Home Candidate शेरधन राई

विरासत जोगाउने चुनौती

भोजपुर - १ उम्मेदवार

शेरधन राई

नेकपा एमाले
पुरुष , ५५ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

चार दशक लामो राजनीतिक यात्रा गरेका शेरधन राई नेकपा एमालेबाट भोजपुरमा आफ्नो स्थापित विरासत जोगाउने चुनौतीसहित चुनावी मैदानमा छन् ।

०००

भोजपुरका मतदाताका लागि शेरधन राई चिनाइरहनुपर्ने नाम होइन । नेकपा एमालेका केन्द्रीय सचिव भइसकेका राईले नेपाली राजनीति र भोजपुरे जनताका लागि चार दशकभन्दा बढी समय खर्चिसकेका छन् ।

कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा संघीय सरकारका प्रवक्ताका रूपमा काम गरिसकेका कारण उनी राष्ट्रिय राजनीतिमा पनि परिचित व्यक्तित्व हुन् ।

२०५६ सालमा पहिलो पटक प्रतिनिधिसभा निर्वाचन जित्दा उनी २७ वर्षका थिए र त्यतिबेला कान्छा सांसदका रूपमा चिनिएका थिए । आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि उनै राई नेकपा एमालेका तर्फबाट भोजपुरमा उम्मेदवार बनेका छन्, जहाँ उनलाई आफ्नै स्थापित राजनीतिक विरासत जोगाउने चुनौती छ ।

२०२७ फागुन ११ गते भोजपुरको आमचोक गाउँपालिका-३ मा किसान परिवारमा जन्मिएका राईको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु भएको हो । भलिबल खेलाडीसमेत रहेका राई अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरूसँगको संगतपछि लाहुरे बन्ने योजना त्यागेर राजनीतितर्फ लागेका थिए ।

२०४३ सालमा एसएलसी उत्तीर्ण गरी भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनका क्रममा उनी क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध भए, जसले उनलाई एमालेको राजनीतिमा सक्रिय बनायो । राजनीतिक सक्रियताकै कारण २०४५ सालमा जनकल्याण प्राविमा सुरु भएको उनको शिक्षण पेसा लामो समय टिक्न सकेन, तर राजनीतिक यात्रा निरन्तर अघि बढिरह्यो ।

अखिलको जिल्ला अध्यक्ष हुँदै २०५० सालमा हेटौँडामा सम्पन्न सम्मेलनबाट राई केन्द्रीय सदस्य निर्वाचित भए र पूर्वाञ्चल प्रमुख बने । त्यसअघि उनी प्रजातान्त्रिक राष्ट्रिय युवा संघ भोजपुरको सहसचिव हुँदै कार्यवाहक अध्यक्ष भइसकेका थिए । २०४९ सालमा उनी एमाले भोजपुरको जिल्ला सदस्य बनेका थिए ।

माओवादी सशस्त्र द्वन्द्वका बेला एमाले भोजपुरको नेतृत्व सम्हाल्दै राईले २०६२/०६३ को आन्दोलनमा महत्वपूर्ण भूमिका खेले । २०५४ सालमा एमाले विभाजन हुँदा अधिकांश नेता-कार्यकर्ता मालेतर्फ जाँदा पनि राई एमालेमै रहेका थिए । २०७० वैशाखसम्म उनी लगातार चार कार्यकाल जिल्ला पार्टीको नेतृत्वमा रहे ।

२०६९ मा संविधानसभा विघटनपछि एकल पहिचानको विषय लिएर तत्कालीन एमाले उपाध्यक्ष अशोक राईसहितको समूह पार्टीबाट बाहिरिँदा भोजपुरमा पार्टी जोगाउने भूमिकामा पनि उनी अगाडि देखिएका थिए ।

संसदीय राजनीतिमा निरन्तर सक्रिय रहेका राईले २०५६ सालको निर्वाचन जित्नुका साथै २०७० सालको दोस्रो संविधानसभा निर्वाचन पनि जिते । दोस्रो संविधानसभामा उनी संविधान मस्यौदा समितिका सदस्य तथा सुशासन तथा अनुगमन समितिका सभापति थिए । यही अवधिमा उनी सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ताका रूपमा कार्यरत रहे ।

२०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित हुँदै कोशी प्रदेशका मुख्यमन्त्री बनेका राई गत प्रतिनिधिसभा निर्वाचनमा भने पराजित भए । यद्यपि, चुनावी हारपछि पनि एमाले भित्र उनको भूमिका कमजोर भएन । स्थायी कमिटी सदस्य हुँदै कोशी प्रदेश इन्चार्ज बनेका उनी एघारौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सचिव निर्वाचित भए ।

अर्थात्, भोजपुरबाट राजनीति सुरु गरेर राष्ट्रिय स्तरका ‘हेभिवेट’ नेताका रूपमा स्थापित भइसकेका शेरधन राई यस पटकको निर्वाचनमा आफ्नै बलियो विरासत जोगाउने दबाबमा छन् ।

अनुकूलता

  • चार दशक लामो राजनीतिक अनुभव र गहिरो संगठनात्मक पकड
  • संघीय र प्रदेश सरकार दुवै तहको कार्यकारी अनुभव
  • भोजपुरमा स्थापित राजनीतिक पहिचान र पुरानो मताधार

प्रतिकूलता

  • अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजयको मनोवैज्ञानिक असर
  • पुरानो नेतृत्वप्रतिको मतदाताको असन्तोष
  • नयाँ पुस्ता र वैकल्पिक शक्तिसँगको प्रतिस्पर्धा
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

शेरधन राई को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित