स्थानीयदेखि प्रदेशसम्मका अनुभवी
संसदीय राजनीतिमा फुँयालले जित र हार दुवै अनुभव बटुलेका छन् । २०६४ को संविधानसभा चुनावमा पराजय बेहोरे पनि उनी २०७० को संविधानसभा सदस्यमा निर्वाचित भए ।
०००
काठमाडौं–३ मा एमालेका उम्मेदवार हुन् रामेश्वर फुँयाल । संविधानसभा सदस्यसमेत रहेका उनी स्थानीय स्तरमा परिचित छन् ।
विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा स्थानीय तह, जिल्ला, प्रदेश हुँदै संसद्को ढोकासम्म आइपुगेको हो । कागेश्वरी मनोहरा नगरपालिका आलापोटका फुँयाल यसपटक प्रतिनिधिसभा सदस्यका लागि होमिएका छन् ।
२०१९ साल साउन २२ गते काठमाडौंमा जन्मिएका फुँयालको राजनीतिक चेतना विद्यार्थी जीवनमै सुरु भएको हो । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।
२०३६ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका फुँयाल अधिकृत तहको सरकारी सेवा छोडेर राजनीतिमा होमिएका हुन् ।
बहुदलीय आन्दोलन, संगठन विस्तार र स्थानीय शासनको अनुभव उनीसँग छ । उनी तत्कालीन आलापोट गाविस अध्यक्षका रूपमा दुई पटक (२०४९ र २०५४) निर्वाचित भए ।
त्यसपछि काठमाडौं जिल्ला विकास समितिको उपसभापति बनेर विकास योजनामा काम गरे । एमालेमा जिल्ला हुँदै केन्द्रीय सदस्य बने ।
संसदीय राजनीतिमा फुँयालले जित र हार दुवै अनुभव बटुलेका छन् । २०६४ को संविधानसभा चुनावमा पराजय बेहोरे पनि उनी २०७० मा संविधानसभा सदस्य निर्वाचित भए ।
२०७४ मा भने काठमाडौं–३ (ख) बाट बागमती प्रदेशसभा सदस्य बने । त्यसपछि प्रदेशसभामा प्रमुख सचेतकको जिम्मेवारी पाएका फुँयाल पछि बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री बने । मन्त्री हुँदा फुँयालले सडक, पूर्वाधार पर्यटनको क्षेत्रमा नीतिगत काम गरेका छन् ।
‘ग्रामीण क्षेत्रलाई शहरसँग जोड्ने, मुख्य सडकखण्डको स्तरोन्नति र पूर्वाधारसँगै पर्यटन प्रबर्द्धनमा काम गरेको छु,’ उनले भने ।
स्थानीय तहदेखि प्रदेश सरकारसम्म काम गर्दा देखेका समस्या नै अबको संसद्मा उठाउने उनको दाबी छ । यसपटक प्रतिनिधिसभा उम्मेदवार बनेपछि फुँयालले राष्ट्रियता, लोकतन्त्र र सुशासनलाई केन्द्रमा राखेको बताए ।
‘राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउन उम्मेदवारी दिएको हुँ। जनताको जनजीविकामा सुशासन कायम गर्दै भ्रष्टाचार निर्मूल पार्नुपर्छ,’ उनले भने, ‘संविधान संशोधनमार्फत नवयुवाको चाहना पूरा गर्न मेरो उम्मेदवारी हो ।’
क्षेत्र नम्बर ३ मा एमालेका रामेश्वर फुँयाल, कांग्रेसका रमेश अर्याल, नेकपाका निरज लामा, उज्यालो नेपालका कुलमान घिसिङ, रास्वपाका राजुनाथ पाण्डे लगायतका २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यसअघि २०७९ को चुनावमा काठमाडौं–३ मा कांग्रेसकै सन्तोष चालिसेले जित हात पारेका थिए । त्यसबेला चालिसेले १५ हजार १५८ मत ल्याएका थिए ।
त्यसैगरी एमालेका तत्कालीन उम्मेदवार कृष्णबहादुर राईले ११ हजार १९६ र रास्वपाका दुर्गाविक्रम थापाले ५ हजार ८६५ मत ल्याएका थिए । राप्रपाका गणेश गिरीले २ हजार ५११ मत ल्याएका थिए । क्षेत्र नम्बर ३ मा ४८ हजार ४८९ जना मतदाता छन् ।
अनुकूलता
- लामो अनुभव र राजनीतिक निरन्तरता
- स्थानीय तहदेखि पूर्वाधार र विकासमा अनुभव
- सशक्त पार्टी संरचना र स्थानीय परिचय
प्रतिकूलता
- प्रतिस्पर्धीहरूको बलियो चुनौती
- गत निर्वाचनमा कांग्रेसको विजय
- सांसद बन्ने प्राथमिक लक्ष्यसँग अपेक्षा मिलाउने चुनौती
को हुन् रामेश्वर फुयाल ?
जन्ममिति : २०१९–७–२२
जन्मस्थान : काठमाडौं
स्थायी ठेगाना : कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं
बसोबास : कागेश्वरी मनोहरा नगरपालिका, आलापोट
शैक्षिक योग्यता : स्नातकोत्तर, त्रिभुवन विश्वविद्यालय
२०४९ र २०५४ : आलापोट गाविस अध्यक्ष (दुई कार्यकाल)
काठमाडौं जिल्ला विकास समितिः उपसभापति
२०६४ : संविधानसभा निर्वाचनमा पराजित
२०७० : संविधानसभा सदस्यमा निर्वाचित
२०७४ : बागमती प्रदेशसभा सदस्य (काठमाडौं–३ (ख) मा निर्वाचित
बागमती प्रदेश प्रमुख सचेतक
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री
रामेश्वर फुयाल को उम्मेदवारि कस्तो लागयो ?


