चिकित्सा क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा हामफालेका रजनीश
अहिले ३२ वर्ष मात्रै पुगेका चिकित्सक डा. रजनीश राय यादव सर्लाही–४ मा सबैभन्दा युवा र शिक्षित उम्मेदवारमध्ये एकका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
राजनीतिक करिअर लामो नभए पनि ऊर्जा, शिक्षा र सेवाभावलाई आफ्नो मुख्य पुँजी बनाउँदै उनी प्रतिनिधिसभा निर्वाचनको मैदानमा होमिएका छन्।
बंगलादेशबाट चिकित्साशास्त्र अध्ययन गरेर स्वदेश फर्किएका डा. यादव यतिबेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्।
सर्लाही–४ मा उनले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहलगायत राष्ट्रिय स्तरमै परिचित नेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ।
ऊर्जाशील, शिक्षित र जनहितमा समर्पित युवा नेताको छवि बनाएका डा. यादवले आगामी दिनमा मानव स्वास्थ्य, कृषि र पूर्वाधारलाई केन्द्रीय लगानी क्षेत्र बनाइनुपर्ने धारणा अघि सार्दै आएका छन्।
युवालाई अवसर सिर्जना गर्ने स्पष्ट कार्ययोजना, जिम्मेवार नेतृत्व, पारदर्शी कार्यशैली र सेवा भावका आधारमा सर्लाही–४ लाई समुन्नति र दिगो विकासतर्फ लैजाने प्रतिबद्धता उनको चुनावी एजेन्डाको मूल पक्ष हो।
तर उनको चुनावी यात्रामा चुनौती पनि कम छैन। राजनीतिक रूपमा उनी अझै नयाँ अनुहार हुन्। पार्टी संगठन, चुनावी अंकगणित र संसदीय अभ्यासको अनुभव सीमित हुनु उनको मुख्य कमजोरीका रूपमा हेरिन्छ।
यसबाहेक, सुरुमा सर्लाही क्षेत्र नम्बर–३ बाट नेकपाको टिकटको अपेक्षा गरेका डा. यादवले टिकट नपाएपछि क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दिएका हुन्।
सर्लाही–३ मा नेकपाले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएपछि उनको राजनीतिक मार्ग परिवर्तन भएको थियो। यही पृष्ठभूमिका कारण उनलाई पार्टी रणनीतिमा अस्थिरता को आरोप खेप्नुपर्ने जोखिम पनि देखिन्छ।
यद्यपि, पुराना अनुहारबाट थाकेका मतदाताका लागि डा. रजनीश राय यादव नयाँ सोच, पेशागत दक्षता र वैकल्पिक नेतृत्वको प्रतीक बन्न सक्ने सम्भावना बोकेका उम्मेदवार मानिन्छन्। कठिन प्रतिस्पर्धाबीच पनि उनी सर्लाही–४ मा आफ्नो उपस्थितिलाई अर्थपूर्ण बनाउन प्रयासरत छन्।
अनुकूलता
• ३२ वर्षका ऊर्जाशील युवा चिकित्सक
• स्वास्थ्य, कृषि र पूर्वाधार केन्द्रित स्पष्ट विकास–दृष्टि
• पुराना नेताबाट थाकेका मतदाताका लागि नयाँ विकल्प
प्रतिकूलता
• राजनीतिक अनुभव र संगठनात्मक पकड सीमित
• राष्ट्रिय स्तरमै चिनिएका बलिया प्रतिस्पर्धी
रजनीश राय को उम्मेदवारि कस्तो लागयो ?


