जनार्दन शर्मा - पश्चिम रूकुम क्षेत्र नं. १

प्रदेश नं ६   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

रुकुमको मुसिकोटमा ०१९ साल बैशाख १२ गते जन्मिएका जनार्दन शर्मा 'प्रभाकर' माओवादीका प्रभावशाली नेताहरुमध्येका एक हुन् । एमाले-माओवादी गठवन्धनको प्रमुख योजनाकार हुन् उनी ।

ऊर्जामन्त्रीको जिम्मेवारीमा रहँदा लोडसेडिङ हटाएर आफूमात्र चर्चामा आएनन् प्रचण्ड नेतृत्वको सिंगो सरकारकै साखसमेत जोगाइदिए उनले । त्यसलगत्तै उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्रालयको जिम्मेवारी हात पार्न सफल भए । वाम गठवन्धनपछि प्रधानमन्त्री देउवाले माओवादीका सबै मन्त्रीहरुको जिम्मेवारी खोसेपछि उनी हाल विनाविभागीय मन्त्री छन् । स्नातकसम्म अध्ययन गरेका उनले शान्ति मन्त्री र सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी पनि सम्हालेका छन् ।

माओवादी जनसेनाको पूर्वडेपुटी कमाण्डरसमेत बनेर थुप्रै विजय र पराजयका अनुभव संगालेका उनीसँग १० वर्षकै उमेरमा आमा नर्मदालाई गुमाउनुको पीडामात्र होइन बाल्यकालमा बिहान बेलुकाको छाक टार्न दूध बेच्दै विद्यालयको औपचारिक शिक्षा हासिल गरेका स्मरणहरु पनि छन् ।

सरकारी जागिर त्यागेर ०३४ सालदेखि नै राजनीतिमा सक्रिय भएका उनले सोही वर्ष पार्टी सदस्यता पाए । ०४६ साल चैतमा पञ्चायत विरोधी आन्दोलन उत्कर्षमा पुगेका बेला शर्माले दरबारमार्गस्थित राजा महेन्द्रको शालिकमा चढेर झण्डा गाड्ने प्रयास गरेका थिए । त्यतिबेला प्रहरीको गोली लागेर केही युवा सडकमा ढले तर शर्मा संयोगले बाँच्न सफल भए । त्यसपछि ०४७ सालमा पूर्णकालीन भएका उनी ०५५ सालमा माओवादी केन्द्रीय सदस्य बने ।

हाल माओवादी केन्द्रको सचिवालय सदस्य रहेका उनी अहिले रुकुम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको चुनाव लड्दैछन् । यो चुनावी लडाईंमा उनको प्रतिस्पर्धी कांग्रेसका गोपाल जी जंग शाह छन् । शाह र शर्माबीच चुनावमा प्रतिस्पर्धा हुन लागेको यो तेस्रोपटक हो । ०४८ सालमा तत्कालीन जनमोर्चाबाट चुनाव लडेका शर्मा शाहसँग पराजित भए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा शर्माले कांग्रेसका प्रेमप्रकाश ओलीलाई हराए । ०७० को दोस्रो संविधानसभा निर्वाचन पनि शर्माले नै जिते । त्यसबेला उनको प्रतिस्पर्धी गोपाल जी जंग शाह थिए । यसअघिका दुई चुनावमा एकपटक शाहले र एकपटक शर्माले जितेका छन् । अब तेस्रो लडाईं कसले जित्छ हेर्न बाँकी छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

दिपक कुइँकेल

नेपाली कांग्रेस

देवनारायण चाैधरी

नेकपा एमाले

पशुपति समशेर राणा

राप्रपा प्रजातान्त्रिक

हरिशंकर घर्तीमगर

नेपाली कांग्रेस

हितमान शाक्य

माओवादी केन्द्र

भगवती चाैधरी

नेकपा एमाले