बुबाको पदचाप पछ्याउँदै राजनीतिमा
२०७९ सालको चुनाव आउन केही महिना बाँकी हुँदा प्रज्ज्वल बोहराले आईटी व्यवसाय अरूलाई जिम्मा लगाएर आफ्ना बुबा दीपक बोहराको निर्वाचन क्षेत्रमा खटिए। प्रज्ज्वलले रूपन्देही–३ को चुनावी कमाण्ड सम्हाल्दा पोष्ट कोभिडले थलिएका उनका बुबा बोल्न नसक्ने अवस्थामा थिए।
कमजोर स्वास्थ्यका बावजुद दीपकले नेपाली कांग्रेसका उम्मेदवार तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरे। चुनावपछि पनि दीपकको स्वास्थ्यमा सुधार आएन। त्यसपछि बुबाको प्रतिनिधित्व गर्दै प्रज्ज्वलले निर्वाचन क्षेत्रका जनताका समस्या–गुनासा सुन्न थाले।
त्यतिबेला आफ्नो बुबालाई विकासप्रेमी नेताका रूपमा सम्मान गरेको पाएपछि उत्तराधिकारीको रूपमा राजनीतिमा लाग्न प्रेरणा मिलेको प्रज्ज्वल बताउँछन्। उनी २०३३ सालमा रूपन्देहीको भैरहवामा जन्मिएका हुन्।
राप्रपा नेता तथा पूर्व मन्त्री स्वर्गीय दीपक बोहराका कान्छा छोरा प्रज्ज्वलले अमेरिकाबाट कम्प्युटर साइन्समा स्नातक गरेका छन्। सर्भिङ माइण्ड कम्पनी मार्फत नेपालको पहिलो कल सेन्टर सञ्चालन गरेका उनले सफ्टवेयर र वेबसाइट निर्माणका काम गरे।
स्मार्ट च्वाइस कम्पनी मार्फत नेपालमै पहिलो पटक एटीएम र डेबिट कार्ड मार्फत बैंकिङ क्षेत्रमा डिजिटल पेमेन्ट सुरुआतमा भूमिका खेले। आफ्नो कम्पनीले कुनै बेला एटीएम र डेबिट कार्डको ७० प्रतिशत हिस्सा ओगटेको प्रज्ज्वलको दाबी छ।
डिजिटल बैंकिङ कारोबारका लागि खुलेको नेपाल क्लियरिङ हाउस कम्पनीको अगुवाइ गरे। उनकै आईटी कम्पनी फिनटेक सोलुसनले विदेशी बैंकका लागि समेत सफ्टवेयर बनाउने काम गर्यो। उक्त कम्पनीको सफ्टवेयर बंगलादेशको सरकारी बैंकहरूमा लागू भएको ‘लंका पे’ मार्फत त्यहाँको ६० प्रतिशत हिस्सा ओगट्न सफल भएको प्रज्ज्वल बताउँछन्।
रूपन्देही ३ मा गत कात्तिकमा हुने भनिएको उपनिर्वाचनमा प्रज्ज्वलको नाम सिफारिश भएको थियो। २१ फागुनका लागि भने उनले रूपन्देही–१ बाट उम्मेदवारी दिएका छन्।
२०७९ मा यो क्षेत्रबाट एमाले सचिव छविलाल विश्वकर्माले २४ हजार ८८२ मत पाएर विजयी हुँदा कांग्रेस–माओवादी केन्द्र लगायतको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भूसालले २१ हजार ३१८ मत ल्याएका थिए।
समानुपातिकमा ११ हजार २४३ मत सहित राप्रपा चौथो स्थानमा आएको थियो। यो क्षेत्रमा बोहराले एमालेका दधिराम न्यौपाने, कांग्रेसका हीराबहादुर खत्री, रास्वपाका सुनिल लम्साल, नेपाली कम्युनिष्ट पार्टीका घनश्याम यादव लगायतको सामना गर्दैछन्।
–टोपराज शर्मा
प्रज्ज्वल बोहरा को उम्मेदवारि कस्तो लागयो ?




