शैक्षिक सुधारका अभियन्ता राजनीतिमा
२०६५ सालदेखि २०७२ सालसम्म सामुदायिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत भण्डारीले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा समेत योगदान पुर्याएका छन् ।
०००
धनकुटा जिल्लाको राजनीतिमा सक्रिय तथा उदाउँदै गरेका नेताका रूपमा दिनेश भण्डारी परिचित नाम हुन् । लामो समयदेखि सामाजिक अभियान र जनस्तरका गतिविधिमा संलग्न भण्डारी स्थानीय तहबाटै नेतृत्व विकास गर्दै आएका व्यक्ति हुन् ।
बुबा धनबहादुर भण्डारी र आमा जगमाया भण्डारीका सुपुत्र दिनेश भण्डारीको जन्म २०४५ साल मंसिर ४ गते तत्कालीन मूर्तिढुंगा गाविस (हाल महालक्ष्मी नगरपालिका वडा नं. ८) मा भएको हो । उनले गाउँकै जाल्पादेवी प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरी जनता निम्न माध्यमिक विद्यालय हुँदै राम माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् ।
२०६१ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका भण्डारीले त्यसपछि धनकुटाको भाषा माध्यमिक विद्यालयबाट उच्च माध्यमिक तह पूरा गरे । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायमा उच्च शिक्षा हासिल गरेका छन् । विद्यार्थी जीवनदेखि नै सामाजिक न्याय, सुशासन र परिवर्तनको पक्षमा आवाज उठाउँदै आएका उनी सोही समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका थिए ।
२०६५ सालदेखि २०७२ सालसम्म सामुदायिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत भण्डारीले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा समेत योगदान पुर्याएका छन् ।
यसैबीच, २०६६ सालमा धनकुटा नगरपालिका वडा नं. ३ मा माध्यमिक तहसम्मको अध्यापन गराउने उद्देश्यले ‘मोडल अंग्रेजी विद्यालय’ स्थापना गरेका थिए ।
२०७६ सालमा तुलसीमेहर विद्यालयका सञ्चालक बनेका भण्डारी शिक्षाको क्षेत्रमा नेतृत्वदायी व्यक्तित्वका रूपमा चिनिन्छन् । विद्यालय सञ्चालकका रूपमा रहँदा उनले १८ प्रतिशत विद्यार्थीलाई निःशुल्क शिक्षा, करिब १०० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्नुका साथै २०७२ सालको भूकम्पदेखि कोरोना कालसम्म सामाजिक–आर्थिक सहयोग गर्दै आएका छन् । साथै, आमा समूह, खेलकुद क्लब, सरकारी विद्यालय, टोल विकास संस्था तथा विपद् र घातक रोगबाट पीडितहरूलाई आर्थिक सहयोग गर्दै आएका छन् ।
भण्डारी राष्ट्रिय निजी विद्यालय संगठन (नेसनल प्याब्सन) धनकुटा जिल्ला कार्यसमितिमा दुई कार्यकाल सचिव तथा दुई कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहे । त्यस्तै, सन् २०२१ देखि २०२४ सम्म धनकुटा सिटी जेसीजमा साधारण सदस्यदेखि महासचिवसम्मको भूमिका निर्वाह गरेका उनले सन् २०२५ का लागि धनकुटा जेसीज अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
जेनजी आन्दोलन र युवाहरूका जायज मागलाई आत्मसात गर्दै, केवल भोट माग्ने र आरोप–प्रत्यारोपमै सीमित पुरानो राजनीतिक संस्कृतिभन्दा माथि उठ्ने लक्ष्यसहित उनले पहिलो पटक राजनीतिमा प्रवेश गरी आगामी २१ फागुनको निर्वाचनमा सहभागी भएको बताएका छन् ।
अनुकूलता
- सामाजिक सेवा, शिक्षा र युवामैत्री अभियानमा लामो अनुभव
- स्थानीय स्तरमै बसेर नेतृत्व विकास गरेको पृष्ठभूमि
- शिक्षा, रोजगार र सामाजिक सहयोगमा प्रत्यक्ष योगदानको रेकर्ड
प्रतिकूलता
- प्रत्यक्ष राजनीतिक अनुभवको कमी
- स्थापित राजनीतिक शक्ति र अनुभवी उम्मेदवारसँग प्रतिस्पर्धा
- नयाँ राजनीतिक सोचलाई मतदातामाझ प्रभावकारी रूपमा स्थापित गर्नुपर्ने दबाब
दिनेश भण्डारी को उम्मेदवारि कस्तो लागयो ?

