संगठनदेखि संसद्सम्मको परीक्षा दिँदै ढुंगाना
आफू युवाको प्रतिनिधिका रूपमा चुनावी मैदानमा उत्रिएको भन्दै उनले पदमा नहुँदा पनि जनताको पक्षमा काम गरेको दाबी गर्छन्।
०००
नेकपा एमाले कैलालीको नेतृत्व गरिरहेका यज्ञराज ढुंगाना २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट आफैं उम्मेदवार बनेका छन् । पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा पार्टी संगठनको नेतृत्व गर्दै आएका ढुंगानालाई एकातिर अन्य चार क्षेत्रका उम्मेदवारलाई जिताउनुपर्ने चुनौती छ भने अर्कोतर्फ आफ्नै जित सुनिश्चित गर्नुपर्ने दबाब पनि उत्तिकै छ।
६ फागुन २०३६ मा अछामको बान्नीगढी जयगढ गाउँपालिका अन्तर्गत सुगाली बाहुन गाउँमा जन्मिएका ढुंगाना पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन्।
कैलाली बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका ढुंगानाको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो।
२०५४ सालमा अनेरास्ववियुमा आबद्ध भएका उनी क्याम्पसको प्रारम्भिक कमिटी हुँदै जिल्ला र केन्द्रसम्म पुगे।
२०५७ सालमा अनेरास्ववियु कैलालीको अध्यक्ष बनेका ढुंगाना २०६३ सालमा संगठनको केन्द्रीय सदस्य भए। सोही वर्ष उनले कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको भूमिका पनि निर्वाह गरे ।
पार्टीको जिल्ला कमिटी सदस्य हुँदै प्रदेश सचिवालय सदस्यसम्मको जिम्मेवारी सम्हालेका उनी १२ फागुन २०८० मा सम्पन्न एमाले कैलाली जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भए । प्यानलसहितको प्रतिस्पर्धामा उनले प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गरेका थिए।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनका क्रममा कैलाली–५ मा भएको मतदानमा समेत ढुंगानाको प्यानलले अर्को पक्षलाई क्लीन स्वीप गरेको थियो।
२०७४ र २०७९ को निर्वाचनमा कैलाली–५ बाट एमालेका तर्फबाट नारदमुनी रानाले चुनाव लडे पनि दुवैपटक झिनो मतान्तरले पराजित भएका थिए ।
२०७९ मा कांग्रेसका डिल्ली राज पन्तले २१ हजार ३९२ मत पाउँदा रानाले २० हजार १३८ मत ल्याएका थिए।
यसपटक पनि रानासहित तीन जनाको नाम जिल्लाबाट सिफारिस भए पनि पार्टीले अन्ततः ढुंगानालाई टिकट दिएको हो ।
संसदीय राजनीतिमा पहिलो पटक प्रवेश गर्न लागेका ढुंगाना धनगढीका व्यवसायीसमेत हुन्। नवजीवन अस्पताल सञ्चालन गर्दै आएका उनी इलेक्ट्रोनिक स्कुटरको डिलर तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कलेजमा समेत संलग्न छन्।
ढुंगाना प्रतिनिधिसभामा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर मत मागिरहेका छन्।
आफू युवाको प्रतिनिधिका रूपमा चुनावी मैदानमा उत्रिएको भन्दै उनले पदमा नहुँदा पनि जनताको पक्षमा काम गरेको दाबी गर्छन्।
२०७९ को स्थानीय तह निर्वाचनअनुसार कैलाली–५ मा पर्ने धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालिकाका २ गरी २१ वडा छन् ।
धनगढीमा कांग्रेस बलियो देखिए पनि एमालेले पनि उल्लेख्य मत पाएको छ। २०७९ को प्रतिनिधिसभा समानुपातिकतर्फ कांग्रेसले १५ हजार ६१७ मत पाउँदा एमालेले १४ हजार ३२१ मत ल्याएको थियो। यही अंकगणितका बीच ढुंगाना आफ्नो संगठनात्मक पकड र व्यक्तिगत प्रभावलाई जितको आधार बनाउने प्रयासमा छन्।
अनुकूलता
- एमाले कैलाली जिल्ला अध्यक्षका रूपमा सक्रिय नेतृत्व
- क्याम्पसदेखि केन्द्रसम्मको सांगठनिक यात्रा
- व्यवसायिक र सामाजिक पहुँच
प्रतिकूलता
• पहिलो पटक संसदीय चुनाव
• कैलाली–५ मा कांग्रेसको ऐतिहासिक प्रभाव
• टिकट नपाएका आकांक्षीको व्यवस्थापन चुनौती
यज्ञराज ढुंगाना उपाध्याय को उम्मेदवारि कस्तो लागयो ?



