दल परिवर्तन गरेर उम्मेदवारी
२०३७ वैशाखमा रुपन्देहीको रोहिणी–२, बेलराई (धकधई) मा जन्मिएका प्रमोदकुमार यादव २०६० सालदेखि सिद्धार्थनगर नगरपालिका–३ का स्थायी बासिन्दा हुन्। प्राथमिक तह गाउँमै पढेका यादवले एसएलसी र प्लस टु भारतबाट उत्तीर्ण गरे।
प्रमोदका हजुरबुबा विक्रमप्रसाद यादव पटक-पटक जनपक्षीय उम्मेदवारी दिएर प्रधानपञ्च बनेका थिए। राजनीतिक वातावरणमा हुर्किएका प्रमोद राजनीतिमा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनताका जोडिएका हुन्।
नेपाली कांग्रेसबाट रुपन्देही–४ को उम्मेदवार बनेर उनी विजयी भए। यो क्षेत्रमा कांग्रेसले पहिलो पटक जितेको थियो। २०७९ को चुनावमा रुपन्देही–४ बाटै उम्मेदवार बने तर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सर्वेन्द्रनाथ शुक्लासँग पराजित भए।
फागुन २१ को निर्वाचनका लागि उनले रुपन्देही–४ बाटै उम्मेदवारी दिएका छन्, पार्टी परिवर्तन गरेर। कांग्रेसभित्र डा. शेखर कोइराला निकट मानिने प्रमोद कांग्रेसबाट टिकट नपाएपछि एमालेबाट उठेका हुन्।
संसदीय निर्वाचनमा तेस्रो पटक प्रतिस्पर्धा गरिरहेका प्रमोदले यो क्षेत्रमा बलियो जनाधार रहेको जसपा नेपालका सर्वेन्द्रनाथ शुक्ला, जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादव र रास्वपाका कन्हैया बानियाँलगायतसँग प्रतिस्पर्धा गर्दैछन्। शुक्लाको पार्टी लोसपा र जसपा नेपालबीच गत महिना एकता भएको थियो।
२०७९ सालको समानुपातिक मतमा शुक्लाको पार्टी लोसपाले सबैभन्दा बढी २२ हजार ३७ मत पाएको थियो भने नेपाली कांग्रेसले १८ हजार ८३२, जनमत पार्टीले १६ हजार ५४८, एमालेले २ हजार ८२३ र जसपा नेपालले २ हजार २६२ मत पाएका थिए। लोसपा र जसपा नेपाल एकीकृत भएर जसपा नेपाल बनेको छ।
यो क्षेत्रमा १ लाख १६ हजार १७२ मतदाता छन्। प्रमोदले किसानलाई समयमै मल, बीउ र सिँचाइ सुविधा पुर्याउने विषयलाई प्राथमिकतामा राखेका छन्। गत निर्वाचनको मत हेर्दा विजय हासिल गर्न उनलाई त्यति सहज हुने देखिँदैन।
प्रस्तुति: टोपराज शर्मा
प्रमोद कुमार यादव को उम्मेदवारि कस्तो लागयो ?


