जिविस सभापतिको अनुभव बोकेर प्रतिनिधिसभा प्रवेशको योजना
बहुदलीय व्यवस्था स्थापनापछि गठन भएको स्थानीय निकायमा उनले जिल्लाकै नेतृत्व गरे । २०४९ सालमा तत्कालीन धनकुटा जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भएका पौडेलले २०५४ सालसम्म सफल कार्यकाल पूरा गरेका थिए ।
०००
नेपाली कम्युनिस्ट आन्दोलनका अनुभवी नेता, शिक्षाविद् तथा विकासप्रेमी राजनीतिज्ञका रूपमा धर्मराज पौडेल परिचित छन् । जनप्रतिनिधिका रूपमा कार्यरत रहँदा इमान्दार छवि बनाएका नेतामध्ये उनी पनि पर्छन् ।
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. २ मारेकमा २०१७ साल असोज २४ गते बुबा उद्धवमणि पौडेल र आमा मञ्जु पौडेलको कोखबाट जन्मिएका पौडेल २०३५ सालदेखि कम्युनिस्ट आन्दोलनमा आबद्ध भएका हुन् ।
त्यसपछि उनले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले) का लागि सम्पर्क व्यक्ति तथा सेल्टर व्यवस्थापन सहयोगीको रूपमा भूमिगत अवस्थामै काम गरेका थिए ।
२०४७ सालमा उनले तत्कालीन नेकपा (माले) बाट औपचारिक रूपमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए ।
विद्यार्थी, शिक्षक र युवा आन्दोलनमा सक्रिय पौडेल अनेरास्ववियु धनकुटाको सचिव हुँदै २०४५ सालमा धनकुटा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा निर्वाचित भएका थिए । त्यसपछि २०४८ र २०५८ सालमा एमाले धनकुटाको उपसचिवको जिम्मेवारी सम्हालेका थिए ।
२०६१ सालमा नेकपा एमाले कोशी अञ्चल समन्वय समितिको सचिवालय सदस्य बनेका पौडेल पछि एमालेको कोशी प्रदेश सल्लाहकार परिषद सदस्य तथा प्रदेश कमिटी सदस्यसमेत बने ।
२०७८ सालमा एमाले विभाजनपछि उनी एकीकृत समाजवादी पार्टीको कोशी प्रदेश कार्यालय सदस्य हुँदै केन्द्रीय सदस्य बने । हाल माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरू एकीकरण भई बनेको नेपाली कम्युनिस्ट पार्टीमा उनी केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेका छन् ।
ग्रामीण विकास विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण पौडेलले २०४० देखि २०४३ सालसम्म गाउँकै धर्मोदय निम्न माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्य गरेका थिए ।
बहुदलीय व्यवस्था स्थापनापछि गठन भएको स्थानीय निकायमा उनले जिल्लाकै नेतृत्व गरे । २०४९ सालमा तत्कालीन धनकुटा जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भएका पौडेलले २०५४ सालसम्म सफल कार्यकाल पूरा गरेका थिए । यस क्रममा उनले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको बोर्ड सदस्यलगायत विभिन्न महत्त्वपूर्ण जिम्मेवारी पनि निर्वाह गरेका थिए ।
२०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा पौडेल तत्कालीन धनकुटा क्षेत्र नं. २ बाट एमालेका तर्फबाट उम्मेदवार बनेका थिए । सो निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादीका हरिराज खेवासँग पराजित भएका थिए ।
राजनीति, शिक्षा र विकासलाई जीवनको मूल ध्येय बनाउँदै आएका पौडेल समाज परिवर्तन, लोकतन्त्रको सुदृढीकरण र समावेशी विकासका पक्षमा आज पनि सक्रिय छन् । पार्टी संगठन निर्माण, राजनीतिक संघर्ष र जनआन्दोलनका क्रममा उनले पटक–पटक हिरासत र जेल जीवनसमेत भोगेका छन् ।
पञ्चायती व्यवस्था विरोधी गतिविधिको अभियोगमा २०४१ साल मंसिरमा धनकुटा प्रहरीले उनलाई ८ दिन हिरासतमा राखेको थियो । यस्तै २०४५ साल फागुनमा मोरङ प्रहरीले ४ दिन तथा २०४६ साल माघमा झापा प्रहरीले ९ दिन हिरासतमा राखी पछि झापा कारागारमा २ महिना राजनीतिक बन्दी बनाएको थियो ।
अनुकूलता
- कम्युनिस्ट आन्दोलन, संगठन निर्माण र जनआन्दोलनको लामो अनुभव
- जिविस सभापतिसहित स्थानीय शासन र विकासमा प्रत्यक्ष नेतृत्व गरेको पृष्ठभूमि
- इमान्दार छवि, राजनीतिक त्याग र जेल जीवन भोगेको विश्वसनीय इतिहास
प्रतिकूलता
- लामो समयको राजनीतिक यात्रा भए पनि पछिल्ला निर्वाचनमा पराजयको अनुभव
- वाम एकताको नयाँ संरचनालाई जनतामाझ प्रभावकारी रूपमा स्थापित गर्नुपर्ने चुनौती
- नयाँ पुस्ताका मतदातासँग राजनीतिक सन्देश थप सशक्त रूपमा जोड्नुपर्ने आवश्यकता
धर्मराज पौडेल को उम्मेदवारि कस्तो लागयो ?


