Home Candidate कवीर शर्मा

प्राविधिक अनुभवसहित नीतिनिर्माणमा सहभागी हुने दौड

काठमाडौं - २ उम्मेदवार

कवीर शर्मा

नेपाली कांग्रेस
पुरुष , ३७ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

काठमाडौं-२ लाई आधार बनाएर राजनीति गरिरहेका उनी हाल त्यही क्षेत्रका क्षेत्रिय सभापति समेत हुन् । निर्वाचित हुँदा उनले नेपाली कांग्रेसको देशभरको सबैभन्दा कम उमेरको क्षेत्रिय सभापतिको पहिचान बनाएका थिए ।

०००

काठमाडौं क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार हुन् कबिर शर्मा । २०४४ फागुनमा काठमाडौंको मूलपानीमा जन्मिएका शर्मा, त्यहीका स्थायी बासिन्दा हुन् ।

काठमाडौंको त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षा अध्ययनको सिलसिलामा उनी नेविसंघको राजनीतिमा संलग्न भए । उनले भूगर्भविज्ञानमा स्नातकोत्तर गरेका छन् ।

त्रिचन्द्र कलेजमा अध्ययनरत रहँदा मुलुकमा २०६२/६३ को जनआन्दोलनपछि संविधानसभा निर्वाचनको चरणमा थियो । त्यतिबेलाको राजनीतिक परिस्थिति एवं अरू प्रेरणाले उनी स्वतन्त्र विद्यार्थी युनियनको सदस्य बने ।

त्यहाँ अध्ययनरत रहँदा उनले त्यसपछि अध्ययन र विद्यार्थी राजनीतिलाई सँगसँगै अघि बढाए । अध्ययन पूरा भएपछि उनी आफ्नो पेशामा लागे भने अतिरिक्त समय नेपाली कांग्रेस निकट तरुण दलको राजनीतिमा सक्रिय भए ।

काठमाडौं क्षेत्र नं. २ लाई आधार बनाएर राजनीति गरिरहेका उनी हाल त्यही क्षेत्रका क्षेत्रिय सभापति समेत हुन् । निर्वाचित हुँदा उनले नेपाली कांग्रेसको देशभरको सबैभन्दा कम उमेरको क्षेत्रिय सभापतिको पहिचान बनाएका थिए ।

रक, सोइल साइन्स एन्ड एडभान्स्ड जियोफिजिक्समा एमएस्सी अध्ययन पूरा गरेपछि कबिर शर्माले केही समय त्रिभुवन विश्वविद्यालयमा नै रिसर्च एसिस्टेन्टको रूपमा काम गरे ।

त्यसपछि भूगर्भविद्को रूपमा नेपालका विभिन्न पूर्वाधार परियोजनामा संलग्न रहे । राजनीतिमा सक्रिय रहेपनि ‘जिओलोजिस्ट’को रूपमा आफ्नो पेशालाई आंशिक रूपमा भए पनि अघि बढाइरहने उनको योजना छ ।

उनी दार्चुलाको चमेलिया जलविद्युत् आयोजना, माथिल्लो दोर्दी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजनामा भूगर्भविद्को रूपमा काम गरे । त्यसबाहेक बन्दीपुरको घुमाउनेमा माइनिङ रिसोर्स म्यापिङ, अनि स्ट्रक्चरल म्यापिङको क्षेत्रमा पाल्पा, धादिङ र सल्यानमा काम गरेको अनुभव छ ।

उनी रामेछाप–सोलुखुम्बु सडक र कुलेखानी–३ को भौगर्भिक अध्ययनमा पनि संलग्न थिए । चार वर्षअघि काठमाडौं–२ को क्षेत्रिय सभापति भएपछि भने राजनीति र समुदाय परिचालनमा समय दिएको बताउने उनी विभिन्न पूर्वाधार परियोजनामा परामर्शदाता बनेर आंशिक सक्रिय छन् ।

भूगर्भविद्को रूपमा करिब एकदशक देशका विभिन्न ठूला परियोजनामा संलग्न रहेका उनी अब त्यो अनुभवलाई मुलुकको नीतिनिर्माण गर्ने थलो प्रतिनिधिसभामा प्रयोग गर्न उम्मेदवारी दिएको बताउँछन् । उनले आफूसँग संगठन निर्माण एवं आम तहमा कार्यकर्ता तथा सामाजिक परिचालकको रूपमा समेत काम गरेको अनुभव रहेको र प्रतिनिधिसभामा त्यो उपयोगी हुने दाबी गरेका छन् ।

राजनीतिक एवं सामाजिक रूपमा सचेत मतदाताहरू रहेको काठमाडौं–२ मा आफू हुर्किँदा त्यसको प्रभावस्वरूप आफूलाई पनि राजनीतिमा आउन प्रेरित गरेको शर्मा बताउँछन् ।

‘मलाई काठमाडौं–२ र मूलपानीको वातावरणले सामाजिक र राजनीतिक रूपमा सचेत रहन सिकायो,’ उनी भन्छन्, ‘एउटा तहको पेशागत अनुभव भएपछि त्यसलाई नीतिगत तहमा प्रयोग गर्नुपर्छ भन्ने सोचले प्रतिनिधिसभाको उम्मेदवार बनेको हुँ ।’

प्रविधिक पेशाकर्मी भूगर्भविद् भए पनि आफूले हासिल गरेको अनुभव र दक्षतालाई संसद्‍मा गएर नीतिगत रूपमा प्रयोग गर्ने प्रतिबद्धता सहित उनले तीनवटा एजेन्डालाई मतदातासामू अघि सारेको बताउँछन् ।

संविधान जारी भएपछि नागरिकले राजनीतिक अधिकार पाए पनि कतिपय मौलिक अधिकार कार्यान्वयनको चुनौती पूरा गर्ने उनको अठोट छ । देशभर योजनाबद्ध विकास एवं पूर्वाधारको योजनामा आफूले सिकेको सिप र ज्ञान कार्यान्वयन गर्ने उनको सोच छ ।

काठमाडौं–२ मै पनि व्यवस्थित एवं योजनाबद्ध विकास, शिक्षा, पर्यटन, रोजगारी, लगायतका मुद्दा सम्बोधनका लागि प्राविधिक, व्यावहारिक अनुभव भएको र जनतासँग घुलमिल हुनसक्ने एवं स्थिर प्रकृतिको जनप्रतिनिधिका लागि आफू उपयुक्त भएको उनको दाबी छ ।

अर्कोतर्फ देशभरका युवाले नेपालमा भविष्य नदेख्ने समस्या बढिरहेको अवस्थामा मुलुकलाई युवा बस्नयोग्य ठाँउ बनाउन प्रयास गर्ने उनको अर्को प्रतिबद्धता छ ।

‘भर्खरैको जेनजी आन्दोलनमा व्यक्त भावनालाई सम्बोधन गर्नुपर्ने परिस्थितिमा मैले आफूलाई अघि सारेको हुँ,’ उनले आफ्ना तीन प्रतिबद्धताहरु अघि सार्दै भने, ‘राजनीतिक ज्ञानले पनि मलाई मुलुकको उन्नति र नयाँ युवाको भविष्यका बारेमा काम गर्न ऊर्जा प्राप्त भएको छ ।’

काठमाडौं-२ मा एमालेका मणिराम फुँयाल, नेपाली कम्युनिस्ट पार्टीका नितेश पौडेल, रास्वपाका सुनिल केसी, राप्रपाकी कुन्तीदेवी पोखरेल लगायत प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा ८८ हजार ७०८ मतदाता छन् ।

२०७९ को चुनावमा काठमाडौं-२ बाट रास्वपाकी सोबिता गौतमले १५ हजार २३८ मत ल्यार विजयी भएकी थिइन् । एमालेका मणिराम फुँयालले ११ हजार ५६६, राप्रपाकी कुन्ती पोखरेलले ११ हजार २४ र तत्कालीन माओवादी केन्द्रकी ओनसरी घर्तीले ९ हजार ४५९ मत ल्याएकी थिइन् ।

अनुकूलता

  • भूगर्भविद्को रूपमा ठूला पूर्वाधार तथा विकास आयोजनामा करिब एक दशकको अनुभव
  • काठमाडौं–२ कै स्थायी बासिन्दा तथा क्षेत्रीय सभापति, स्थानीय मतदाता र कार्यकर्तासँग नजिक
  • युवा र सचेत छवि

प्रतिकूलता

  • संसदीय अनुभवको अभाव
  • रास्वपाको अघिल्लो जित, एमाले र वाम शक्तिको संगठित मत आधारबीच प्रतिस्पर्धा
  • परम्परागत दलप्रति असन्तुष्ट मतदातालाई आकर्षित गर्ने चुनौती

 

 

 

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

कवीर शर्मा को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित