Home Candidate शान्तिलाल महत

२०३६ सालदेखिका राजनीतिक खेलाडी शान्तिलाल

जुम्ला - १ उम्मेदवार

शान्तिलाल महत

नेकपा एमाले
पुरुष , ६३ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ७ का स्थायी बासिन्दा शान्तिलाल महत नेकपा एमालेबाट जुम्लामा प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फकाट उम्मेदवार छन् । ५ असोज २०२१ मा जन्मिएका शान्तिलाल १५ वर्षको उमेर हुँदा २०३६ सालको जनमत संग्रहको प्रचारप्रसारमा सहभागी भएका थिए ।

उनले विद्यार्थी जीवनमै हुँदा व्यवस्था परिवर्तनको सपना देख्न थालिसकेका थिए । त्यसैले २०३७ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको सदस्यता लिएर औपचारिक रूपमा विद्यार्थी राजनीतिमा होमिए । 

अर्को वर्ष, २०३८ सालमा भएको जुम्ला विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरे । सोही वर्ष नेपाल मजदुर किसान पार्टीबाट भूमिगत रूपमा पार्टी सदस्यता पनि प्राप्त गरे । राजनीतिक सक्रियताकै कारण उनले २०३८ सालमा सार्वजनिक अपराधको मुद्दा खेप्नुपर्‍यो । २६ दिन हिरासत बसेपछि उनी मुक्त भए ।

२०३९ सालमा मालिका एकाइ कमिटीको सचिव भएका उनी २०४३ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भए । राजनीतिसँगै शैक्षिक आन्दोलनमा पनि सक्रिय महत २०४५ सालमा नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद् सदस्यमा चयन भए ।

सोही क्रममा उनले २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाए ।  २०४६ को राजनीतिक परिवर्तनपछि भने उनको पार्टी राजनीतिमा पनि फेरबदल आयो । २०४७ सालमा उनीसहित नेमकिपाका १४ स्थानीय नेताले सामूहिक राजीनामा दिए, र नेकपा (माले) को जुम्ला पार्टी स्थापना गरे । उनलाई नै जुम्लामा नेकपा (माले) स्थापना गर्ने मुख्य सूत्रधारका रूपमा मानिन्छ ।

त्यसपछि २०४९ सालमा भएको स्थानीय निर्वाचनमा शान्तिलाल वडाध्यक्ष चुनिए । २०५२ सालमा सुकुम्वासी समस्या समाधान आयोग जुम्लाको अध्यक्ष नियुक्त भए भने २०५३ सालको तेस्रो जिल्ला अधिवेशनबाट पार्टीको उपसचिव निर्वाचित भए । २०५४ सालमा पुन: वडाध्यक्ष र जिल्ला विकास समितिको सदस्य निर्वाचित भए । 

२०५९/६० मा प्रतिगमनविरुद्धको आन्दोलनमा तत्कालीन गृहमन्त्रीलाई कालो झन्डा देखाउँदा उनी गिरफ्तार भएका थिए । पार्टीभित्रको विभिन्न जिम्मेवारी पूरा गर्दै महतले २०६५ मा कर्णाली अञ्चल कमिटी सदस्य, २०७३ मा प्रदेश कमिटी सदस्य र २०७४ मा कर्णाली विकास आयोगको सदस्यका रूपमा काम गरे । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा चन्दननाथ नगरपालिकाको प्रमुख पदमा प्रतिस्पर्धा गरेका थिए । तर, जित निकाल्न सकेनन् । त्यसको तीन वर्षपछि २०७७ मा शान्तिलाल नेकपा एमालेको जुम्ला जिल्ला कमिटी अध्यक्ष निर्वाचित भए ।

२०७८ पुसमा भएको आठौं जिल्ला अधिवेशनबाट पुन: अध्यक्ष चुनिए । २०८१ वैशाखमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट पुन: अध्यक्ष पदमा निर्वाचित भएर काम गरिरहेका छन् ।

अहिले प्रतिनिधिसभा सदस्यको लागि जुम्लाबाट प्रत्यक्षतर्फका उम्मेदवार छन् ।

अनुकूलता :

धेरै वर्षदेखि वडा कमिटीदेखि नै काम गर्दै आएका अनुभवी र स्थानीय जनतासँग परिचित नेता हुन् । राजनीतिसँगै समाजसेवामा क्रियाशील छन् । विद्यार्थी राजनीति हुँदै पार्टी राजनीति गरेको र लामो समय शिक्षण पेशामा समेत आवद्ध रहेकोले उनको जनसम्पर्क राम्रो छ ।

प्रतिकूलता :

संसदीय राजनीतिमा अनुभव छैन । लामो समयदेखि निरन्तर राजनीतिमा रहेकाले हस्तान्तरण र पुस्तान्तरणको मुद्दा उठाउनेहरूबाट आलोचित हुने गरेका छन् ।

व्यक्तिगत विवरण

नाम: शान्तिलाल महत

जन्म : २०२१ साल असोज ५ गते

जन्मस्थान : जुम्ला

स्थायी ठेगाना :  चन्दननाथ नगरपालिका वडा नं. ७, जुम्ला

राजनीतिक टाइमलाइन 

२०३६ : जनमत संग्रहको प्रचारमा सहभागी

२०३७ : नेपाल क्रान्तिकारी विद्यार्थी संगठनमा आवद्ध

२०३८ : जुम्ला विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका

२०३८ : नेपाल मजदुर किसान पार्टीको सदस्यता प्राप्त

२०३८ : २६ दिन कारागार

२०३९ : मालिका एकाइ कमिटीको सचिव

२०४३ : वडासदस्य निर्वाचित

२०४५ : नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद् सदस्य

२०४६ : जनआन्दोलनमा सक्रिय सहभागी

२०४७ : नेमकिपाबाट राजीनामा, जुम्लामा माले स्थापना

२०४९ : वडाध्यक्ष निर्वाचित

२०५२ : सुकुमवासी समस्या समाधान आयोग जुम्लाको अध्यक्ष

२०५३ : जिल्ला पार्टीको उपसचिव निर्वाचित

२०५४ :  वडाध्यक्ष र जिविस सदस्य निर्वाचित

२०५९/६० : गृहमन्त्रीलाई कालो झन्डा देखाउँदा गिरफ्तार

२०६५ : एमालेको कर्णाली अञ्चल कमिटी सदस्य

२०७३ : प्रदेश कमिटी सदस्य

२०७४ : कर्णाली विकास आयोगको सदस्य

२०७४ : चन्दननाथ नगर प्रमुखमा उम्मेदवार

२०७७ : एमालेको जुम्ला जिल्ला अध्यक्ष

२०७८ : दोस्रोपटक जिल्ला अध्यक्ष निर्वाचित

२०८१ : तेस्रोपटक जिल्ला अध्यक्ष निर्वाचित

२०८२ : प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको उम्मेदवार

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

शान्तिलाल महत को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित