नयाँ विकल्प र एजेण्डा पस्किरहेका ऊर्जाविज्ञ कुशल
कुशल गुरुङ, हल्लाखल्ला नगरी चुपचाप मतदाताको घरघरमा पुगेर मत मागिरहेका छन् ।
०००
नवीकरणीय ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा सरकारको नीति निर्माणको तहमा विज्ञका रूपमा काम गरिरहेका कुशल गुरुङ २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा कास्की–२ बाट उम्मेदवार छन् । जेनजी आन्दोलनपछि सिर्जित परिस्थितिले हुन लागेको चुनावमा उनी उज्यालो पार्टी नेपालबाट उम्मेदवार बनेका हुन् ।
कास्कीको सबैभन्दा चासो र चर्चाको केन्द्रमा रहेको क्षेत्र नम्बर २ मा उनले आफूले काम गरिरहेको क्षेत्र र विज्ञतालाई आधार बनाएर मतदातासँग चुपचाप मत मागिरहेका छन् । हुल बाँधेर उनी चुनावी प्रचारमा हिँडेका छैनन् । न त उनी लोकप्रियताका नारासहित मत मागिरहेका भेटिन्छन् ।
कास्की क्षेत्र नम्बर २ मा पञ्चायतकालदेखि नै दबदबा कायम गरिरहेको नेकपा एमाले, विशेष महाधिवेशनबाट बदलिएको उद्घोषसहित चुनावमा होमिएको नेपाली कांग्रेस, अघिल्लो निर्वाचनमा नै लोकप्रिय मत ल्याएर दोस्रो भएको राष्ट्रिय स्वतन्त्र पार्टी र अवस्था बदल्ने एजेण्डासहित आएको नेपाल कम्युनिष्ट पार्टीको प्रतिस्पर्धा दौडमा कुशललाई धेरैले चासो दिइरहेको देखिँदैन ।
तर, कुशलले नयाँको विकल्पमा विज्ञता र क्षमताको आधारमा पनि हामी हौं भनेर एजेण्डा अगाडि सारिरहेका छन् ।
पोखरासहित गण्डकीले भोगिरहेको जलवायु परिवर्तनको असर, फोहोर व्यवस्थापनको मुद्दा, ऊर्जा क्षेत्रबाट लिन सकिने लाभसँगै यहाँको पर्यटन, यातायात व्यवस्थापनको मुद्दालाई कुशलले एजेण्डा बनाएर मतादाताको ध्यान खिच्ने काम गरिरहेका छन् । संघ, प्रदेश र पोखरा महानगरको जलवायु तथा ऊर्जा नीतिमा विज्ञका हिसाबले काम गरेका कुशलले मतदाताले पुरानाको विकल्प नयाँ खोज्दा भीडभन्दा पनि एजेण्डा र विज्ञता हेर्ने बताइरहेका छन् ।
कुशल कास्की क्षेत्र नम्बर १ का बासिन्दा हुन् । तर, उनी बदलिँदै गएको मतादाताको मनस्थितिलाई हेरेर कास्की–२ रोजेको बताउँछन् । राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टीबीच एकता हुँदा कुशललाई कास्कीमा बलियो उम्मेदवारका रूपमा हेरिएको थियो । तर, रास्वपा र उज्यालोबीच १४ दिनभित्रै एकता टुट्यो ।
परम्परागत दल र नयाँका बीच मत बाँडिदा आफूले जित्न सक्ने आंकलन कुशलले गरेका छन् । तर, विगतका अंकगणित र चुनावी माहोल हेर्दा कुशलको पक्षमा परिणाम आउन निकै चुनौतिपूर्ण देखिए पनि मतदाताले उम्मेदवार पनि हेर्ने उनको दाबी छ ।
‘गाउँ–सहरमा मत माग्दै हिँड्ने भीडको प्रतिस्पर्धामा म नहुँला तर सिंगो देशको समस्या बुझ्ने र यहाँको एजेण्डालाई नीतिगत रूपमा सम्बोधन गर्न सक्ने उम्मेदवारका रूपमा धेरै बुद्धिजीवी तथा चासो राख्ने मतदाताले हौसला दिइरहनुभएको छ,’ कुशल भन्छन्, ‘मैले प्रचारका लागि ठूलो शक्ति खर्च गरेको छैन, मैले मतदातालाई नयाँमा पनि विकल्प हामी हौं भनेर एजेण्डा र योजना बाँडिरहेको छु ।’
सुशासन, समृद्धि र दिगो विकासको एजण्डा पस्किरहेका कुशलले मतदातासम्म आफूलाई कसरी पुर्याउन सकिन्छ भनेर कोसिस चाहिँ गरिरहेका छन् । बेलायतमा पढेर फर्किएका कुशलले आफ्नो ज्ञानलाई नागरिकको आर्थिक उन्नतिसँग जोड्ने बताइरहेका छन् ।
संयुक्त राज्य अमेरिकाको एस्पेन आइडियाज फेस्टिभल–२०२४ फेलो, एसिया सोसाइटी अमेरिकाको ‘एसिया २१ युवा नेतृत्व कार्यक्रम–२०१७’ मा उनी उत्कृष्ट ठहरिएका थिए । बेलायतको एडिनबर्ग विश्वविद्यालय व्यवस्थापन विद्यालयको १०० वर्षे इतिहासमा उत्कृष्ट १०० भूतपूर्व विद्यार्थीभित्र पर्न सफल व्यक्ति हुन्, कुशल ।
विन्ड पावर नेपाल प्रालिमार्फत वैकल्पिक ऊर्जा क्षेत्रमा काम गरिसकेका कुशलले काठमाडौंमा हाइड्रोफोनिक्स प्रविधिमा तरकारी खेती गर्दै आइरहेका छन् भने पोखरामा गण्डकी बायोऊर्जामा काम गरिरहेका छन् । तत्कालको अंकगणित र चुनावी सरगर्मीको केन्द्रमा नपरे पनि नागरिक अब सचेत भइसकेको र नयाँ रोज्दा उम्मेदवार पनि हेरेर मतदान गर्ने उनको विश्वास छ ।
Battleground Analysis
अनुकूलता
- विज्ञता र क्षमता भएका उम्मेदवार
- सुशासन, समृद्धि र दिगो विकासको एजण्डा
- स्थानीयस्तरमा क्रियाशील
प्रतिकूलता
- संसदीय राजनीतिको अनुभव नहुनु
- राजनीतिक पृष्ठभूमिको अभाव
- संगठनात्मक आधार कमजोर
कुशल गुरुङ्ग को उम्मेदवारि कस्तो लागयो ?



