जित–हारको अनुभव बोकेर प्रतिस्पर्धामा
०००
नेकपा एमालेले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर-१ मा पुन: एक पटक आफ्ना अनुभवी र प्रभावशाली नेता भूमिप्रसाद त्रिपाठीलाई चुनावी मैदानमा उतारेको छ । विद्यार्थी राजनीतिबाट खारिएर आएका त्रिपाठी धादिङ एमालेमा लामो समय नेतृत्वमा रहेका व्यक्ति हुन् ।
२०२२ सालमा धादिङको बेनिघाट रोराङ गाउँपालिका (साबिकको बेनिघाट गाविस) मा जन्मिएका त्रिपाठीको राजनीतिक यात्रा २०३६ सालको जनमत संग्रहताकाबाट सुरु भएको हो । आदर्श माध्यमिक विद्यालय, गजुरीमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य बनेर राजनीतिमा होमिएका उनी २०४९ सालमा काठमाडौंको प्रतिष्ठित नेपाल ल क्याम्पसको स्ववियु सचिव निर्वाचित भएपछि राष्ट्रिय राजनीतिको केन्द्रमा देखिएका थिए ।
त्रिपाठीले पार्टी संगठनमा करिब साढे चार दशक लामो समय व्यतित गरिसकेका छन् । २०५५ सालमा एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष र जिल्ला कमिटी सदस्य बनेका त्रिपाठी अध्ययन सकेर जिल्ला फर्केपछि पनि पार्टीकै राजनितिमा संगठित भए ।
२०६६ देखि २०७१ सालसम्म एमाले धादिङको सचिव, उपाध्यक्ष हुँदै २०७१ सालमा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका त्रिपाठीले झन्डै १२ वर्ष धादिङमा एमालेको नेतृत्व सम्हालेर जिल्लामा पार्टीलाई मजबुत बनाउन सफल भए ।
हाल उनी एमालेको केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्जको भूमिकामा छन् ।
त्रिपाठीको संसदीय चुनावी यात्रा उतार चढावपूर्ण तर उत्साहजनक छ । संघिय संरचनामा देश गएपछि २०७४ सालको पहिलो आमनिर्वाचनमा तत्कालीन वाम गठबन्धनका तर्फबाट त्रिपाठीले भारी मतसहित चुनाव जितेका थिए । उनले ४९ हजार १ सय २१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वनाथ रिमालले २१ हजार ७ सय ७१ मत मात्र पाएका थिए ।
पछिल्लो २०७९ को निर्वाचनमा भने उनी तत्कालीन एकीकृत समाजवादी पार्टीका राजेन्द्रप्रसाद पाण्डेसँग पराजित भए । सो निर्वाचनमा पाण्डेले ३६ हजार १८ मत ल्याएर विजयी हुँदा त्रिपाठीले २७ हजार ९ सय ९७ मत मात्रै प्राप्त गरेका थिए ।
कानुन र राजनीतिशास्त्र दुवैमा दखल राख्ने त्रिपाठी एक बौद्धिक नेता मानिन्छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । राजनीतिमा आउनुअघि र राजनीतिको क्रममा पनि उनी कानुन व्यवसायी (अधिवक्ता) का रूपमा सक्रिय रहे, जसले उनलाई नीति निर्माण र कानुनी जटिलता बुझ्न सहयोग पुर्याएको छ । विगतको संसदीय अनुभव र जिल्लाको भूगोलसँगको गहिरो साक्षात्कारका कारण २०८२ को निर्वाचनमा त्रिपाठीलाई एमालेको बलियो खम्बाको रूपमा हेरिएको छ ।
अनुकूलता
- लामो राजनीतिक अनुभव र संगठनात्मक नेतृत्व
- संसदीय अनुभव र चुनावी जितको इतिहास
- कानुनी तथा नीतिगत दक्षता
प्रतिकूलता
- पछिल्लो निर्वाचनमा पराजय
- बलियो प्रतिस्पर्धीको उपस्थिति
- लामो राजनीतिक यात्राप्रतिको जनअपेक्षा
भूमिप्रसाद त्रिपाठी को उम्मेदवारि कस्तो लागयो ?


