Home Candidate भेषराज आचार्य

चार दशकको संगठन, आन्दोलन र समाजसेवाबाट संसद्‌तर्फ

इलाम २ उम्मेदवार

भेषराज आचार्य

नेपाली कांग्रेस
पुरुष , ६१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेका आचार्य वैचारिक स्पष्टता र संगठनात्मक निष्ठाका कारण चिनिन्छन्। उनको सार्वजनिक जीवन सधैं समाजकेन्द्रित रहँदै आएको छ।

०००

१५ साउन २०२१ मा इलाम नगरपालिका–११ डिहिटारमा जन्मिएका भेषराज आचार्य इलामकै माटोमा हुर्किएर त्यही माटोको राजनीतिमा स्थापित नाम हो। साविक सोयाक गाविसको डिहिटारमा जन्मिएर अहिले पनि इलाम नगरपालिका–११ का स्थायी बासिन्दा रहेका आचार्यको राजनीतिक यात्रा विद्यार्थी जीवनमै शुरु भयो।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेका उनी वैचारिक स्पष्टता र संगठनात्मक निष्ठाका कारण चिनिन्छन्। आचार्यको सार्वजनिक जीवन सधैं समाजकेन्द्रित रहँदै आएको छ।

२०३४ सालमा नेपाल विद्यार्थी संघ मार्फत राजनीतिमा प्रवेश गरेका आचार्य २०३५ सालमै आदर्श माध्यमिक विद्यालय, इलामको नेपाल विद्यार्थी संघ अध्यक्ष बने। त्यसको एक वर्षपछि २०३६ मा उनी विद्यार्थी युनियन अध्यक्षका उम्मेदवार बने भने त्यही वर्ष भएको ऐतिहासिक जनमतसंग्रहमा पनि सक्रिय सहभागी रहे।

प्रारम्भिक चरणदेखि नै आन्दोलन, संगठन र विचारलाई एकसाथ अघि बढाएका आचार्य २०४२, २०४८ र २०५२ सालमा नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भए। २०४९ सालमा जिल्ला विकास समितिमा नेपाली कांग्रेसको तर्फबाट सदस्य निर्वाचित हुँदा उनी स्थानीय विकासका सवालमा अझ सक्रिय देखिए।

२०५१ सालमा जिल्ला विकास समिति महासंघका संस्थापक केन्द्रीय सदस्य बनेका आचार्य २०५५ सालमा जिल्ला सहसचिवको जिम्मेवारीमा पुगे। त्यही समय उनको संगठनात्मक भूमिकाले विशेष प्रशंसा पायो। २०५६ मा मनोनित क्षेत्रीय सभापति र २०५७ मा निर्वाचित क्षेत्रीय सभापति बनेपछि उनी कांग्रेसको इलामे राजनीतिमा स्थायी स्तम्भका रूपमा स्थापित भए।

‍पार्टीको आठौं महाधिवेशनदेखि हालसम्म सबै महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यका रूपमा सहभागी हुँदै आएका छन्। २०७८ सालमा जिल्ला सभापतिको उम्मेदवार बनेर ४६ प्रतिशत मत प्राप्त गरे पनि उनी पराजित भए, तर त्यसले उनको राजनीतिक उपस्थिति कमजोर बनाएन।

२०४६ देखि २०६३ सम्मको आन्दोलनकाल आचार्यको राजनीतिक जीवनको निर्णायक समय रह्यो। लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा उनको सक्रियता, निरन्तरता र राजनीतिक दबाबका बीच पनि नझुकेको भूमिकाले उनलाई निष्ठावान् नेता भनेर चिनायो।

पटक–पटक चुनौती खेप्दै पनि चार दशकभन्दा बढी समय समाजसेवा, सामाजिक सद्भाव र स्थानीय विकासमा समर्पित रहनुले उनको छवि लोकप्रिय र भरोसायोग्य बनायो।

उनको संसदीय यात्रा भने २०७० सालको संविधानसभा निर्वाचनबाट शुरु भयो। इलाम–२ बाट उम्मेदवार बनेका आचार्य सो निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङसँग पराजित भए।

त्यसपछि पनि उनी स्थानीय विकास, सामाजिक एकता र शिक्षा समितिसँग जोडिएर सक्रिय रहे। अहिले फेरि उनी इलाम–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।

यसपटक उनीसँग सुवास नेम्वाङका छोरा नेकपा एमालेका सुहाङ नेम्वाङ सहित अन्य उम्मेदवार प्रतिस्पर्धामा छन्। २०८१ को उपनिर्वाचनमा कांग्रेसका डम्बरबहादुर खड्का सुहाङ नेम्वाङसँग ५ हजार ८३० मतको अन्तरले पराजित भएको पृष्ठभूमिमा यो निर्वाचनलाई चासोका साथ हेरिएको छ।

लोकप्रिय मानिने कांग्रेस नेता आचार्य यसपटक कुनै गठबन्धन विना चुनाव लडिरहेका छन्। पहिलो पटक संसद् प्रवेश गर्ने लक्ष्य सहित मैदानमा उत्रिएका उनले चुनाव जिते इलामको विकासमा योगदान दिने स्पष्ट योजना अघि सारेका छन्। सबै पुस्तालाई आकर्षित गर्न सक्ने नेताका रूपमा चिनिएका आचार्य आफूलाई भावी सांसदका रूपमा प्रस्तुत गरिरहेका छन्।

उनको अनुकूलता हेर्दा, चार दशकको निरन्तर राजनीतिक र सामाजिक अनुभव सबैभन्दा ठूलो शक्ति देखिन्छ। इलामेली समाजमा गहिरो जरा गाडेको लोकप्रियता र आन्दोलनदेखि संगठनसम्मको सक्रिय इतिहासले उनलाई भरोसायोग्य उम्मेदवार बनाएको छ। निस्वार्थ समाजसेवाको छविले उनको राजनीतिक यात्रालाई नैतिक आधार प्रदान गरेको छ।

तर, यही यात्रामा केही प्रतिकूलताहरू पनि छन्। पटक–पटक निर्वाचनमा पराजित हुनु उनको लागि चुनौतीको रूपमा देखिन्छ। राष्ट्रिय राजनीतिमा उनको पहिचान अझै सीमित रहनु अर्को कमजोरी हो। साथै, विगतमा शक्तिशाली उम्मेदवारसँगको हारको स्मृति अझै पनि इलाम–२ को राजनीतिक गणनामा प्रभाव पार्ने पक्ष मानिन्छ।

यिनै अनुकूलता र प्रतिकूलता बीच उभिएका भेषराज आचार्य यसपटक इलाम–२ बाट संसद्‌मा पुग्ने आफ्नो लामो आकांक्षालाई व्यवहारमा उतार्ने प्रयासमा छन्। चार दशकको राजनीतिक अनुभवलाई संसदीय भूमिकामा रूपान्तरण गर्न सक्ने या नसक्ने प्रश्नको उत्तर भने मतदाताको हातमा छ।

अनुकूलता

  • चार दशकभन्दा बढी समय विद्यार्थी राजनीति, संगठन र आन्दोलनमा निरन्तर सक्रिय
  • इलामेली समाजसँगको लामो सम्बन्ध, स्थानीय विकासमा संलग्न
  • लोकतान्त्रिक आन्दोलनदेखि पार्टी संगठनसम्म निष्ठावान

 प्रतिकूलता

  • संविधानसभा तथा पार्टीभित्रका केही निर्वाचनमा पटक–पटक पराजित
  • स्थानीयस्तरमा बलियो पकड हुँदाहुँदै पनि राष्ट्रिय राजनीतिमा पहिचान सीमित
  • विगतमा चुनाव जितेका व्यक्ति नै प्रतिस्पर्धी
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

भेषराज आचार्य को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित