पुस्तान्तरण र रूपान्तरणको एजेन्डा लिएर जनतामाझ
पार्टी रूपान्तरण र पुस्तान्तरणको एजेन्डा बोकेका मधुप्रसाद आचार्य नेपाली कांग्रेसबाट काभ्रे-२ मा प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धामा छन् ।
०००
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्य काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् । पुस्तान्तरण र रूपान्तरणको स्पष्ट एजेन्डासहित अघि बढिरहेका आचार्यले विशेषगरी नयाँ पुस्ता (जेनजी) का भावना समेटिनुपर्ने धारणा राख्दै आएका छन् ।
गत भदौ २३ र २४ गते भएका युवासम्बन्धी छलफल र बहसलाई पनि उनले आफ्नो राजनीतिक दृष्टिकोणसँग जोड्दै आएका छन् ।
दलहरू भित्र रहेको पुरातन सोच र कार्यशैली परिवर्तन गर्न पार्टी भित्रै संघर्ष गरेको बताउने आचार्य नेपाली कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै देशलाई पनि नयाँ दिशामा लैजान सकिने विश्वास गर्छन् । यही रूपान्तरणको भावनासहित आफू चुनावी मैदानमा उत्रिएको उनको दाबी छ ।
उनको चुनावी एजेन्डामा आधुनिक कृषि प्रणालीको विकास, सडक सञ्जालको विस्तार, गुणस्तरीय शिक्षामा सबैको पहुँच, सुलभ स्वास्थ्य सेवा, तथा स्थानीय स्रोत र साधनको उपयोग गर्दै युवाहरूका लागि रोजगारी सिर्जना प्रमुख छन् ।
राजनीतिमा उनको प्रवेश पारिवारिक र ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको छ । २०३३ सालमा राजनीतिक बन्दीका रूपमा रहेका आफ्ना ठूलोबुबा प्रेमप्रसाद आचार्यलाई धुलिखेल जेलमा भेटेपछि उनी राजनीतितर्फ आकर्षित भएका थिए ।
२०३५-३६ सालको विद्यार्थी आन्दोलनमा काठमाडौँ लैनचौरस्थित शान्ति विद्या गृहको नेविसंघ इकाइ सचिवका रूपमा उनले सक्रिय भूमिका निर्वाह गरे ।
प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका आचार्य अमृत साइन्स क्याम्पस हुँदै कोलम्बो प्लानअन्तर्गत सिभिल इन्जिनियरिङ अध्ययनका लागि भारतको इलाहावाद पुगे ।
नेपाली विद्यार्थी संघको शाखा अध्यक्षका रूपमा भारतका विभिन्न शहरमा पुगेर प्रजातन्त्र पुनर्स्थापनाका लागि नेपालीहरूलाई गोलबन्द गर्न उनी सक्रिय रहे ।
प्रथम श्रेणीमा इन्जिनियरिङ पूरा गरेपछि जागिरको बाटो रोज्नुभन्दा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदल पुनर्स्थापनाको आन्दोलनमा होमिनु उनको राजनीतिक प्रतिबद्धताको उदाहरण मानिन्छ ।
त्यतिबेला नेपाली कांग्रेस संवैधानिक राजतन्त्रको पक्षमा रहँदा पनि आचार्य गणतन्त्रको पक्षमा स्पष्ट रूपमा उभिएका थिए ।
पहिलो पटक नेपाली कांग्रेस काभ्रेको जिल्ला सभापति हुँदा २०६० सालतिर देशभरका जिल्ला सभापतिहरूको भेला गराई उनले लोकतान्त्रिक गणतन्त्र, संविधानसभा र माओवादीसँग वार्ता गरी शान्ति स्थापना जस्ता निर्णयका लागि पहल गरेका थिए ।
नरहरि आचार्य र गगन थापासँग मिलेर लोकतान्त्रिक गणराज्यका लागि कांग्रेस अभियानमा सक्रिय रहेका उनी नेपाली कांग्रेसको विशेष महाधिवेशनका अभियानकर्ता पनि हुन् ।
समाजसेवामा समेत सक्रिय आचार्य बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालको स्थापना प्रक्रियामा नेतृत्वदायी भूमिकामा रहेका थिए । जहाँबाट लाखौँ आँखाका बिरामीले उपचार सेवा पाएका छन् । उनी नेपाली कांग्रेसबाट २०६४ र २०७४ मा पनि उम्मेदवार बनेका थिए ।
अनुकूलता
- लामो राजनीतिक संघर्ष र वैचारिक स्पष्टता
- पार्टी भित्र रूपान्तरण र पुस्तान्तरणको पहिचान
- शिक्षा, स्वास्थ्य र समाजसेवामा प्रत्यक्ष योगदान
प्रतिकूलता
- अघिल्ला निर्वाचनमा पराजयको स्मृति
- नयाँ पुस्तासँग भावनात्मक जोड अझ मजबुत बनाउनुपर्ने चुनौती
- कडा र बहुआयामिक प्रतिस्पर्धा
मधु प्रसाद आचार्य को उम्मेदवारि कस्तो लागयो ?



