सर्वसम्मतिको प्रयास असफल भए पनि जितप्रति ढुक्क
सर्वसम्मतिको प्रयास असफल भए पनि टेकबहादुर गुरुङ मनाङमा जितप्रति आत्मविश्वासी देखिएका छन् ।
०००
मतदाता र पार्टीभन्दा बढी आफन्त, सम्पत्ति र सम्बन्धको पहुँचले निर्वाचन परिणाम प्रभावित हुने क्षेत्रका रूपमा चिनिएको मनाङमा यसपटक कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङले सर्वसम्मत उम्मेदवारीका लागि व्यापक प्रयास गरेका थिए । उनले एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई मनाउँदै उम्मेदवारी फिर्ता गराउन सफल भएका थिए । अनिल गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाए पनि उनले मनोनयन दर्ता गराउन सकेनन् ।
अघिल्लो निर्वाचनमा एमालेकै पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका टेकबहादुरले यसपटक पनि सर्वसम्मत हुने लक्ष्य राखे । तर नेकपाबाट उम्मेदवार बनेकी यशोदा सुवेदी प्रमुख प्रतिस्पर्धीका रूपमा मैदानमा रहेकाले सर्वसम्मति सम्भव हुन सकेन । यसबाहेक मंगोल अर्गनाइजेसनका उम्मेदवारको उम्मेदवारी पनि यथावत् छ ।
मनाङमा यसअघि प्रदेशसभा निर्वाचनमा सर्वसम्मत निर्वाचित भई हाल ज्यान मार्ने उद्योगमा जेल सजाय भोगिरहेका राजीव गुरुङको समर्थन लिएर समेत सर्वसम्मतिको प्रयास गरिए पनि टेकबहादुर सफल हुन सकेनन् । यद्यपि, उनले चुनावी जित आफ्नो पक्षमा सुरक्षित भइसकेको दाबी गर्दै आएका छन् ।
मनाङमा पछिल्लो समय एमालेसँग नै मुख्य प्रतिस्पर्धा हुँदै आएको र पैसा, पारिवारिक सम्बन्ध तथा संकटका बेला सहयोग गर्ने क्षमताले निर्णायक भूमिका खेल्ने भएकाले टेकबहादुरलाई यसपटक पनि सहज हुने कांग्रेसको आन्तरिक मूल्यांकन छ । यही कारण कांग्रेसभित्र उनले अग्रिम बधाईसमेत पाइसकेको चर्चा छ।
नेकपाबाट उम्मेदवार बनेकी यशोदा सुवेदी संविधानसभा सदस्य र २०७४ सालकी प्रतिनिधिसभा सदस्य हुन् । माओवादीका पूर्वमहासचिव देव गुरुङ यसपटक लमजुङबाट नउठी आफ्नी पत्नी यशोदालाई गृहजिल्ला मनाङबाट अघि सारेका हुन् । तर बाहिरबाट गएका उम्मेदवारले मनाङमा जित निकाल्न कठिन हुने, स्थानीय समुदायसँगको सम्बन्ध, पहुँच तथा काठमाडौं–मनाङबाट मतदाता ओसारपसार गर्ने संरचनाले टेकबहादुरलाई फाइदा पुग्ने कांग्रेसको तर्क छ ।
यद्यपि, टेकबहादुर स्वच्छ छविका उम्मेदवारका रूपमा भने चिनिँदैनन् । समाजकल्याण परिषद्को स्वामित्वमा रहेको काठमाडौंको भृकुटीमण्डपस्थित जग्गा भाडा प्रकरणमा उनी मुछिएका थिए। विशेष अदालतले २०७९ साल फागुन १६ गते उनलाई दोषी ठहर गर्दै फागुन २५ गते १ करोड २१ लाख ८४ हजार ४०१ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। अभियोगपत्रअनुसार सजाय नपुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ। उक्त मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । राजनीतिक वृत्तमा उनी सांसद निर्वाचित भए पनि निलम्बनमा पर्न सक्ने चर्चा हुने गरेको छ ।
अघिल्लो निर्वाचनमा टेकबहादुरले २ हजार ५७५ मत प्राप्त गरी विजयी हुँदा एमालेका पोल्देन छोपाङ गुरुङले २ हजार २४७ मत ल्याएका थिए । त्यस निर्वाचनमा रास्वपाले जम्मा ५ मत प्राप्त गरेको थियो । यसपटक भने रास्वपाले उम्मेदवारी नै दर्ता गर्न सकेको छैन ।
अनुकूलता
- अघिल्लो निर्वाचनको जित र मनाङमा स्थापित प्रभाव
- प्रमुख प्रतिस्पर्धी दलका उम्मेदवार फिर्ता गराउन सफल
- स्थानीय सम्बन्ध, आर्थिक पहुँच र संगठनात्मक सञ्जाल
प्रतिकूलता
- भ्रष्टाचारसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन
- नैतिक र छवि सम्बन्धी प्रश्नले मतदातामा असर पार्न सक्ने जोखिम
- नेकपाबाट अनुभवी प्रतिस्पर्धीको उपस्थिति
टेकबहादुर गुरुङ को उम्मेदवारि कस्तो लागयो ?



