विद्यार्थी राजनीतिबाट उदाएका सुशील
२०५१ सालमा नेपाल विद्यार्थी संघ (नेविसं)को साधारण सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका सुशील गुरुङ सिद्धार्थनगर–१, नयाँगाउँका स्थायी बासिन्दा हुन्।
व्यवस्थापनमा स्नातकोत्तर ४७ वर्षीय गुरुङ २०५४ सालमा भैरहवा बहुमुखी क्याम्पसमा नेविसंघको इकाइ अध्यक्ष बने। २०५५ मा भैरहवा बहुमुखी क्याम्पसमा स्ववियू उपसभापति र २०५७ मा स्ववियू सभापतिमा निर्वाचित भए। त्यही वर्ष स्ववियू परिषद् केन्द्रीय सह–सचिव र २०६१ मा नेविसं, रूपन्देही अध्यक्ष बनेर काम गरे।
२०६२/६३ को जनआन्दोलनमा सक्रिय गुरुङ २०६७ मा कांग्रेसको १२औं अधिवेशनबाट रूपन्देही–३ को क्षेत्रीय सचिवमा निर्वाचित भए। २०७२ को १३औं अधिवेशनबाट क्षेत्रीय सचिवमा पुनः निर्वाचित भए। २०७८ देखि त्यही क्षेत्रको क्षेत्रीय सभापति छन्।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा खुलेका गुरुङ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन्।
सिद्धार्थ जेसिजको पूर्व अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको पूर्व अध्यक्ष, लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरको पूर्व अध्यक्ष र पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिको दुईपटक अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका छन्।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको पूर्व केन्द्रीय सदस्य, नेपाल रेडक्रस सोसाइटी, रूपन्देहीको उपसभापति तथा रक्त सञ्चार सेवा समिति रूपन्देहीको संयोजक र लायन्स डिष्ट्रिक्ट ३२५ ‘पी’ को डिष्ट्रिक्ट सल्लाहकार रहेर सामाजिक क्षेत्रमा काम गरिसकेका छन्।
रूपन्देही–३ मा एमालेका वासुदेव घिमिरे, रास्वपाका डा. लेखजंग थापा, नेपाली कम्युनिष्ट पार्टीका फैज अहमद खान, राष्ट्रिय प्रजातन्त्र पार्टीका गौरव बोहरा लगायतले उम्मेदवारी दिएका छन्।
२०७९ मा एमालेसँगको गठबन्धनबाट राप्रपाका दीपक बोहरा ३६ हजार ७१७ मत पाएर विजयी भएका थिए। माओवादी, एकीकृत समाजवादी लगायतसँग गठबन्धन गरेको कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणले ३४ हजार ३६ मत पाएका थिए।
समानुपातिकतर्फको मतको आधारमा यो क्षेत्रमा कांग्रेस सबैभन्दा ठूलो पार्टी हो। २०७९ मा समानुपातिकतर्फ कांग्रेसले २० हजार २७८ मत पाएको थियो। एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाले १४ हजार १५४ र राप्रपाले ९ हजार १८३ मत पाएको थियो।
–टोपराज शर्मा
सुशील गुरुङ को उम्मेदवारि कस्तो लागयो ?



