प्रदेश सभाबाट प्रतिनिधिसभा पुग्ने दौड
२०१५ सालमा अर्घाखाँचीमा जन्मिएका दधिराम न्यौपानेले निम्नमाध्यमिक तहसम्म गाउँकै विद्यालयमा पढे । १४ वर्षको उमेरमै भारतमा रोजगारीको खोजीमा गएका न्यौपानेले हिमाचल प्रदेश बोर्ड अफ स्कूल एजुकेशनबाट आईए पूरा गरे ।
सामाजिक असमानता, वर्गीय विभेदका भुक्तभोगी न्यौपाने भारतमा रोजगारीकै सिलसिलामा कम्युनिष्ट विचारधाराप्रति आकर्षित भएका थिए ।
२०३४ सालदेखि तत्कालीन चौथो महाधिवेशन (चौम) को पार्टी सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका न्यौपाने २०३६ देखि नेकपा (मसाल), पानीपथ जिल्ला (भारत)को सचिव भए । २०४० देखि भारत शाखा सदस्य, २०४२–२०४४ सम्म सेती–महाकाली–भेरी–कर्णाली क्षेत्रीय ब्युरो सदस्य, २०४५–२०४७ सम्म लुम्बिनी क्षेत्रीय ब्युरो सदस्य भएर काम गरे ।
संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला अध्यक्ष र अखिल नेपाल किसान संघको केन्द्रीय सदस्य समेत भएर काम गरेका न्यौपाने २०४८–२०५१ सम्म नेकपा एकता केन्द्रको लुम्बिनी–नारायणी क्षेत्रीय ब्युरो सदस्य थिए । उनले २०५२–२०६३ सम्म नेकपा (माओवादी) रूपन्देही जिल्ला सचिव, गण्डक ब्युरो कार्यालय सचिव र नवलपरासी इन्चार्ज भएर काम गरे ।
२०६४–२०६९ सम्म माओवादीको रूपन्देही जिल्ला इन्चार्ज, २०७०–२०७५ सम्म माओवादी केन्द्रीय सदस्य तथा पोलिटब्यूरो सदस्य, २०७५–२०७८ सम्म एमाले–माओवादी एकतापश्चात् नेकपाको केन्द्रीय सदस्य भए । एमालेको दशौं महाधिवेशनपछि पोलिटब्युरो सदस्य र एघारौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
२०४५ फागुनमा राजनीतिक आन्दोलनका क्रममा गिरफ्तार भएर एक महिना हिरासत र ६ महिना कारागार बसेका न्यौपाने २०६८ मा नेपाल खानेपानी संस्थान, केन्द्रीय अध्यक्ष, २०७४ मा रूपन्देही क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भए । प्रदेश सभाको अर्थ–उद्योग–पर्यटन समितिको सभापति भएर काम गरेका न्यौपाने २०७९ को प्रदेश सभा सदस्य चुनावमा भने पराजित भए । २०७९ मा एमालेका लीला गिरी मुख्यमन्त्री हुँदा न्यौपाने प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएर काम गरे ।
लामो राजनीतिक संघर्षबाट खारिएको सरल र इमानदार नेताको छवि बनाएका न्यौपाने प्रदेश सभा सदस्यको अनुभवपछि प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । सूचनाप्रविधिको प्रयोग र सामाजिक सञ्जालमा युवा उम्मेदवार जस्तो पोख्त हुन नसक्नु न्यौपानेको कमजोर पक्ष हो ।
यसअघि एमाले सचिव छविलाल विश्वकर्माले लगातार दुई पटक जितेको यो क्षेत्रमा यसपटक न्यौपानेले नेपाली कांग्रेसका हीरा केसी, रास्वपाका सुनिल लम्साल, राप्रपाका प्रज्ज्वल बोहरा, नेकपाका घनश्याम यादव लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।
गत निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले १९ हजार १२५, रास्वपाले १५ हजार ८००, एमालेले १५ हजार ७२४, राप्रपाले ११ हजार २४३, नागरिक उन्मुक्ति पार्टीले १० हजार १, जनमत पार्टीले ३ हजार ७६३ र माओवादी केन्द्रले ३ हजार ७३ मत पाएको थियो ।
प्रस्तुतीः टोपराज शर्मा
दधिराम न्यौपाने को उम्मेदवारि कस्तो लागयो ?



