Home Candidate दिपन कुमार श्रेष्ठ

जिल्लामै बसेर खारिएका युवा नेता पहिलो प्रतिस्पर्धामा

संखुवासभा - १ उम्मेदवार

दिपन कुमार श्रेष्ठ

नेपाली कांग्रेस
पुरुष , ४६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

कोशी प्रदेशको उत्तरी भूभागमा पर्ने संखुवासभा जिल्लाको भूगोल निकै दुर्गम छ । सबैभन्दा होचो अरुण उपत्यकादेखि मकालु हिमालसम्मको रहेको भूगोलमा बसेर राजनीतिमा निरन्तरा दिइरहेका व्यक्ति हुन्- दिपनकुमार श्रेष्ठ । यसपटक उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर चुनावी मैदानमा आएका छन् ।

२०३५ साल माघ १८ गते सदरमुकाम खाँदबारीमा जन्मिएका श्रेष्ठ ज्ञान, अनुशासन र लोकतान्त्रिक मूल्यको संगममा हुर्किए ।

रामबहादुर श्रेष्ठ र कल्पना श्रेष्ठको परिवारमा जन्मिएका उनी बाल्यकालदेखि नै शिक्षा र सामाजिक उत्तरदायित्वप्रति सचेत थिए ।

पिप्लेको आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा देशको राजनीतिक तापक्रम बढ्दै थियो । २०४६ सालको जनआन्दोलन चर्किँदै गर्दा उनी विद्यालयस्तरमै नेपाली विद्यार्थी संघको जुनियर रेस सभापति बने । उनको राजनीतिक यात्राको सुरुवाती विन्दु त्यही थियो ।

उनले लोकतान्त्रिक आन्दोलनहरूमा सहभागी हुँदा गिरफ्तारी पनि भोगे । तर जिल्लामै बसेर संगठन निर्माणमा सक्रिय बने । नेविसंघ जिल्ला अध्यक्ष हुँदै पार्टीको सभापति समेत बनेका श्रेष्ठ हालै भएको कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका छन् ।

उनले जिल्लामा बसेर संगठन विस्तार मात्र गरेनन्, पार्टीले सामना गरेका कठिन मोडहरूमा अग्रमोर्चामा उभिए। प्रतिगमनविरुद्धका आन्दोलनका क्रममा पटक–पटक पक्राउ पर्नु पर्‍यो

। २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा त उनी तीन महिनासम्म पक्राउ पुर्जी सहित हिरासतमा रहे। तर दबाब, डर वा प्रलोभनले उनको विचार डगमगाउन सकेन।

राजनीतिसँगै अध्ययनलाई निरन्तरता दिएका उनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट ग्रामीण विकासमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।

उनको समाज, विकास र राज्यको भूमिकालाई सैद्धान्तिक र व्यवहारिक दुवै तहमा बुझ्ने अवसर पाएका छन् ।

नेपाली कांग्रेसभित्र उनको यात्रा क्रमशः उकालो हो । नेविसंघको जिल्ला सभापति, कांग्रेसको जिल्ला सचिव, जिल्ला सभापति हुँदै हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगेका उनी पार्टीभित्र अनुशासित, संगठनप्रेमी र सहमतिमूलक राजनीतिका पक्षधर मानिन्छन्।

स्थानीय कार्यकर्ताको भावना र केन्द्रीय नेतृत्वको रणनीतिबीच सन्तुलन मिलाउन सक्ने क्षमता उनको बलियो पक्ष हो । यसैले उनले यसपटक पार्टीभित्र उठेको रुपान्तरणको एजेण्डामा सहमति जनाए र गगन थापाहरूले छेडेको विद्रोहमा साथ थिए ।

यद्यपि कतिपयले उनलाई अत्यधिक संयमित, कम आक्रामक अभिव्यक्ति दिने नेता भनेर आलोचना पनि गर्छन् ।

दिपनकुमार श्रेष्ठ केवल चुनाव जित्ने आकांक्षामा सीमित छैनन् । संखुवासभाको आवाज, पहाडका पीडा, विकासका सम्भावना र युवाको आकांक्षा संसद्मा पुर्‍याउने लक्ष्यकासाथ उनी चुनावी मैदानमा छन् ।


दिपनकुमार श्रेष्ठ अहिलेसम्म मन्त्री, प्रधानमन्त्री वा सांसद बनेका छैनन् । तर संगठन, आन्दोलन र पार्टीप्रतिको निष्ठाकै आधारमा उनले पार्टीबाट विगतमा कांग्रेसका उम्मेदवारहरुलाई जिताउन भूमिका पनि खेलेका थिए । यसपटक आफैं चुनावी मैदानमा उत्रिएका छन् । उनी पहिलोपटक संसदीय राजनीतिमा जनमतको प्रत्यक्ष परीक्षा दिँदै छन् ।

यो क्षेत्र सधैं प्रतिस्पर्धी रहँदै आएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही जिल्लाबाट कांग्रेसका दिपक खड्काले ३२ हजार १६१ मतसहित जित हासिल गरेका थिए भने एमालेका राजेन्द्र प्रसाद गौतमले २६ हजार ७२१ मत पाएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीसहित अन्य दलहरूको उपस्थिति भए पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै देखिएको थियो । यसपटक एमालेबाट पूर्व राजदूत अर्जुन कार्की र रास्वपाबाट विश्व किर्तिमानी आरोही मिङ्मा शेर्पा उनीसँगको मुख्य प्रतिस्पर्धमा छन् ।

२०४६ सालको विद्यार्थी आन्दोलनदेखि अहिले प्रतिनिधि सभा उम्मेदवारीसम्म आइपुग्दा दिपनकुमार श्रेष्ठको यात्रा निरन्तर संघर्ष, संगठन र निष्ठाले बनेको छ । उनी केवल चुनाव जित्ने आकांक्षामा सीमित छैनन्। संखुवासभाको आवाज, पहाडका पीडा, विकासका सम्भावना र युवाको भविष्य संसदमा पुर्‍याउने दाबीका साथ उनी अघि बढिरहेका छन् ।

अनुकूलता
• लामो र निरन्तर संगठनात्मक अनुभव
• लोकतान्त्रिक आन्दोलनमा प्रत्यक्ष सहभागिता र निष्ठा
• स्थानीय–केन्द्रीय सन्तुलन मिलाउने क्षमता

प्रतिकूलता
• संसदीय र कार्यकारी अनुभवको अभाव
• प्रतिस्पर्धी उम्मेदवारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि ।
• भोट बदलिइरहने चुनावी मैदान

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
नेपाली कांग्रेस
सरकारको अनुभव

दिपन कुमार श्रेष्ठ को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित