युवा काँधमा विरासत धान्ने दबाब
४७ वर्षीय रमेशकुमार मल्ल विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका नेता हुन् । २८ माघ २०३५ मा सल्यानको कुमाख गाउँपालिका वडा नं. ५, बाल्लेमा जन्मिएका मल्ल पछिल्लो तीन दशकदेखि राजनीतिमा क्रियाशील छन् ।
२०५१ सालमा उनले तत्कालीन माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी)को सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिए । २०५३ सालमा शीतल उच्चमावि इकाइ समिति सदस्य भए । २०५४ मा क्रान्तिकारी विद्यार्थी संगठन सल्यान जिल्ला समितिको सदस्य हुँदै २०५६ सालमा जिल्ला अध्यक्ष बने ।
दुई कार्यकाल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानको अध्यक्ष बनेका मल्ल २०५८ मा विराटनगरमा सम्पन्न अनेरास्ववियू (क्रान्तिकारी)को एकताको १५ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य बने ।
२०५९ देखि २०६२ सम्म सेती–महाकाली क्षेत्रीय समन्वय समिति संयोजक, त्यसपछि सचिवालय सदस्य, केन्द्रीय समिति कोषाध्यक्ष र उपाध्यक्ष हुँदै २०७१ मा केन्द्रीय संयोजक बने । २०७२ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भए ।
२०५४ मा पूर्णकालीन कार्यकर्ता हुँदै तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र संघर्षमा सहभागी भएका रमेश सोही वर्ष पार्टीको संगठित सदस्य बनेका थिए । ०५७ मा जिल्ला समिति सदस्य भए भने ०६० मा पार्टीको सेती–महाकाली क्षेत्रीय ब्युरो सदस्यको जिम्मेवारी पाए । उनले २०६१ सालमा पश्चिम केन्द्रीय कमान्ड अन्तर्गतको स्कूल विभाग सदस्यका रूपमा काम गरे ।
उनी २०६५ सालमा एकीकृत नेकपा (माओवादी)को नेवा: राज्य समिति सदस्य, २०७३ सालमा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य, २०७८ मा पार्टीको पोलिटब्युरो सदस्य हुँदै पार्टीको उपत्यका विशेष प्रदेशको सह–इञ्चार्ज पनि भएका थिए । हाल नेकपाका केन्द्रीय सदस्य छन् ।
यसका अतिरिक्त २०७१ फागुनदेखि २०७२ श्रावणसम्म त्रिभुवन विश्वविद्यालय सभाको सदस्य (सिनेटर), २०७३ साउनदेखि २०७४ जेठसम्म पहिलो पटक र २०७९ पुसदेखि २०८१ असारसम्म दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवका रूपमा काम गरे ।
विभिन्न देशमा राजनीतिक तथा कूटनीतिक भ्रमण, भेटघाट एवम् समारोहमा नेपालको तर्फबाट सहभागी भएका उनले चीन, बंगलादेश र भारत भ्रमणका सन्दर्भलाई छिमेक यात्रा पुस्तक पनि प्रकाशन गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका मल्लले प्रारम्भिक शिक्षा गाउँकै अरनिको प्राविबाट लिएका थिए । माध्यमिक तहको शिक्षा रुकुमको शीतल उमावि, चौरजहारीबाट पूरा गरेका थिए ।
संसदीय राजनीतिको मैदानमा भने मल्ल पहिलो पटक उभिएका हुन् ।
जनयुद्धकालका १० वर्षे कठिन भूमिगत जीवन र शान्ति प्रक्रियापछिका २० वर्षमा राजनीतिका विविध उतारचढाव, पार्टीका अनेकन अन्तरविरोधमा सामेल भएका रमेशले पहिलोपटक जनतामाझ परीक्षित हुने मौका पाएका हुन् ।
यो क्षेत्रबाट २०७४ को चुनावमा माओवादी केन्द्रबाट टेकबहादुर बस्नेतले चुनाव जितेका थिए । २०७९ को निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले चुनाव जितेका थिए । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रसहितका दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि प्रकाश ज्वालाले दोहोरिने आकांक्षा राखेका थिए ।
तर, मल्लले नयाँ पुस्तालाई अवसर दिनुपर्ने तर्क गरिरहे । यो रस्साकस्सीमा शीर्ष नेताहरूबीच लामै छलफल भयो र अन्तिममा मल्लले बाजी मारे । मल्लले टिकट पाएपछि प्रकाश ज्वालाले त्यसलाई समर्थन गरे र चुनावी प्रचारमा सँगै खटिएका छन् ।
अनुकूलता :
युवा छन्, अध्ययनशील छन् । राजनीतिमा नयाँ पुस्ताको प्रवेशको मुद्दा उठिरहेका बेला त्यसको लाभ देखिन्छ । राष्ट्रिय, अन्तराष्ट्रिय मुद्दाहरूमा स्पष्ट धारणा राख्छन् । यसअघिका निर्वाचनमा तत्कालीन माओवादी, नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएको र यी दुवै पार्टी अहिले एकीकृत भएकाले सांगठनिक प्रभाव बलियो देखिन्छ । विद्यार्थीकालदेखि राजनीतिमा सक्रियता, लामो समय भूमिगत राजनीतिक जीवनले उनको जनसम्बन्ध राम्रो बनाएको छ ।
प्रतिकूलता :
पहिलो पटक आमचुनाव लड्दै छन् । पार्टीभित्रको अन्तरविरोधको व्यवस्थापन कठिन देखिन्छ ।
व्यक्तिगत विवरण
नाम : रमेशकुमार मल्ल
जन्म : २०३५ माघ २८ गते
जन्मस्थान : सल्यान
स्थायी ठेगाना : कुमाख गाउँपालिका वडा नं. ५, बाल्ले, सल्यान
शिक्षा : स्नातकोत्तर
अनुभव :
२०७१ फागुनदेखि २०७२ श्रावणसम्म : त्रिभुवन विश्वविद्यालय सभा सदस्य (सिनेटर)
२०७३ साउनदेखि २०७४ जेठसम्म : तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव
२०७९ पुसदेखि २०८१ असारसम्म : तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव
राजनीतिक टाइमलाइन
२०५३ : शीतल उमावि सल्यानको इकाइ समिति सदस्य
२०५४ : क्रान्तिकारी विद्यार्थी सल्यान सदस्य
२०५६ : क्रान्तिकारी विद्यार्थी सल्यान अध्यक्ष
२०५८ : क्रान्तिकारी विद्यार्थीको केन्द्रीय सदस्य
२०५४ : नेकपा माओवादीको पूर्णकालीन कार्यकर्ता
२०६० : पार्टीको सेती–महाकाली क्षेत्रीय ब्युरो सदस्य
२०६१ : पश्चिम केन्द्रीय कमान्डअन्तर्गत स्कुल विभाग सदस्य
२०६५ : तत्कालीन एकीकृत नेकपा (माओवादी) को नेवा: राज्य समिति सदस्य
२०७३ : तत्कालीन नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य
२०७८ : तत्कालीन नेकपा (माओवादी केन्द्र)को पोलिटब्युरो सदस्य
२०८२ : नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य
२०८२ : प्रतिनिधिसभा सदस्यका उम्मेदवार
रमेशकुमार मल्ल को उम्मेदवारि कस्तो लागयो ?



