आफ्ना बुबालाई हराएका उम्मेदवारसँग प्रतिस्पर्धा
रूपन्देहीको सैनामैना–१, वनकट्टाका सुभाष पाण्डे (विश्वदीप) २०४३ सालमा अर्घाखाँचीको अर्घातोषमा जन्मिएका हुन्। आफ्ना बुबा भक्तिप्रसाद पाण्डेको राजनीतिक आबद्धताका कारण उनी स्कुले जीवनदेखि नै राजनीतिमा जोडिए। माओवादी आन्दोलनका महत्त्वपूर्ण व्यक्तिमध्येका एक भक्तिप्रसाद पूर्व सांसद थिए।
पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक गरेका विश्वदीपले माओवादी र सात दल बीचको बहुचर्चित १२ बुँदे समझदारी, २०६२/६३ को दोस्रो जनआन्दोलन तथा शान्ति प्रक्रियाका संवेदनशील घडीमा माओवादी शीर्ष नेतृत्वको सचिवालयमा रहेर काम गरे।
उनले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निकट रहेर पनि काम गरे। माओवादी छाडेर डा. भट्टराईले आफ्नै नेतृत्वमा गठन गरेको तत्कालीन नयाँ शक्ति पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारीमा थिए। भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षक छन्। विश्वदीपले त्यसअघि नै भट्टराईको साथ छाडिसकेका थिए।
माओवादी केन्द्रहुँदै नेपाली कम्युनिष्ट पार्टीमा पुगेका उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो पटक प्रधानमन्त्री हुँदा युवा तथा सामाजिक विकास विज्ञको रूपमा काम गरे।
उनी नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभाग सदस्य छन्। पहिलो पटक प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्न लागेका विश्वदीपले रूपन्देही–२ बाट नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन्। उनले आफ्ना बुबा भक्तिप्रसाद पाण्डेलाई २०६४ मा पराजित गरेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रतिस्पर्धीको रूपमा पाएका छन्।
यो क्षेत्रमा नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा, रास्वपाका सुलभ खरेल लगायतले उम्मेदवारी दिएका छन्।
२०७४ मा एमाले र २०७९ मा कांग्रेससँग गठबन्धन गरेकाले माओवादीको आफ्नो उम्मेदवार थिएन। गत निर्वाचनमा एमालेका विष्णु पौडेलले २७ हजार १४७ मत पाएर विजयी हुँदा रास्वपाका गणेश पौडेल २५ हजार ७८१ मत सहित दोस्रो स्थानमा आएका थिए।
–टोपराज शर्मा
शुभाष पाण्डे को उम्मेदवारि कस्तो लागयो ?




