पाँचौं पटक सांसद बन्ने दौडमा
चार पटक चुनाव जितेर संसदीय राजनीतिको अनुभव बटुलिसकेका कांग्रेस नेता रमेश प्रतिनिधिसभा निर्वाचनमार्फत पाँचौं पटक सांसद बन्ने दौडमा छन् ।
०००
निवर्तमान सांसद रमेश रिजाल पाँचौं पटक सांसद बन्ने दौडमा छन् । उनले नेपाली कांग्रेसका तर्फबाट यस पटक पनि प्रतिनिधिसभा सदस्यका लागि पर्सा-५ मा टिकट पाएका छन् ।
२१ फागुन २०१३ सालमा पर्सा जगरनाथपुर गाउँपालिका–५, धर्मपुर मसिहानीमा जन्मिएका रिजालले वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट एमएसम्मको शिक्षा हासिल गरेका छन् ।
उनका बुबा मेघनाथ उपाध्याय २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार थिए । बुबाको राजनीतिक बाटो छोरा रमेशले पनि समाए । उनी विद्यार्थी जीवनमा नेविसंघको राजनीतिमा सक्रिय बने । २०२६ सालदेखि २०४६ सालको अवधिमा पटक–पटक गरी ३ वर्ष जेल जीवन बिताए ।
पर्सा कांग्रेसको सचिवको जिम्मेवारीबाट पार्टी राजनीतिमा सक्रिय भएका रिजालले २०५९ सालमा प्रजातान्त्रिक कांग्रेस गठन हुँदा शेरबहादुर देउवालाई साथ दिए । विशेष महाधिवेशनमा पनि उनी देउवाकै पक्षमै खुले ।
राजनीतिमा निकै उतारचढाव बेहोरेका रिजाल पार्टी अनुशासन समिति संयोजक, कार्यसम्पादन समिति सदस्य र मधेश प्रदेश संयोजकको भूमिकामा समेत रहे ।
पर्सा क्षेत्र नम्बर-४ बाट उनले यसअघि ७ पटक संसदीय चुनाव लडिसकेका छन् । जसमा ४ जित र ३ हार बेहोर्नुपर्यो । २०५६, २०७० र २०७४ सालको आमनिर्वाचनमा उनले हार बेहोरे ।
४ पटकसम्म सांसद बने पनि मन्त्री बन्ने अवसर भने उनले एक पटक मात्रै पाए । २०७९ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी कांग्रेसबाट उद्योग मन्त्री बने ।
२०४८ सालमा पहिलो पटक आमचुनाव जित्दै उनले संसदीय राजनीतिको यात्रा सुरु गरेका थिए । २०५१ सालमा भएको चुनाव पनि उनले जिते । तर २०५६ सालको निर्वाचनमा भने उनी पराजित भए ।
रिजाल फेरि २०६४ सालमा भएको संविधानसभा चुनावमा पर्सा-५ मा विजयी भए । त्यसपछि २०७० को संविधानसभा र २०७४ सालको संसदीय निर्वाचनमा पराजित भए । २०७९ सालको चुनावमा भने उनी निर्वाचित भएका उनी यो चुनावमा पनि कांग्रेसबाट उम्मेदवार बनेका छन् ।
पर्सा-४ मा रिजालका मुख्य प्रतिस्पर्धीहरू पुरानै राजनीतिक खेलाडी छन् । नेकपा एमालेबाट जालिम मियाँ मन्सुरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट जयप्रकाश थारू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टेकबहादुर शाक्य, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट कृपासिन्धु प्रसाद, श्रम संस्कृति पार्टीबाट विष्णु लोप्चनलगायत उनका प्रतिस्पर्धी छन् ।
अनुकूलता
- लामो संसदीय अनुभव
- स्थानीय जरा र निरन्तर उपस्थिति
- कांग्रेसभित्र बलियो पकड
प्रतिकूलता
- हारको इतिहास पनि उल्लेख्य
- बहु–कोणीय प्रतिस्पर्धा
रमेश रिजाल को उम्मेदवारि कस्तो लागयो ?




