प्रत्यक्ष निर्वाचनमा पहिलो परीक्षा दिँदै विनीता
जेनजी आन्दोलनपछि गठित नागरिक सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा हुनुअघिसम्म जुम्लाकी विनीता कठायत प्रतिनिधिसभा सदस्य थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीबाट संसद् पुगेकी विनीता यसपटक भने प्रत्यक्षतर्फको उम्मेदवार छिन्, जुम्लाबाटै ।
२०५२ सालमा जुम्ला सदरमुकाम खलङ्गामा जन्मिएकी कठायत २७ वर्षकै उम्मेरमा प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । रास्वपाले उनलाई पिछडिएको क्षेत्रको महिला कोटाबाट संसद् पुर्याएको थियो । रास्वपाले समानुपातिकको बन्दसूचीबाट सांसद बनेकाहरूलाई नदोहोर्याउने विधि तय गरेपछि उम्मेदवार बनेकी विनीता जिल्लाका कुनाकन्दरा पुगिरहेकी छन् । मतदाता भेटिरहेकी छन् ।
राजनीतिमा होमिनुअघि भने उनी टेलिभिजनको टिममा बसेर काम गरिरहेकी थिइन् । रवि लामिछाने राजनीतिमा आउनुअघि ‘ग्यालेक्सी फोरके टेलिभिजन’को प्रबन्ध निर्देशक थिए । उनैले सञ्चालन गर्ने कार्यक्रम ‘सिधा कुरा’ टिममा विनीताको आबद्धता थियो । टेलिभिजनको कर्म छोडेर रवि राजनीतिमा होमिएपछि विनीता पनि त्यतै लागिन् । फलस्वरूप, उनी छोटो समयमै समानुपातिक सूचीबाट संसद् पुग्न सफल भएकी थिइन् ।
पुराना दलहरूको गतिविधिबाट असन्तुष्ट भएर आफू राजनीतिमा आएकी उनको दावी छ । रास्वपाबाट समानुपातिक सांसद् बनेपछि विनीताले कर्णालीका समस्याहरूबारे पटकपटक सदनमा विषय उठाइन् । संसद्मा उनी कहिले खस भाषामा बोल्थिन, कहिले खस समुदायको परम्परागत पोसाकमा संसद् पुग्थिन । यसलाई उनले यसपटकको निर्वाचनमा जितको प्रमुख आधार मानेकी छन् ।
काठमाडौंमा कक्षा ९ सम्मको अध्ययन गरेकी उनले एसएलसी भने जुम्लाबाटै उत्तीर्ण गरेकी हुन् । भारत सरकारको छात्रवृत्तिमा देहरादूनबाट राजनीतिशास्त्रमा प्लस टु गरिन् । त्यसपछि उनले मुम्बईको ‘जी इन्स्टिच्युट अफ मिडिया आर्ट्स’ बाट फिल्म निर्माणमा डिप्लोमा हासिल गरेकी छन् ।
अनुकूलता : प्रतिनिधिसभा सदस्य भएर काम गरेको अनुभव । महिला र युवा पुस्ताको प्रतिनिधित्व ।
प्रतिकूलता : अध्ययन तथा पेशागत कारणले अधिकांश समय जिल्ला बाहिर रहेकाले भूगोल, जनसम्पर्कको अभाव । अन्य राजनीतिक दलहरूबाट पनि युवा उम्मेदवार हुन् ।
व्यक्तिगत विवरण
नाम: विनिता कठायत
जन्म: २०५२ साल
जन्मस्थान : जुम्ला सदरमुकाम खलङ्गा
स्थायी ठेगाना: चन्दननाथ नगरपालिका, जुम्ला
शिक्षा: डिप्लोमा
राजनीतिक टाइमलाइन
२०७९ : राष्ट्रिय स्वतन्त्र पार्टीमा संलग्न
२०७९ : पिछडिएको क्षेत्रको महिला कोटाबाट समानुपातिक सांसद
२०८२ : प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार
विनीता कठायत को उम्मेदवारि कस्तो लागयो ?



