२०७९ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेका खेलप्रसाद बुडाक्षेत्रीले तत्कालीन नेकपा (एमाले) का सचिव योगेश भट्टराईलाई कडा टक्कर दिएका थिए। भट्टराई २१ हजार ९४३ मत ल्याएर विजयी हुँदा बुडाक्षेत्री २०८ मतान्तरले पराजित बने ।
२०७९ मा नेपाली कांग्रेस र एकीकृत समाजवादीको पूर्ण साथ पाउँदा पनि मात्र २०८ मतले रोकिएका बुडाक्षेत्री यसपटक एमालेका युवा नेता क्षितिज थेबेसँग भिड्दैछन् । भट्टराईले टिकट नपाएको अवस्थालाई उनले आफ्नो अनुकूलता मानेका छन् ।
२०८२ को बदलिएको राजनीति
यसपटक ताप्लेजुङको चुनावी मैदान २०७९ को तुलनामा निकै फरक र रोचक छ । एमालेले भट्टराईलाई नउठाएर युवा नेता थेबेलाई मैदानमा उतारेको मात्रै छैन, यसपकट सबै दलका कार्यकर्ताले आफ्नो पार्टीमा मत हाल्न पाउनेछन् । किनकि यसपटक कुनै गठबन्धन बनेको छैन ।
२०७९ सालमा बुडाक्षेत्रीलाई सघाएको नेपाली कांग्रेसले यसपटक आफ्नै उम्मेदवार गजेन्द्र प्रसाद तुम्याङ लिम्बुलाई उठाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बिरेन्द्र श्रेष्ठ पनि प्रतिस्पर्धामा छन्, जसले युवा मत काट्न सक्ने देखिन्छ।
अनुकूलता
गत निर्वाचनमा मात्र २०८ मतले पराजित भएको हुनाले मतदातामाझ उनीप्रति 'एक पटक मौका दिनुपर्छ' भन्ने सहानुभूति हुन सक्छ। शिक्षण पेसा छोडेर जनयुद्धमा होमिएका र निरन्तर जिल्लाकै सुख-दुःखमा भिजेका नेता भएकाले उनको 'ग्रासरुट' पकड बलियो छ।
एमालेले पुराना र स्थापित नेता योगेश भट्टराईको सट्टा नयाँ उम्मेदवार उठाउँदा त्यसको फाइदा अनुभवी बुडाक्षेत्रीलाई पुग्न सक्छ।
प्रतिकूलता
बुडाक्षेत्रीको सबैभन्दा ठूलो चुनौती नै यसपटकको त्रिपक्षीय भिडन्त हो। २०७९ सालमा कांग्रेसको करिब १५-१६ हजार भोट उनलाई ट्रान्सफर भएको थियो, जुन यसपटक कांग्रेसकै उम्मेदवार गजेन्द्र लिम्बुतिर जानेछ।
कम्युनिस्ट मत स्वाभाविक रूपमा विभाजित हुनेछ । ताप्लेजुङमा लिम्बुवान र पहिचानको मुद्दा निकै प्रभावशाली छ। जसपा र अन्य साना दलले पहिचानका मुद्दा उठाउँदा बुडाक्षेत्रीको 'कोर' मतमा प्रभाव पर्न सक्छ।
बुडाक्षेत्रीका लागि २०८२ सालको निर्वाचन ‘अस्तित्व र पहिचान’ को लडाइँ हो। २०७९ सालमा कांग्रेसको बुई चढेर जितको नजिक पुगेका उनी यसपटक आफ्नै पार्टीको शक्ति र व्यक्तिगत लोकप्रियताको भरमा २०८ मतको त्यो खाडल पुर्नुपर्ने चुनौती छ । एमालेको नयाँ उम्मेदवार र कांग्रेसको आफ्नै दाबेदारीका बीच बुडाक्षेत्रीले कति 'क्रस-भोट' तान्न सक्छन्, त्यसैमा उनको भविष्य निर्भर छ।
खेल प्रसाद बुडाक्षेत्री को उम्मेदवारि कस्तो लागयो ?



