढा
जन्म : २०३१ साल फागुन ७ गते,
जन्मस्थान : डोल्पा
स्थायी ठेगाना : डोल्पा काइके गाउँपालिका शहरतारा
शिक्षा : एसएलसी
संसदीय अनुभव:
२०७० : संविधान सभा सदस्य
२०७४ : प्रतिनिधि सभा सदस्य
२०७९ : प्रतिनिधि सभा सदस्य
२०८२ : प्रतिनिधि सभा सदस्य उम्मेदवार
राजनीतिक टाइमलाइन
२०५५ : राप्रपाबाट राजनीतिमा संलग्न
२०६० : जिल्ला विकास समिति डोल्पाको सभापति
२०६२ : जिल्ला विकास समिति डोल्पाको सभापति
२०७० : एमालेबाट संविधानसभा सदस्य
२०७४ : एमालेबाटै प्रतिनिधिसभा सदस्य
२०७८ : नेकपा एकीकृत समाजवादीमा आवद्ध
२०७९ : एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्य
२०८२ : प्रतिनिधि सभा सदस्य उम्मेदवार
Battleground Analysis
अनुकूलता
- जिल्लामा बलियो प्रभाव
- स्थानीयस्तरसम्मै सुदृढ संगठन
- सरल शैली र स्वभावबारे मतदाता जानकार
प्रतिकूलता
- एकै व्यक्तिलाई पटक–पटक अवसर
- पार्टीभित्रै बढ्दो असन्तुष्टि
- बेला बेला आउने ठेक्कापट्टाका विवाद
धनबहादुर बुढा को उम्मेदवारि कस्तो लागयो ?


