ऊर्जा क्षेत्रका टेक्नोक्र्याट प्रत्यक्ष राजनीतिमा
विशेषगरी २०७३ सालमा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मासँगको कार्यशैलीगत टकराव तथा ‘डेडिकेटेड र ट्रंक लाइन’ महसुलसम्बन्धी विवादले उनलाई राजनीतिक र प्रशासनिक चर्चाको शिखरमा पुर्यायो। पार्टी भित्र र बाहिर ‘टेक्नोक्र्याट’ (विज्ञ प्रशासक) को छवि बनाएका काफ्ले यसपटक प्रत्यक्ष राजनीतिमा होमिएका छन् ।
०००
महोत्तरीको गौशालामा जन्मिएका डा. मुकेशराज काफ्ले सोही ठाउँका स्थायी बासिन्दा हुन्। इन्जिनियरिङ क्षेत्रको व्यावसायिक राजनीतिबाट नेपाली कांग्रेसमा सक्रिय भएका उनले जलविद्युत विषयमा विद्यावारिधिसम्मको अध्ययन गरेका छन्।
२०५० को दशकदेखि नै प्राविधिक विद्यार्थी राजनीति र पेसागत राजनीतिमा आबद्ध काफ्ले नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल’ का संस्थापक सदस्य तथा पूर्व नेतृत्वकर्ता हुन्।
पार्टीका नीतिगत तथा प्राविधिक विभागहरूमा सक्रिय भूमिका निर्वाह गरेका उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा सांगठनिक राजनीतिमा स्थापित व्यक्तित्व मानिन्छन्।
प्राविधिक विशेषज्ञका रूपमा चिनिएका काफ्लेको सार्वजनिक चर्चा र प्रशासनिक यात्रा २०७१ सालमा नेपाल विद्युत प्राधिकरण (एनइए) को प्रबन्ध निर्देशक (एमडी) मा नियुक्त भएपछि उचाइमा पुगेको हो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले खुला प्रतिस्पर्धामार्फत उनलाई प्राधिकरणको नेतृत्व सुम्पिएको थियो ।
उनको कार्यकालमा ऊर्जा क्षेत्रका केही रणनीतिक पूर्वाधारका कामहरू अघि बढे पनि चरम लोडसेडिङका कारण उनी र उनको कार्यशैली पटक–पटक जनस्तरमा विवाद र बहसको केन्द्रमा रह्यो। काफ्लेले सधैं भन्दै आएका छन्, 'मैले बसालेको जगमै उभिएर लोडसेडिङमुक्त नेपाल सम्भव भएको हो ।'
विशेषगरी २०७३ सालमा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मासँगको कार्यशैलीगत टकराव तथा ‘डेडिकेटेड र ट्रंक लाइन’ महसुलसम्बन्धी विवादले उनलाई राजनीतिक र प्रशासनिक चर्चाको शिखरमा पुर्यायो।
पार्टी भित्र र बाहिर ‘टेक्नोक्र्याट’ (विज्ञ प्रशासक) को छवि बनाएका काफ्ले यसपटक प्रत्यक्ष राजनीतिमा होमिएका छन् ।
उनी महोत्तरी-१ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । मधेशको सिँचाइ समस्या, ऊर्जा संकट र प्राविधिक शिक्षालाई मुख्य चुनावी एजेन्डा बनाउँदै उनले आफूलाई ‘विकासको खाका कोर्न सक्ने विज्ञ नेतृत्व’ का रूपमा प्रस्तुत गरेका छन्।
उनको चुनावी प्रतिस्पर्धा यस पटक महोत्तरी–१ मा नेकपा (एमाले) का लक्ष्मी महतो कोइरी, माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमोद महतो र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का यानिखर गौतमसँग हुँदैछ।
विगतका निर्वाचनमा यस क्षेत्रमा वामपन्थी दलहरूको वर्चस्व रहँदै आएको भए पनि काफ्ले कांग्रेसको सांगठनिक मत र आफ्नो व्यक्तिगत बौद्धिक छविका कारण जित्ने दाउमा छन्।
२०७९ को निर्वाचन परिणामअनुसार महोत्तरी–१ मा कडा प्रतिस्पर्धा देखिएको थियो। उक्त निर्वाचनमा नेकपा (एमाले) का लक्ष्मी महतो कोइरी २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेल २२ हजार ३७२ मतसहित दोस्रो स्थानमा सीमित भएका थिए। अहिले काफ्ले त्यही जनमतलाई आफ्नो पक्षमा पार्ने प्रयासमा छन्।
गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रका वडाअध्यक्षहरूले पाएको मतका आधारमा हेर्दा कुनै पनि दलको एकल बहुमत देखिँदैन । एमाले, कांग्रेस र माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा कायम छ। मधेशका मुद्दा र स्थानीय विकासप्रतिको अपेक्षाका कारण यो क्षेत्र सधैं राजनीतिक राप–तापमा रहने गरेको छ।
पहिलो पटक संसदीय निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनेका डा. काफ्ले संसद्मा पुगेर नीति निर्माण र ऊर्जा क्षेत्रको सुधारमा आफ्नो विशेषज्ञता प्रयोग गर्ने योजनामा छन्। प्राविधिक पृष्ठभूमिबाट आएका कारण उनले युवा तथा शिक्षित मतदाताको समर्थन पाउने अपेक्षा गरेका छन्।
अनुकूलता
- ऊर्जा र जलविद्युत क्षेत्रमा विद्यावारिधि सहितको प्राविधिक विज्ञता
- नेपाल विद्युत प्राधिकरणको एमडीका रूपमा काम गरेको प्रशासनिक अनुभव
- कांग्रेसको सांगठनिक संरचना र प्राविधिक समूहमा पकड
प्रतिकूलता
- लोडसेडिङको समयसँग जोडिएको विवादका कारण बनेको छवि
- महोत्तरी–१ मा वामपन्थी दलहरूको परम्परागत प्रभाव र कडा प्रतिस्पर्धा
- पहिलो पटक प्रत्यक्ष संसदीय चुनाव लड्दै गर्दा स्थानीय जनस्तरसँग सीमित प्रत्यक्ष राजनीतिक अनुभव
मुकेश राज काफ्ले को उम्मेदवारि कस्तो लागयो ?



