पालिकाको पराजय बिर्साउन प्रयासरत लंकबहादुर
२०४६ साल चैत १६ गते डोल्पाको कालिकामा जन्मिएका लंकबहादुर रोकाया नेकपा एमालेबाट डोल्पाका लागि उम्मेदवार छन् । २०६३ मा काठमाडौंको ताहाचल क्याम्पसमा १२ कक्षाको अध्ययन गर्दै गर्दा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको सदस्यता लिएका रोकाया त्यसयता एमाले राजनीतिमा सक्रिय छन् ।
माध्यमिक शिक्षा सकेर डोल्पा फर्केपछि उनले केही वर्ष पत्रकारिता गरे । उनले राष्ट्रिय समाचार समिति र रेडियो डोल्पा एफएममा करिब तीन वर्ष काम गरेका थिए । जिल्ला फर्किएपछि उनी एमालेकै युवा संगठन युवा संघको जिल्ला कमिटी सदस्य बनेका थिए ।
२०६८ सालमा एमाले डोल्पा जिल्ला कमिटी सदस्य बनेका उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा मुड्केचुला गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला उनी तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार दत्तबहादुर शाहीसँग २ मतले पराजित भए ।
स्थानीय तहको चुनावमा पराजित बनेपछि उनी एमालेको मुड्केचुला गाउँ कमिटी इन्चार्ज हुँदै डोल्पा प्रदेश क्षेत्र ‘२’ को क्षेत्रीय इन्चार्ज बने । २०७८ मा उनी नेकपा एमालेको छैटौं जिल्ला अधिवेशनबाट जिल्ला सचिवमा निर्विरोध चयन भए । पार्टी सचिव रहेकै बेला उनले २०७९ सालको स्थानीय तह निर्वाचनमा मुड्केचुला गाउँपालिकाको अध्यक्षमा पुन: प्रतिस्पर्धा गरे ।
उक्त चुनावमा पनि रोकाय तत्कालीन माओवादीका उम्मेदवार शाहीसँग ३७ मतले पराजित भए ।
अनुकूलता :
विद्यार्थी, युुवा हुँदै जिल्लाको पार्टी राजनीतिमा सक्रिय छन् । युवा उमेरका कारण युवामाझ सहजै घुलमिल हुन सक्छन् । केही वर्ष पत्रकारितासमेत गरेकाले जिल्लाका समस्याबारे जानकार छन् ।
प्रतिकूलता :
पहिलो पटक संघीय संसद्को चुनाव लड्दैछन् । स्थानीय तहमै दुईपटक पराजित भएकालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउँदा पार्टीभित्र असन्तुुष्टि छ ।
व्यक्तिगत विवरण
नाम: लंकबहादुर रोकाया
जन्म : २०४६ साल चैत १६
जन्मस्थान : डोल्पा
स्थायी ठेगाना: डोल्पा मुड्केचुला गाउँपालिका भोट
शिक्षा: प्सल टू
राजनीतिक टाइमलाइन
२०६३ : अनेरास्ववियू सदस्य
२०६८ : एमाले डोल्पा जिल्ला कमिटी सदस्य
२०७४ : मुड्केचुला गाउँपालिका अध्यक्षमा पराजित
२०७८ : एमालेको छैटौं जिल्ला अधिवेशनबाट सचिव चयन
२०७९ : मुड्केचुला गाउँपालिकाको अध्यक्षमा पुन: उम्मेदवार र पराजित
२०८२ : प्रतिनिधिसभा सदस्यको उम्मेदवार
लंकबहादुर रोकाया को उम्मेदवारि कस्तो लागयो ?

