देव गुरुङको गृह जिल्लामा यशोदा
समानुपातिक सांसदबाट प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएकी यशोदा सुवेदीका लागि मनाङको चुनाव प्रतिष्ठा र चुनौती दुवै बनेको छ ।
०००
समानुपातिक कोटाबाट २०६४ सालमा संविधानसभा सदस्य र २०७४ सालमा प्रतिनिधिसभा सदस्य बनेकी यशोदा सुवेदी पहिलोपटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएकी छन् । माओवादी सशस्त्र संघर्ष हुँदै शान्ति प्रक्रियामा आएकी यशोदालाई यसपटक नेपाली कम्युनिस्ट पार्टीले मनाङबाट प्रतिनिधिसभा उम्मेदवार बनाएको हो ।
नेकपा नेता देवप्रसाद गुरुङले यसपटक आफू चुनाव नउठी लमजुङमा हरिजंग तामाङलाई टिकट दिलाएका छन् भने आफ्नो गृहजिल्लामा पत्नीसमेत रहेकी यशोदालाई मनाङबाट अघि सारेका हुन् । २०६४ सालमा देवप्रसाद गुरुङ कास्की–१ र मनाङ दुवै क्षेत्रबाट निर्वाचित भएका थिए र उनले मनाङ क्षेत्र रोजेका थिए ।
अघिल्लो निर्वाचनमा लमजुङबाट एमालेका पृथ्वीसुब्बा गुरुङसँग पराजित भएपछि देव गुरुङ यसपटक प्रत्यक्ष प्रतिस्पर्धामा नउत्रिएर अन्य नेताहरूलाई अघि सारेका हुन् । मनाङमा यशोदाको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका पूर्वसांसद तथा मन्त्री टेकबहादुर गुरुङसँग छ ।
टेकबहादुर गुरुङले आफूलाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयास पनि गरेका थिए । उनले एमालेका उम्मेदवार पोल्देन छोपाङलाई आफ्नो पक्षमा पार्दै उम्मेदवारी फिर्ता गराएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी दर्ता गर्न असफल भएको थियो । यशोदासँग पनि सहमतिको प्रयास भए तापनि उनको उम्मेदवारी यथावत् रहेको छ ।
उम्मेदवारी कायम रहे पनि यशोदालाई चुनाव जित्न कठिन हुने नेताहरूको विश्लेषण छ। मनाङकै समुदायमा जन्म नभएकी यशोदासँग स्थानीयस्तरमा गहिरो सामाजिक सम्बन्ध, पहुँच र संरक्षणको अभाव रहेको मनाङवासीको बुझाइ छ। पैसाको प्रभाव, आपसी नातासम्बन्ध र संकटका बेला संरक्षण गर्ने क्षमताले मनाङको चुनावी परिणामलाई प्रभावित गर्ने भएकाले यशोदाका लागि प्रतिस्पर्धा चुनौतीपूर्ण देखिएको छ।
२०२५ सालमा दाङमा जन्मिएकी यशोदा कम्युनिस्ट विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी हुन्। २०३७ सालदेखि राजनीतिक रूपमा सक्रिय यशोदा भूमिगत रहँदै माओवादी सशस्त्र संघर्षमा पति देव गुरुङसँगै सहभागी भएकी थिइन्।
२०६४ सालमा संविधानसभा सदस्य बनेकी यशोदाले विधायन समितिको सभापतिको जिम्मेवारी निर्वाह गरिन्। २०७४ सालमा प्रतिनिधिसभा सदस्य बनेकी यशोदा गुरुङ सुवेदी महिला सशक्तीकरण, शिक्षा र समावेशी राजनीतिक सहभागिताका सवालमा सक्रिय रहँदै आएकी छन्।
अनुकूलता
- संविधानसभा र प्रतिनिधिसभा दुवैको संसदीय अनुभव
- महिला सशक्तीकरण र समावेशी राजनीतिमा पहिचान
- पार्टी नेतृत्वको स्पष्ट राजनीतिक समर्थन
प्रतिकूलता
- मनाङसँग प्रत्यक्ष सामाजिक र सांस्कृतिक जरा कमजोर
- स्थानीय नेटवर्क र संरक्षणको अभाव
- शक्तिशाली र स्थापित प्रतिस्पर्धी उम्मेदवारसँग प्रत्यक्ष भिडन्त
यशोदा गुरुङ (सुवेदी) को उम्मेदवारि कस्तो लागयो ?


