Home Candidate महेन्द्रबहादुर शाही

प्रतिनिधिसभामा तेस्रो जितको खोजीमा महेन्द्रबहादुर

कालीकोट - १ उम्मेदवार

महेन्द्रबहादुर शाही

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ४९ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

कर्णाली प्रदेशमै परिचित नाम हो, महेन्द्रबहादुर शाही । दश वर्षे सशस्त्र संघर्षका एक कमान्डर महेन्द्रबहादुर २०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि बनेको कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री हुन् ।

उनै शाही कालीकोटबाट संघीय संसद्मा चौथो जितको खोजीसहित चुनावी मैदानमा छन् । जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका २३ दल र घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका नेता रहेका महेन्द्रबहादुर जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभाका सदस्य पनि हुन् ।

महेन्द्रबहादुर २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए । त्यसपछि पार्टीले २०७४ को निर्वाचनमा उनलाई कर्णाली प्रदेश सभा सदस्यका लागि कालिकोट अन्तर्गतको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र (१) बाट उम्मेदवार बनाएको थियो । यसपटक उनी विजयी हुँदै कर्णालीको पहिलो मुख्यमन्त्रीसम्मको जिम्मेवारीमा पुगे ।

उनले २०७४ फागुनदेखि २०७८ सम्म मुख्यमन्त्रीको जिम्मेवारी निभाए ।

२०७९ सालमा भने पार्टीले उनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दलको गठबन्धनका साझा उम्मेदवार रहेका महेन्द्रबहादुर २३ हजार ७२७ मतसहित विजयी भए ।

माओवादीका पूर्वलडाकु कमान्डर महेन्द्रबहादुरले युद्धकलामा कालिकोटमा माओवादी संगठन विस्तारमा उल्लेख्य भूमिका निभाएका थिए । पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने महेन्द्रबहादुर युद्धकालमा ६ नम्बर र ७ नम्बर डिभिजनको कमान्डर बनेका थिए । उनले सशस्त्र संघर्षको समयमा ठूला–ठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गरेका थिए । 

१५ माघ २०३३ मा पचालझरना गाउँपालिका–९ (साबिकको नानीकोट– ८ कोटिला) कालिकोटमा जन्मिएका महेन्द्रबहादुरले वडीमालिका माध्यामिक विद्यालय रास्कोटबाट एसएलसी पास गरेका छन् ।

२०४८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका महेन्द्रबहादुरले नेकपा मसाल (एकता केन्द्र)बाट राजनीतिक यात्रा सुरु गरेका हुन् । पार्टी सदस्यता लिएपछि उनी अर्धभूमिगत रूपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुटे । 

२०४९ मा प्रहरी वारेन्ट जारी भएका उनी २०५२ नेकपा (माओवादी)मा भूमिगत राजनीतिमा संलग्न भए । जनयुद्धमा होमिएका शाहीले पार्टीको संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्न थाले । कर्णाली अञ्चलमा पहिलो पटक छापामार सेनाको स्थापना भएको समयदेखि नै उनले पार्टी र सेनामा समानान्तर भूमिका खेलेका थिए । 

सशस्त्र युद्धमा सामेल भएका उनी २०५३ मा मध्यमाञ्चलको गुरिल्ला गठनमा सदस्यदेखि लडाकु जीवनमा प्रवेशका थिए । पश्चिम नेपालको बुटवलदेखि दार्चुलासम्मका आक्रमणमा जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति प्रक्रिया हुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमा शाही संलग्न रहेका थिए ।

माओवादीको जनमुक्ति सेनामा वार्ड कमान्डर, स्क्वाड कमान्डर, प्लाटुन कमान्डर, कम्पनी कमान्डर, बटालियन कमान्डर, बिग्रेड कमान्डर हुँदै डिभिजन कमान्डरसम्म भएका थिए । 

माओवादी शान्तिप्रक्रियामा आएपछि उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज भए । हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता छन् ।

नेकपाका तर्फबाट उम्मेदवार बनेका महेन्द्रबहादुरले आफूले कार्यकाल पूरा गर्न नपाएकाले अधुरा एजेन्डा कार्यान्वयन गर्न जनतामाझ गइरहेको  बताएका छन् ।

‘यहाँका सबै खाले समस्याप्रति म जानकार छु नै, धेरै काम पनि मेरै कार्यकालमा पूरा भएका छन्,’ महेन्द्रबहादुर भन्छन्, ‘जनतालाई अधिकार सम्पन्न बनाउने र मतदातालाई सबै सरकारी सेवा प्रवाह उपलब्ध गराउन पनि मैले फेरि उम्मेदवारी दिएको हुँ ।’ 

अनुकूलता :

सशस्त्र संघर्षदेखि शान्तिपूर्ण राजनीतिमा पनि क्रियाशील रहेकाले जनसम्पर्क बलियो छ । कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्यसमेतको अनुभव छ । मुख्यमन्त्री हुँदा गरेका कामबारे जनतालाई बुझाउने मौका छ ।

प्रतिकूलता :

एकै व्यक्तिले पटक–पटक अवसर लिएको आरोप लाग्दै आएको छ । जेनजी आन्दोलनले नयाँ अनुहार खोजिरहेका बेला यो प्रश्नको चित्तबुझ्दो जवाफ दिनुपर्नेछ । सशस्त्र संघर्षदेखि शान्तिप्रक्रियासम्म आउँदा सँगै रहेका, माओवादीबाट सांसद र मन्त्रीसमेत भइसकेका हिजोका सहकर्मी नै उनको प्रतिस्पर्धी छन् ।

राजनीतिक टाइमलाइन 

२०४८ : नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त

२०५२ : नेकपा माओवादीको सशस्त्र युद्ध सुरु भएसँगै भूमिगत

२०५३ : मध्यमाञ्चलको गुरिल्ला गठनमा सदस्य हुँदै लडाकु जीवनमा प्रवेश

२०६३ सम्म : माओवादीको जनमुक्ति सेनामा वार्ड कमान्डर, स्क्वाड कमान्डर, प्लाटुन कमान्डर, कम्पनी कमान्डर, बटालियन कमान्डर, बिग्रेड कमान्डर हुँदै डिभिजन कमान्डर सम्मको जिम्मेवारी

२०७० : संविधानसभा सदस्य निर्वाचित

२०७४ : कर्णाली प्रदेश सभा सदस्य निर्वाचित

२०७४–२०७८ : कर्णाली प्रदेशको मुख्यमन्त्री

२०७९ : प्रतिनिधिसभा सदस्य

२०८२ : प्रतिनिधिसभा सदस्य उम्मेदवार

व्यक्तिगत विवरण

नाम : महेन्द्रबहादुर शाही

जन्म : २०३३ साल माघ १५ गते

जन्मस्थान : कालिकोट

स्थायी ठेगाना :  पचालझरना गाउँपालिका–९, कालिकोट

शिक्षा: एसएलसी पास

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

महेन्द्रबहादुर शाही को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित