चुनावी लहर र युवाको साथले संसद पुग्ने रहर
विदेशमा श्रमपसिना बगाएर कमाएको पूँजी लगानी गरेर नेपालमै व्यवसाय गरिरहेका सागर भुसाललाई लागेकै थिएन, यत्ति छिट्टै चुनावी मैदानमा होमिनुपर्ला । भूकम्प र नाकाबन्दीको मारमा इजरायलबाट नेपाल फर्किएका भुसाललाई जेनजी आन्दोलनपछिको परिस्थितिले चुनावी मैदानमा ल्याएर होमिदिएको छ ।
पुराना राजनीतिक शक्तिले नागरिकका आकांक्षा पूरा गर्न नसकेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा जोडिएका भुसाल पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन् । त्यो पनि देशकै ठूला राजनीतिक शक्ति भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका बलिया भनिएका उम्मेदवारलाई टक्कर दिनु भुसालका निम्ति चानचुने कुरा होइन ।
१० वर्ष इजरायलमा श्रम गरेर फर्किएका भुसालले पोखरामा होटल व्यवसाय र उद्योग चलाइरहेका छन् । रास्वपामा आबद्ध भएर राजनीतिमा पाइला चाल्दै गरेका भुसाल पनि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको पक्षमा उभिए । जेनजी आन्दोलनले कांग्रेस र एमालेलाई सत्ताच्यूत गरेपछि बनेको नागरिक सरकारले फागुन २१ गते चुनाव घोषणा गर्यो ।
माओवादी शान्ति प्रक्रियामा आएर संविधान निर्माणका लागि रस्साकस्सी चलिरहँदा भुसाल भने जीवनस्तर उकासिने र उद्यमको अवसर नपाएको गुनासो गर्दै विदेश जानेहरूको लाममा उभिएका थिए ।
एक दशक वैदेशिक रोजगारीमा बिताएर व्यवसाय गरिरहेका भुसाल हिजो लोकतन्त्र र गणतन्त्र ल्याउनका लागि लडेका प्रमुख दलका उम्मेदवारहरूलाई पाखा पार्ने योजनाका साथ अहिले चुनावी मैदानमा होमिएका हुन् । फागुन २१ गते हुने निर्वाचनमा पर्वतबाट रास्वपाबाट ४ जनाको नाम सिफारिस हुँदा पर्वत जिल्ला सचिव भुसाल पनि प्रमुख दाबेदार थिए ।
रास्वपा नेतृत्वले भुसाललाई टिकट दिएर पठाएपछि अहिले व्यावसायिक जीवन र सामाजिक सेवाको भावनालाई जनताबाट चुनिएर संसदबाट नीतिगत तहमै काम गर्ने गरी चुनावमा होमिएका छन् ।
‘मैले देशकै केही गर्ने हुटहुटी हुँदाहुँदै पनि विदेश गएर श्रम गरेँ, पसिना बगाएँ । त्यहाँको विकासलाई नजिकबाट देखें र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको भावना पनि बुझें,’ भुसालले भने, ‘परिस्थतिले आज जनताकै प्रतिनिधि बनेर सेवा गर्ने अवसर दिएको छ । यो अवसर फगत पुरानाहरूको विकल्पमात्रै होइन, इमान्दारीपूर्वक जनताको सेवा गर्ने मौका पनि हो । देशमा सुशासनको जग हाल्ने हुटहुटी पनि हो ।’
भुसालका निम्ति पर्वतमा जनमत आफ्नो पक्षमा पार्न त्यति सजिलो भने छैन । नागरिकले पछिल्लो समय नयाँ दलहरूमा देखाएको विश्वास र पुराना दलबाट चुनावी मैदानमा होमिएका नेताहरूप्रतिको आक्रोसको मतलाई आशामा बदल्ने योजना भुसालले मतदातालाई बाँडिरहेका छन् । ‘मैले पर्वतको भूगोल पनि बुझेको छु । संसदमा नीति निर्माण गर्नेदेखि स्थानीयस्तरमा विकासका योजनामार्फत जनतालाई जोड्ने रोडम्याप पनि छ,’ भुसालले भने ।
भुसालको प्रतिस्पर्धी नेकपा एमालेको प्रमुख सचेतक, स्वास्थ्य र कानुन मन्त्री बनिसकेका पदम गिरी, नेपाली कांग्रेसबाट पटक पटक सांसद जितेर अहिले विशेष महाधिवेशनको पक्षमा उभिँदै बदलिएको पार्टीको नारा लगाउँदै चुनावमा होमिएका अर्जुन जोशी छन् । पटक पटक देशको प्रधानमन्त्री बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा काम गरेर आएका मनहरि तिमिल्सिना पनि चुनावी मैदानमा छन् ।
२०५६ सालदेखि चुनाव लड्दै आएका कांग्रेस नेता जोशी विशेष महाधिवेशनबाट फेरि एक पटक केन्द्रीय सदस्य बनेर नयाँ एजेण्डाका साथ यसअघिका दुई हारलाई जितमा बदल्न चाहन्छन् भने २०७४ र २०७९ को चुनाव जितेर एमालेको राजनीतिमा छलाङ मारेका पदमले फेरि ह्याट्रिक मार्ने दाबी गरिरहेका छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा नागरिकका अपेक्षा र देशको मूल समस्या आफूले पत्ता लगाएको बताउँदै चुनावमा होमिएका मनहरि शर्मा पनि इतिहास रच्ने दाउमा छन् । यी तिनै जनालाई पछि पार्दै इतिहास रच्ने दाउमा भुसाल छन् ।
पर्वतमा १३ वटा राजनीतिक दलका १३ जना र ४ जना स्वतन्त्र उम्मेदवार गरी १७ जना अहिले चुनावी प्रतिस्पर्धामा छन् । यसअघिको निर्वाचनमा एमालेका पदमले २९ हजार ८७२, ५ दलीय गठबन्धनबाट जोशीले २७ हजार ६०९ मत ल्याएको थियो । तेस्रो भएको रास्वपाले भने ४ हजार १३७ मत मात्र ल्याएको थियो । भुसालले अहिलेको निर्वाचनमा पुरानो अंकगणितले काम नगर्ने बताउँदै आफ्नो पक्षमा मतदाता रहेको दाबी गर्छन् ।
अनुकूलता
जेनजी आन्दोलनको राप: भर्खरै सम्पन्न जेनजी आन्दोलनले पुराना दलहरूप्रति चरम वितृष्णा र नयाँ शक्तिप्रति आशा जगाएको छ। आन्दोलनको भावना र ‘नो नट अगेन’ को मनोविज्ञानले भुसाललाई सबैभन्दा बढी फाइदा पुर्याउने देखिन्छ। परिवर्तन चाहने युवा मतदाताहरूका लागि भुसाल पहिलो रोजाइ बन्न सक्छन्।
‘फ्रेस’ र बेदाग छवि: सागर भुसाल राजनीतिमा नयाँ अनुहार हुन्। उनीमाथि न कुनै भ्रष्टाचारको आरोप छ, न त विगतमा सत्तामा बसेर काम नगरेको गुनासो। १० वर्ष इजरायलमा बसेर काम गरेको अनुभव र स्वदेशमै उद्यम गरेको पृष्ठभूमिले मतदातामा ‘गरी खाने मान्छे’ भन्ने सकारात्मक सन्देश गएको छ।
पुराना प्रतिस्पर्धीप्रतिको वितृष्णा : उनका मुख्य प्रतिस्पर्धीहरू पटक–पटक परीक्षण भइसकेका अनुहार हुन्। पदम गिरी दुई पटक र अर्जुन जोशी तीन पटक सांसद भइसक्दा पनि पर्वतको मुहार नफेरिएको गुनासो जनतामा व्याप्त छ। पुराना नेताहरूको यो असफलता नै सागर भुसालको सबैभन्दा ठूलो चुनावी पुँजी हो।
वैदेशिक रोजगारको अनुभव: पर्वतबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा छन्। इजरायलमा १० वर्ष श्रम गरेको अनुभवले विदेशमा रहेका पर्वतेलीहरू र उनीहरूका परिवारसँग भुसालको भावनात्मक सम्बन्ध स्थापित गराएको छ। रेमिट्यान्सले चल्ने समाजमा यो फ्याक्टर निर्णायक हुन सक्छ।
प्रतिकूलता
कमजोर संगठन र विगतको मत: पर्वतमा रास्वपाको संगठन कांग्रेस र एमालेको तुलनामा निकै कमजोर छ। २०७९ को निर्वाचनमा रास्वपाले जम्मा ४,१३७ मत ल्याएको थियो। जितका लागि कम्तीमा २५ देखि ३० हजार मत आवश्यक पर्छ। छोटो समयमा यति ठूलो मतान्तर पूरा गर्नु फलामको चिउरा चपाउनु सरह हो।
‘हेभीवेट’ प्रतिस्पर्धी: पदम गिरी (पूर्वमन्त्री) र अर्जुन जोशी (पूर्वसांसद) सँग वर्षौं पुरानो व्यक्तिगत भोट बैंक र क्याडर बेस छ। गाउँ–गाउँमा जरा गाडेर बसेका यी दलहरूको जालो तोड्न भुसाललाई निकै कठिन पर्नेछ।
चुनावी अनुभवको कमी: भुसाल पहिलो पटक संसदीय निर्वाचन लड्दैछन्। चुनावी दाउपेच, बुथ व्यवस्थापन र अन्तिम समयको भोट स्विङ गराउने रणनीतिमा उनी पुराना खेलाडीहरूभन्दा पछि पर्न सक्छन्।
सागर भुसाल को उम्मेदवारि कस्तो लागयो ?

