जित जोगाउने बाटोमा गठबन्धनको तगारो
नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कालाई सुर्खेतमा पहिलो पटक हारको स्वाद चखाउने नेता हुन्, नेकपा एमालेका ध्रुवकुमार शाही । २०४८ यता सुर्खेत–१ बाट निरन्तर चुनाव जित्दै आएका खड्काको अविराम संसदीय यात्रालाई २०७४ सालमा शाहीले अवरुद्ध पारेका थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार शाहीले ३६ हजार ७५९ र कांग्रेसका खड्काले ३३ हजार ३७७ मत पाएका थिए । जित–हारको अन्तर ३ हजार ३८२ भोट रह्यो ।
एमालेले सुर्खेत–१ मा २०७९ सालको चुनावपमा पनि खड्का विरुद्ध शाहीलाई नै उतारेको थियो । तर खड्काको तत्कालीन सत्तारूढ गठबन्धनको बल खड्कालाई भारी पर्यो । खड्काले ४२ हजार ६०७ मत ल्याउँदा शाही ३० हजार ९८८ मतमै खुम्चिएर निकटतम् प्रतिद्वन्द्वी बने ।
विशेष महाधिवेशनपछिको परिस्थितिमा २१ फागुनमा हुने चुनावमा पूर्णबहादुर खड्का चुनावी मैदानमा छैनन् । यसपटक शाहीसँग खड्काका भाइ विष्णुबहादुरले प्रतिस्पर्धा गर्नेछन् ।
२०२७ जेठमा सुर्खेतको मालारानीमा जन्मिएका शाहीले दुई वर्षमै बाबु गुमाए । उनको बाल्यकाल अभाव र संघर्षमा बित्यो । पढाइमा तेज भए पनि सहज रूपमा विद्यालय जान पाएनन् । जेनतेन एसएलसी उत्तीर्ण भएपछि पैसाको जोहो गर्न उनी शिक्षक बने ।
उनी तीन वर्ष मास्टरी गरेर २०४५ सालमा नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए । त्यहाँ अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएपछि शाहीको कम्युनिस्ट राजनीतिक यात्रा सुरु भयो । पछि उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरे ।
२०५० सालबाट पार्टी राजनीतिमा आएका उनी २७ वर्षको उमेरमा २०५४ सालको स्थानीय निकाय निर्वाचन लडेर मासहारे गाविसको अध्यक्षमा निर्वाचित भए ।
अर्को वर्ष शाही पार्टीको सुर्खेत जिल्ला कमिटी सदस्य र २०६३ मा उपसचिवमा निर्वाचित भए । २०६६ मा जिल्ला कमिटी अध्यक्षमा उठेका उनलाई नवराज रावतले पराजित गरे । २०७० मा उनै रावतलाई पराजित गरे सुर्खेत एमालेको अध्यक्ष भए, शाही । २०७४ मा पनि अध्यक्षमा आफ्नो कार्यकाल दोहोर्याउन सफल भए उनी ।
एमाले सुर्खेतको राजनीतिमा सफलता हात पार्दै आएका शाही अहिले एमाले कर्णाली प्रदेश कमिटी सचिव हुन् ।
अनुकूलता/प्रतिकूलता
यसपटक शाहीको विरुद्ध कुनै गठबन्धन छैन । यो उनको अनुकूलता हो । पूर्णबहादुर मैदानमा छैनन् र संसदीय अनुभवमा नयाँ रहेका विष्णुबहादुर कांग्रेस महाधिवेशनको पृष्ठभूमिमा विशेष अवस्थामा चुनावी मैदानमा छन् ।
यो परिस्थितिले शाहीलाई सहज प्रतिस्पर्धाको मैदान उपलब्ध गराउनेछ । तर, जेनजी आन्दोलनपछिको अवस्थामा पार्टीले लिएको लाइनको पक्षमा उभिँदै नयाँ पुस्ताको मत तान्ने चुनौती उनीसँग छँदैछ ।
ध्रुवकुमार शाही को उम्मेदवारि कस्तो लागयो ?



