जनयुद्धदेखि संसद् र सरकारको अनुभव बोकेर फेरि उम्मेदवार
२०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा साह बारा क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भइन् । यद्यपि, नेकपा एमाले र माओवादी केन्द्र एक भएर बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि उनले एमाले रोजिन् ।
000
११ कात्तिक २०३८ मा बारा जिल्लाको पिलुवा गाउँमा जन्मिएकी ज्वालाकुमारी साह मधेशको राजनीतिक आन्दोलनसँगै हुर्किएकी नेतृ हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्म अध्ययन पूरा गरेकी साहको राजनीतिक जीवन माओवादी आन्दोलनबाट सुरु भयो ।
माओवादी जनयुद्धका वर्षहरूमा भूमिगत रहँदै राजनीति गरेकी उनी विद्यार्थी संगठन र महिला संगठन हुँदै पार्टीको केन्द्रीय नेतृत्व तहसम्म पुगेकी अनुभवी नेतृका रूपमा परिचित छिन् ।
माओवादी आन्दोलनमा सक्रिय रहँदा साह २०६४ सालको संविधानसभा निर्वाचनबाट समानुपातिक सदस्यका रूपमा संसद् प्रवेश गरिन् ।
त्यसपछि उनले एक पटक भूमिसुधार राज्यमन्त्री र एक पटक पर्यटन राज्यमन्त्रीको जिम्मेवारी सम्हालिन् । २०७० सालमा उनी माओवादीको केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्जको जिम्मेवारीमा थिइन् भने २०७१ सालमा पार्टी पोलिटब्युरो सदस्य बनेर बारा जिल्ला इन्चार्जको भूमिका निर्वाह गरिन् ।
२०७२ सालमा पार्टीको महिला संगठनको केन्द्रीय उपाध्यक्ष बनेपछि साहको राजनीतिक प्रभाव मधेश क्षेत्रमा अझ विस्तार भयो ।
२०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा साह बारा क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भइन् । यद्यपि, नेकपा एमाले र माओवादी केन्द्र एक भएर बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि उनले एमाले रोजिन् ।
सोही निर्णयका कारण माओवादी केन्द्रले उनलाई प्रदेशसभा सदस्यको जिम्मेवारीबाट मुक्त गर्यो । प्रदेशसभाबाट पदमुक्त भए पनि एमालेमै अडान राखेकै कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई केन्द्र सरकारमा कृषि तथा पशुपन्छी मन्त्रीको जिम्मेवारी दिए । तर मन्त्री बनेको १३ दिनमै उनी पदमुक्त भइन्, जुन घटना उनको राजनीतिक यात्रामा चर्चित मोडका रूपमा रह्यो ।
एमाले–माओवादी केन्द्र एकतापछि बनेको नेकपामा साह केन्द्रीय सदस्य र पार्टीको बारा जिल्ला सह–इन्चार्जको जिम्मेवारीमा थिइन् ।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले एमालेको तर्फबाट बारा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिँदै २० हजार २५१ मत प्राप्त गरी विजयी भइन् । सो निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले १७ हजार २७९ मत ल्याएका थिए ।
त्यसपछि एमाले–माओवादी केन्द्र गठबन्धन सरकार बनेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्मा साह कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भइन् । यसअघि पनि उनले केन्द्र सरकारमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी थिइन् ।
जनयुद्धकालदेखि संसद्, प्रदेशसभा र संघीय सरकारसम्मको अनुभव बोकेकी साह अहिले बारा–३ बाट एमालेको प्रतिनिधिसभा उम्मेदवारका रूपमा पुनः चुनावी मैदानमा छिन् ।
अनुकूलता
- माओवादी जनयुद्धदेखि संसदीय राजनीति र मन्त्री पदसम्मको अनुभव र संघर्षशील
- मधेश क्षेत्रमा महिला, किसान र आन्दोलनसँग जोडिएको पहिचान
- स्थानीयस्तरमा बलियो आधार
प्रतिकूलता
- पार्टी परिवर्तनसँग जोडिएका घटनाक्रम र प्रदेशसभाबाट पदमुक्त भएको प्रसंगले उनका राजनीतिक निर्णयमाथि आलोचना
- कृषि तथा पशुपन्छी मन्त्री बनेको छोटो अवधि प्रभावकारी रूपमा देखाउन नपाउनु
- मधेशको प्रतिस्पर्धी राजनीतिमा बलियो दलगत र जातीय समीकरणका कारण चुनौतीपूर्ण
ज्वाला कुमारी साह को उम्मेदवारि कस्तो लागयो ?



