कम्युनिस्ट गढ तोड्ने लक्ष्य
धादिङ क्षेत्र नम्बर-१ को भूगोल, जनजीवन र विकासका आवश्यकतालाई सूक्ष्म रूपले बुझेका रिजालले यस पटक ‘नीति निर्माणमा युवाको हस्तक्षेप र क्षेत्रको विकास’ लाई मुख्य एजेन्डा बनाएका छन् ।
०००
नेपाली कांग्रेसको राजनीतिमा बौद्धिक, प्रष्ट र जुझारु छवि बनाएका युवा नेता कृष्ण रिजाल धादिङ-१ बाट २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार छन् । अहिलेसम्म कांग्रेसले जित हात पार्न नसकेको यो क्षेत्रमा गगन थापा सँगै विद्यार्थी राजनीतिमा उदाएका युवा नेता रिजालको उम्मेद्वारीले कांग्रेसजनको मनोबल बढाएको छ ।
रिजाल, विद्यार्थी राजनीतिदेखि केन्द्रीय तहको नीति निर्माणसम्मको अनुभव संगालेका एक शालिन व्यक्ति हुन् ।
२०३९ सालमा धादिङको थाक्रे गाउँपालिका-२ मा जन्मिएका रिजालले प्रारम्भिक शिक्षा गाउँबाटै सुरु गरे पनि उच्च शिक्षाका लागि उनी काठमाडौं छिरेका थिए । उनले दर्शनशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र र कानुन जस्ता गहन विषयमा विशेष रुचि राख्दै स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् ।
रिजालको राजनीतिक यात्रा २०५२ सालमा संस्कृत माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघ (नेविसंघ) सचिवबाट सुरु भएको हो । झन्डै तीन दशक लामो राजनीतिक यात्रामा उनले थुप्रै उतारचढाव भोगेका छन् ।
२०५९ सालमा नेविसंघको जिल्ला उपाध्यक्ष र २०६० सालमा काठमाडौंको प्रतिष्ठित बाल्मीकि क्याम्पसको स्ववियु सचिव बनेर उनले विद्यार्थी आन्दोलनको सफल नेतृत्व गरे । रिजालले २०६७ सालमा क्षेत्र नं ३ को क्षेत्रीय सचिव र २०७२ सालमा क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्दै धादिङ कांग्रेसको संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
२०७८ सालमा महाधिवेशन प्रतिनिधि र २०८० सालमा महासमिति सदस्य चुनिएका रिजाल हाल नेपाल तरुण दलको केन्द्रीय सदस्यको रूपमा युवालाई संगठित गरिरहेका छन् ।
कृष्ण रिजाल केवल चुनावी मैदानका खेलाडी मात्र होइनन्, उनी एक बौद्धिक विश्लेषक पनि हुन् । उनले ‘विचार विशेष’ पत्रिकाको कार्यकारी सम्पादकका रूपमा काम गर्दै कांग्रेसको ऐतिहासिक दस्तावेजहरूको संकलनमा ठूलो योगदान दिएका छन् ।
विगतमा १० वर्षसम्म प्राध्यापन पेशामा संलग्न रहेका रिजालले सामाजिक र राजनीतिक अनुसन्धानका क्षेत्रमा समेत आफ्नो दक्षता प्रदर्शन गरेका छन् । उनलाई नजिकबाट चिन्नेहरू उनलाई 'निडर र प्रष्ट वक्ता' का रूपमा व्याख्या गर्छन्, जो तर्क र तथ्यका आधारमा आफ्ना कुरा राख्न माहिर छन् ।
हुन त रिजाल पहिलो पटक प्रतिनिधिसभाको प्रत्यक्ष प्रत्याशी बनेका हुन्, तर चुनावी व्यवस्थापनमा उनी निकै अनुभवी मानिन्छन् । २०७० सालपछिका सबै स्थानीय र संसदीय निर्वाचनहरूमा उनले धादिङमा निर्वाचन परिचालनको मुख्य जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् । संगठनभित्रको आन्तरिक व्यवस्थापन र विपक्षीसँगको राजनीतिक प्रतिस्पर्धामा उनी चतुर रणनीतिकार मानिन्छन् ।
धादिङ क्षेत्र नम्बर-१ को भूगोल, जनजीवन र विकासका आवश्यकतालाई सूक्ष्म रूपले बुझेका रिजालले यस पटक ‘नीति निर्माणमा युवाको हस्तक्षेप र क्षेत्रको विकास’ लाई मुख्य एजेन्डा बनाएका छन् । उनी भन्छन्, ‘राजनीति केवल सत्ता प्राप्तिको माध्यम होइन, यो त समाज रूपान्तरणको दर्शन र सेवाको मार्ग हो ।’
विगतको कम्युनिस्टको गढको रूपमा परिचित धादिङ क्षेत्र नं १ मा नेपाली कांग्रेसको उदय गराउने सक्ने नेताको रूपमा रिजाललाई हेरिएको छ ।
अनुकूलता
- दीर्घ राजनीतिक अनुभव र संगठनात्मक पकड
- बौद्धिक छवि र नीतिगत समझ
- निर्वाचन परिचालन र रणनीतिक अनुभव
प्रतिकूलता
- प्रत्यक्ष संसदीय निर्वाचनको पहिलो अनुभव
- परम्परागत रूपमा कमजोर पार्टी आधार
- उच्च अपेक्षा र परिणामको दबाब
कृष्ण रिजाल को उम्मेदवारि कस्तो लागयो ?


