देव गुरुङको विकल्पमा अघि सरेका हरिजंग
स्थापित नेतृत्वपछि पुस्तान्तरणको बहसमा लमजुङमा हरिजंग तामाङ अग्निपरीक्षामा छन् ।
०००
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता पृथ्वीसुब्बा गुरुङसँग पराजय भोगेका नेकपा नेता देवप्रसाद गुरुङ यसपटक उम्मेदवार नै बनेनन् । लमजुङबाट उठ्ने चर्चाबीच देव गुरुङपछि हटेपछि नेकपाको टिकट ३५ वर्षीय युवा नेता हरिजंग तामाङले हात पारे ।
देव गुरुङ २०६४ सालको संविधानसभा निर्वाचनमा कास्की र मनाङ दुवै क्षेत्रबाट विजयी भएका थिए । त्यसपछि उनले जन्मथलो मनाङलाई राजनीतिक आधार क्षेत्र बनाउँदै प्रतिनिधित्व गर्दै आएका छन् । यसपटक लमजुङमा हरिजंगलाई अघि सार्दै नेकपा नेतृ तथा उनकी पत्नी यशोदा सुवेदीलाई मनाङबाट उम्मेदवार बनाइएको छ ।
नेकपाले लमजुङमा राजनीतिशास्त्रमा विद्यावारिधि (पीएचडी) अध्ययनरत युवा नेता तामाङलाई अघि सारेको हो । यसपटक उनी एमालेका हेभिवेट उम्मेदवार पृथ्वीसुब्बा गुरुङ, ‘सुधारिएको नारा’सहित चुनावी मैदानमा उत्रिएका कांग्रेसका गमप्रसाद गुरुङ तथा पुरानाको विकल्प भन्दै प्रतिस्पर्धामा रहेका रास्वपाका धर्मराज केसीसँग प्रत्यक्ष भिडन्तमा छन् । लमजुङको वर्तमान राजनीतिक माहोल र अंकगणित आफ्नो पक्षमा पार्न हरिजंगका लागि संघर्षपूर्ण देखिन्छ ।
नेकपाले तामाङलाई पुस्तान्तरण र नयाँ राजनीतिक नेतृत्व अघि बढाउने प्रयासका रूपमा प्रस्तुत गरेको बताएको छ । ३५ वर्षीय तामाङ यसअघि लमजुङ अस्पताल विकास समितिका अध्यक्ष रहिसकेका छन् । कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन सरकारको समयमा अस्पताल अध्यक्ष बनेका तामाङलाई हक्की, निडर र अध्ययनशील नेता मानिन्छ । उनी खेलकुद विकास, जनजाति आन्दोलन तथा विभिन्न सामाजिक अभियानमा पनि सक्रिय रहँदै आएका छन् ।
संगठनात्मक अनुभव, बौद्धिक पृष्ठभूमि र सामाजिक सक्रियताका आधारमा आफू लमजुङका मुद्दा प्रभावकारी रूपमा उठाउन सक्षम रहेको उनको दाबी छ । माओवादी आन्दोलनबाट प्राप्त व्यवस्थालाई अब व्यावहारिक सुधारतर्फ लैजान आफू चुनावी मैदानमा उत्रिएको तामाङ बताउँछन् ।
जेनजी आन्दोलनले युवाको भूमिका र आवाजलाई स्थापित गरेको उल्लेख गर्दै हरिजंग आफू उमेरले पनि र एजेन्डाले पनि युवा भएको दाबी गर्छन् । लमजुङका मतदाताका लागि यो चुनाव व्यक्ति छनोट मात्र नभई राजनीतिक निरन्तरता कि पुस्तान्तरण भन्ने विकल्पको निर्णय भएको भन्दै आफ्नो पक्षमा मत आउने उनको विश्वास छ ।
अनुकूलता
- युवा उमेर, बौद्धिक पृष्ठभूमि र अध्ययनशील छवि
- अस्पताल विकास समिति नेतृत्वसहित सामाजिक सक्रियता
- पुस्तान्तरण र नयाँ नेतृत्वको एजेन्डाले युवा मतदातामा अपिल
प्रतिकूलता
- हेभिवेट र स्थापित प्रतिस्पर्धी उम्मेदवारसँग प्रत्यक्ष भिडन्त
- राष्ट्रिय तहमा सीमित परिचय
- लमजुङको पुरानो चुनावी अंकगणित अनुकूल नहुन सक्ने अवस्था
हरिजंग तमाङ को उम्मेदवारि कस्तो लागयो ?


