Home Candidate सर्वेन्द्र नाथ शुक्ला

चौथो पटक प्रतिनिधिसभाको दौडमा

रूपन्देही - ४ उम्मेदवार

सर्वेन्द्र नाथ शुक्ला

जनसमाजवादी पार्टी नेपाल
पुरुष , ७६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

मेकानिकल इन्जिनियरिङमा स्नातक सर्वेन्द्रनाथ शुक्लाले २०४७ सालदेखि सक्रिय राजनीति थालेका हुन् । २००६ सालमा रूपन्देहीको मर्चवारमा जन्मिएका उनी सिद्धार्थनगर नगरपालिका–६, गल्लामण्डीका स्थायी बासिन्दा हुन् ।

२०४८ को चुनावमा उनी सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार भए । संसदीय निर्वाचनमा पराजित भएपछि जिल्ला विकास समिति (जिविस) तिर लागे ।

२०४९ सालमा जिविस, रूपन्देहीको उपसभापति निर्वाचित भए । २०५१ मा भएको निर्वाचनमा शुक्ला पहिलो पटक राप्रपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।

२०५२ मा जलस्रोत सहायक मन्त्री, २०५४ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा वाणिज्य मन्त्री र सूर्यबहादुर थापा नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री बने । २०६० सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र त्यसपछि वन तथा भू–संरक्षण र भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाए । २०६१ मा नेपाल विद्युत् प्राधिकरणको अध्यक्ष भए ।

२०६२/६३ को मधेश आन्दोलनमा सक्रिय शुक्ला तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को संस्थापक सदस्य हुन् । उनी तमलोपा संसदीय दलको नेता समेत थिए । २०६६ मा माधवकुमार नेपाल प्रधानमन्त्री बन्दा शिक्षामन्त्री बने । २०७० को चुनावमा रूपन्देही–६ बाट दोस्रो संविधानसभामा निर्वाचित भए ।

२०७९ को चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट रूपन्देही–४ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । जेनजी विद्रोहपछि जसपा नेपाल र लोसपा बीच एकीकरण भएर जसपा नेपाल बन्यो । शुक्लाले जसपा नेपालबाट उम्मेदवारी दिएका हुन् ।

शुक्लाले नेपाली कांग्रेसका आशुतोष मिश्र, नेकपा (एमाले)का प्रमोद यादव र जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादव लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।

२०७९ सालको समानुपातिक मतमा शुक्लाको पार्टी लोसपाले सबैभन्दा बढी २२ हजार ३७ मत पाएको थियो । त्यसमा २ हजार २६२ मत भएको जसपा नेपाल थपिएको छ । कांग्रेसले १८ हजार ८३२, जनमत पार्टीले १६ हजार ५४८, एमालेले २ हजार ८२३ मत पाएका थिए ।

गत निर्वाचनको समानुपातिक मतका आधारमा शुक्ला सबैभन्दा बलिया उम्मेदवार देखिन्छन् ।

प्रस्तुति: टोपराज शर्मा

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

सर्वेन्द्र नाथ शुक्ला को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित