तेस्रो जितको खोजी
विघटित प्रतिनिधिसभाका सांसद हुन्, दीपक गिरी । दाङको सुकदेवामा जन्मिएका ६३ वर्षीय उनी प्रजातान्त्रिक आन्दोलनमा परिचित नाम हो । सानै उमेरदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उनी २०३० सालमा तुलसीपुरस्थित महेन्द्र माविबाट गिरफ्तारीमा परे । १३ वर्षकै उमेरमा गिरफ्तार भएर १३ दिन हिरासतमा बसे । त्यसपछि २०३१ सालमा २९ दिन र २०३७ मा ५७ दिन थुनिए ।
संसदीय निर्वाचनमा उनको तीन दशक भन्दा लामो अनुभव छ । भलै उनले धेरैजसो निर्वाचनमा हार बेहोरेका छन् । २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ–३ मा उनलाई नेकपा (एमाले)का शंकर पोखरेलले पराजित गरेका थिए ।
२०६४ को संविधानसभा निर्वाचनमा नेकपा (माओवादी)की सुषमा शर्मा घिमिरेसँग पराजित भए । २०७० मा भने उनी दाङ ५ बाट निर्वाचित भएर दोस्रो संविधानसभामा प्रवेश गरे । २०७३ सालमा सिंचाइ मन्त्री पनि भए ।
त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर गिरीको पार्टीगत राजनीतिक यात्रा भने २०३४ सालमा भारतको गोरखपुरमा नेपाली कांग्रेसको सक्रिय सदस्यता लिएपछि शुरु भयो । उनले शुरुदेखि नै खुमबहादुर खड्का निकट भएर काम गरे ।
२०३४ मा दाङ जिल्लाको क्षेत्रीय सभापति, २०३६ मा नेविसंघको केन्द्रीय सदस्य, २०३६ मै नेविसंघको राष्ट्रिय अधिवेशनको तयारी समिति संयोजक, २०४२ मा सत्याग्रह आन्दोलन केन्द्रीय एक्सन कमिटी सदस्य, २०४३ मा त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको महासचिव, २०४६ देखि निरन्तर महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य हुँदै पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी वहन गरेको अनुभव गिरीसँग छ ।
दाङका विकास आयोजनाहरूमा गिरीको महत्वपूर्ण भूमिका छ । तुलसीपुर क्याम्पस, राप्ती–बबई बहुमुखी र पुरन्धारा बहुमुखी क्याम्पस स्थापनामा पनि उनको खास भूमिका छ ।
२०७९ मा एमालेकी कोमल वलीलाई ७ हजार ८१९ मतान्तरले पराजित गरेका थिए । त्यतिबेला जस्तो उनलाई यसपटक माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको छैन ।
गिरीले निर्वाचित भएको निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले २६ हजार ५७५, एमालेले २६ हजार ११७, राष्ट्रिय स्वतन्त्र पार्टीले १५ हजार ४१०, माओवादी केन्द्रले १० हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ७०८, नागरिक उन्मुक्ति पार्टीले ९४३, एकीकृत समाजवादीले ६९१ र राष्ट्रिय जनमोर्चाले ३८८ मत पाएको थियो ।
दिपक गिरी को उम्मेदवारि कस्तो लागयो ?

