धारिलो अभिव्यक्ति, बलियो जनसम्पर्क
दुई पटकको चुनावी पराजयपछि अजम्बर राई काङमाङ यसपटक जिते संसद् प्रवेश गर्ने, हारे हारको ह्याट्रिक गर्ने मोडमा छन् ।
०००
भोजपुरमा राजनीतिक हस्तीका रूपमा चिनिए पनि अहिलेसम्म संसद् प्रवेश गर्ने अजम्बर राई काङमाङको प्रयास सफल हुन सकेको छैन ।
२०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका काङमाङ २०७४ सालमा भोजपुर प्रदेशसभा ‘क’ बाट प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिए, तर दुवै निर्वाचनमा पराजय बेहोरे ।
हाल नेपाली कम्युनिस्ट पार्टीको स्थायी कमिटी सदस्य रहेका काङमाङ फेरि संविधानसभा निर्वाचनमा होमिएका छन् ।
एमाले राजनीतिबाट उदाएका काङमाङ यसपटक जिते भने संसद् प्रवेश गर्नेछन्, हार बेहोरेमा उनको राजनीतिक यात्रामा पराजयको ‘ह्याट्रिक’ हुनेछ ।
आफ्नो सम्पूर्ण जीवन राजनीतिमा समर्पण गरे पनि अहिलेसम्म कुनै राजकीय पदमा पुग्न नपाएका काङमाङ २०२४ मंसिर १ गते टेम्केमैयुङ गाउँपालिका-४, नागीमा जन्मिएका हुन् । उनले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तथा एलएलबी अध्ययन गरेका छन् ।
स्पष्ट विचार, धारिलो अभिव्यक्ति र बलियो जनसम्पर्क भएका नेताका रूपमा चिनिने उनी २०३५ सालमा अनेरास्ववियुअन्तर्गत अन्नपूर्ण माध्यमिक विद्यालयको सह-प्राक सदस्यबाट औपचारिक राजनीतिमा प्रवेश गरेका हुन् ।
उनको राजनीतिक उचाइ तीव्र थियो। २०४० मा अखिल जिल्ला कमिटी भोजपुरको सचिव, २०४४ मा अखिल सुनसरी जिल्ला कमिटीको अध्यक्ष तथा अखिल अञ्चल कमिटी सदस्य बने । त्यसपछि पार्टी राजनीतिमा प्रवेश गर्दै २०४६ सालमा नेकपा एमाले जिल्ला कमिटी भोजपुरको सदस्य भए ।
२०४७ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक जिल्ला संयोजक बनेका उनी २०६५ सालमा सोही संगठनको केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेको केन्द्रीय सदस्य भए । २०६९ मा अशोक राईसँगै एमालेबाट अलग्गिएका काङमाङ संघीय समाजवादी हुँदै हाल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन् ।
पार्टी परिवर्तनको निरन्तरताका कारण कतिपयले उनलाई ‘अस्थिर’ नेताका रूपमा हेर्ने गरेका छन् भने कतिपयले उनलाई ‘विद्रोही चेत भएका वैचारिक नेता’को रूपमा परिभाषित गर्छन् ।
Battleground Analysis
अनुकूलता
- लामो राजनीतिक अनुभव र संगठन निर्माणमा गहिरो पकड
- स्पष्ट वैचारिक धारणा र बलियो वक्तृत्व क्षमता
- युवा आन्दोलनदेखि केन्द्रीय राजनीतिसम्मको यात्रा
प्रतिकूलता
- अघिल्ला दुई निर्वाचनमा पराजयको मनोवैज्ञानिक असर
- पटक-पटक पार्टी परिवर्तनले बनेको अविश्वास
- जनमतलाई जितमा रुपान्तरण गर्न नसकेको आलोचना
अजम्बर राई काङमाङ को उम्मेदवारि कस्तो लागयो ?



