आफ्नै पूर्व चुनावी कमाण्डरहरूसँगको प्रतिस्पर्धामा
पाल्पा–२ का मतदाताका लागि सोमप्रसाद पाण्डेय अपरिचित नाम होइन । २०५१ सालदेखि उनी पाल्पामा निर्वाचन लड्दै आएका छन् । पाँच वटा निर्वाचनमा नेकपा (एमाले)बाट लडेका उनी २०७९ मा एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)बाट उठेका थिए ।
यसपटक नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवारी दिएका छन् । नेकपा जेनजी आन्दोलनपछि एकीकृत समाजवादी, माओवादी केन्द्र लगायत एकीकरण भएर बनेको पार्टी हो ।
पाल्पाको मदनपोखरामा जन्मिएका ७० वर्षीय पाण्डेयले २०३० सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।
कानूनमा स्नातक गरेका उनले केही वर्ष शिक्षण गरे । बहुदलको पक्षमा सक्रिय हुँदा २०३६ सालमा ३२ दिन जेल परे ।
२०४० सालमा मालेको गाउँ कमिटी उपसचिव बनेका पाण्डेय इलाका सदस्यहुँदै २०५१ सालपछि लगातार १७ वर्ष जिल्ला कमिटी सदस्य रहे । त्यसपछि पाँच वर्ष राष्ट्रिय प्रतिनिधि परिषद्, केन्द्रीय विभागहरू हुँदै एमाले केन्द्रीय सदस्य र पाल्पा इन्चार्जको जिम्मेवारीमा पुगे । २०७८ मा एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीमा लुम्बिनी प्रदेश अध्यक्ष र केन्द्रीय सचिव बने ।
केही समय वकालत गरेका पाण्डेय नेपाल बार एशोसिएसन पाल्पाको अध्यक्ष पनि भए । २०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पा–२ बाट १७ हजार ८५१ मत ल्याएर निर्वाचित भएका थिए । २०५६, २०७० र २०७४ मा विजयी भए । २०६४ सालको पहिलो संविधानसभा चुनावमा पराजित भएका उनी २०७० सालको दोस्रो संविधानसभामा निर्वाचित भए । २०७२ मा उद्योग मन्त्री बने ।
२०७९ मा कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनबाट उठ्दा एमालेका ठाकुर गैरेसँग पराजित भए । गैरे तिनै व्यक्ति हुन् जो २०५१ सालयताका सबै आम निर्वाचनमा पाण्डेयका चुनावी अभियानका कमाण्डर थिए । गैरेले २८ हजार ६४५ ल्याउँदा पाण्डेयले २४ हजार ८९९ मत पाएर दोस्रो स्थानमा आएका थिए । एमालेबाट गैरेले उम्मेदवारी दिएका छन् ।
समानुपातिकतर्फ एमालेको २२ हजार ५२९, कांग्रेसले २० हजार १५४ र रास्वपाले ८ हजार ३७७ भोट ल्याएको थियो । पाण्डेयले उम्मेदवारी दिएको पार्टीमा एकीकरण भएको माओवादी केन्द्रको ५ हजार ९९४ र एकीकृत समाजवादीको १ हजार ३०६ मत थियो ।
अघिल्लो पटक पाण्डेयको चुनावी कमाण्डर बनेका कांग्रेसका हिमालदत्त श्रेष्ठले यही क्षेत्रबाट उम्मेदवारी दिएका छन् । संसदीय राजनीतिका अनुभवी पाण्डेय धेरै मिहिनेत नगरी निर्वाचित हुने देखिंदैन ।
सोम प्रसाद पाण्डेय को उम्मेदवारि कस्तो लागयो ?



