
राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना : पार्टी प्रमुख : राजेन्द्र लिङदेन
संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रलाई मूल एजेण्डा मान्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चुनावका लागि १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । तीन जिल्लामा भने एमालेसँग तालमेल गरेको छ ।
झापा, रूपन्देही र बाँकेमा एमालेसँग तालमेल गरेको राप्रपाले बाँकी निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी दिएको छ । राप्रपाले चुनाव जिते राजसंस्था फर्काउने र हिन्दू राष्ट्र कायम गर्ने चुनावी प्रतिबद्धता जनाएको छ ।
पञ्चायतको अन्त्य भएपछि पूर्वपञ्चहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दले १५ जेठ २०४७ मा राप्रपा गठन गरेबाटै राजतन्त्रको पक्षमा उभिंदै आएको छ । २०६५ मा गणतन्त्र नेपाल स्थापना हुँदा पनि राप्रपा आफ्नो पुरानै एजेण्डामा अडिग छ ।
राजतन्त्रकै पक्षमा उभिएर राप्रपाले २०४८ यताका हरेक चुनावमा भाग लिएको छ । स्थापनाको ३५ वर्षसम्म आइपुग्दा दुई पटक सरकारकै नेतृत्व (सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पालैपालो प्रधानमन्त्री) गरिसकेको छ ।
तर यो पार्टी टुटफुटको शृङ्खलाबाट मुक्त छैन । २०७४ मा चुनावमा विभिन्न टुक्रामा विभाजित राप्रपाहरूले भाग लिएका थिए । तर राजेन्द्र लिङ्देनले मात्रै झापा–३ बाट जिते । त्यसबेला कुल सदर मतको ३ प्रतिशत मत ल्याउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । राप्रपाले प्रदेशसभातर्फ प्रदेश नम्बर १, वागमती प्रदेश र कर्णाली प्रदेशमा एक÷एक सिट जितेको थियो ।
चुनावपछि फेरि राप्रपाका घटकहरू एक भए । ११ मंसिर २०७८ मा सम्पन्न महाधिवेशनबाट अध्यक्षका प्रत्यासी कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन निर्वाचित भए । आफूलाई निर्मलनिवासले हराउन भूमिका खेलेको भन्दै कमल थापाले पुनः राप्रपा छाडिदिए ।
२०७० को चुनावमा पनि राप्रपाका घटकहरूले छुट्टाछुट्टै चुनाव लडेका थिए । चुनावपछि सबै घटकहरू एक हुँदा प्रतिनिधिसभामा राप्रपाको ३७ सिट पुग्यो र चौथो दल भयो । चौथो दलको हैसियतमा राप्रपाका तर्फबाट कमल थापाले केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतको जिम्मवारी निर्वाह गरे ।
२०६४ को चुनावमा राप्रपाले समानुपातिक प्रतिनिधित्व प्रणाली मार्फत ५ सिट जित्यो । माधवकुमार नेपालको नेतृत्वमा गठित तत्कालीन सरकारमा सामेल भएको थियो ।
२०६३ मा अन्तरिम–व्यवस्थापिका संसद गठन भएपश्चात् ९ सिटमा रहेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरेको थियो । २०५६ मा राप्रपाले ११ सिट जितेको थियो । २०५१ मा प्रतिनिधिसभामा २० सिट जितेर तेस्रो ठूलो दल बनेको थियो । २०४८ विभाजित भएर सूर्यबहादुर थापा र चन्द चुनावमा सहभागी हुँदा थापाको पार्टीले एक सिट र चन्दको पार्टीले ३ सिट जितेको थियो ।