Home Party राष्ट्रिय स्वतन्त्र पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र
घोषणा पत्र

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र

प्रतिनिधिसभा २०८२
Political Economic Social Technology

राजनीतिक, प्रशासनिक तथा वैदेशिक मामिला

शासन, सुशासन र परराष्ट्र नीति

१.

शासकीय स्वरूप र संविधान संशोधन

समस्याको पहिचान (Diagnosis)

  • निर्वाचनमा पैसाको दुरुपयोग, अस्वस्थ प्रतिस्पर्धा र बारम्बार एउटै व्यक्ति निर्वाचित हुने प्रवृत्तिले लोकतन्त्र र सुशासनमा गम्भीर असर पुर्‍याएको ।

समाधानका उपाय (Prescription)

  • संविधान संशोधन: सरकार सम्हालेको ३ महिनाभित्र प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद्, सांसद मन्त्री नहुने व्यवस्था र गैर-दलीय स्थानीय सरकारसहितको 'बहस पत्र' ल्याउने ।
  • दलीय सुधार: पार्टी प्रमुख पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गर्ने र राष्ट्रिय मान्यता प्राप्त दललाई जनमतका आधारमा राज्यकोषबाट अनुदान दिने ।
२.

सुशासन, सार्वजनिक प्रशासन र भ्रष्टाचार नियन्त्रण

समस्याको पहिचान (Diagnosis)

  • कर्मचारीतन्त्र, शिक्षण सेवा, सुरक्षा निकाय र अदालतमा राज्यको नभई दलीय निष्ठा (भ्रातृ संगठन र ट्रेड युनियन) हावी भएको ।
  • परम्परागत र झन्झटिलो तहगत टिप्पणी प्रथाले गर्दा फाइल घुमाउने प्रवृत्ति र सेवा प्रवाहमा ढिलासुस्ती भएको ।
  • सार्वजनिक पदमा बस्नेहरूले अवैध सम्पत्ति आर्जन गर्ने गरेको र नीति निर्माणमा सीमित स्वार्थ समूहको प्रभाव (नीतिगत दोहन) पर्ने गरेको ।

समाधानका उपाय (Prescription)

  • सम्पत्ति छानबिन: २०४६ सालदेखि सार्वजनिक पदमा आसीन व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने र अवैध सम्पत्ति जफत तथा राष्ट्रियकरण गर्ने । सार्वजनिक पद सम्हाल्नुअघि र पछि सम्पत्तिको स्वतन्त्र लेखापरीक्षण गराउने ।
  • प्रशासनिक पुनर्संरचना: संघीय मन्त्रालयको सङ्ख्या १८ मा सीमित गर्ने । सरकारी सेवाभित्रको दलगत ट्रेड युनियन खारेज गर्ने र 'स्वायत्त सरुवा बोर्ड' मार्फत सरुवा प्रणाली लागू गर्ने ।
  • डिजिटल प्रशासन: कागजमा आधारित टिप्पणी प्रथा अन्त्य गर्न 'tippani.gov.np' र 'paripatra.gov.np' को सुरुवात गर्ने र फाइल रोकेमा जिम्मेवार अधिकारी जवाफदेही हुनुपर्ने प्रणाली लागू गर्ने ।
३.

विदेश/परराष्ट्र नीति र कूटनीति

समस्याको पहिचान (Diagnosis)

  • बदलिँदो वैश्विक भू-राजनीति र नेपाल 'बफर स्टेट' को रूपमा मात्र सीमित रहेको ।
  • कूटनीतिक नियोगहरू राजनीतिक भागबन्डाको थलो बनेको ।
  • सीमा विवाद र सन्धि-सम्झौताहरू भावनामा मात्र सीमित रहेको र तथ्यमा आधारित नभएको ।

समाधानका उपाय (Prescription)

  • कूटनीतिक रणनीति: 'बफर स्टेट' बाट नेपाललाई 'भाइब्रेन्ट ब्रिज' मा रूपान्तरण गर्ने र सन्तुलित कूटनीति अवलम्बन गर्ने । सीमा विवादलाई तथ्य र प्रमाणका आधारमा संस्थागत संवादमार्फत टुङ्ग्याउने ।
  • आर्थिक कूटनीति: परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा बदल्न 'इकोनोमिक कन्सुलर' थप्ने र कूटनीतिक नियोगको 'परफरमेन्स अडिट' प्रणाली सुरु गर्ने ।
  • डायस्पोरा परिचालन: गैर-आवासीय नेपालीहरूलाई 'स्वयंसेवी दूत' का रूपमा परिचालन गर्ने र राहदानी नवीकरणका लागि 'डिजिटल कन्सुलर सेवा' लागू गर्ने ।

आर्थिक तथा पूर्वाधार विकास

अर्थतन्त्र, पूर्वाधार, उद्योग, कृषि, ऊर्जा र पर्यटन

१.

आर्थिक नीति, वृद्धिदर र राष्ट्रिय लक्ष्य

समस्याको पहिचान (Diagnosis)

  • अर्थतन्त्रमा रेन्ट-सिकिङ (Rent-seeking), नीतिगत दोहन र कृत्रिम अवरोधहरू व्याप्त रहेको ।
  • आर्थिक प्रगतिमा बाधक बनेका असान्दर्भिक र झन्झटिला ऐन/नियमहरू रहेका ।
  • संरचनात्मक रूपान्तरण नभए देश दीर्घकालीन रूपमा न्यून आय जाल (Low-income trap) मा फस्ने जोखिम रहेको ।

समाधानका उपाय (Prescription)

  • आर्थिक लक्ष्य: आगामी ५ वर्षसम्म वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने र ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३००० डलर नाघाउने ।
  • आर्थिक मोडल: 'सामाजिक बजार अर्थतन्त्र' को मोडल अवलम्बन गर्ने र बाधा पुर्‍याउने करिब २ दर्जन ऐन खारेज गर्ने ।
  • कर छुट: पारिवारिक भारका आधारमा आयकरको सीमा पुनरावलोकन गर्ने र शिक्षा/स्वास्थ्य खर्चलाई करयोग्य आयबाट घटाउन पाउने व्यवस्था गर्ने ।
२.

पूर्वाधार विकास (यातायात, सहरीकरण र निर्माण)

समस्याको पहिचान (Diagnosis)

  • विगत १२ वर्षदेखि राष्ट्रिय गौरवका आयोजनाहरू गतिहीन रहेका ।
  • लामो दूरीको बस सेवामा सिन्डिकेट र कार्टेलिङ व्याप्त रहेको ।
  • सडकहरू गुणस्तरीय र सुरक्षित नभएका तथा राजमार्ग छेउका सहरहरू ध्वनि, प्रदूषण र जामबाट आक्रान्त बनेका ।

समाधानका उपाय (Prescription)

  • आयोजना सम्पन्न: राष्ट्रिय गौरवका आयोजनाहरू २ वर्षभित्र अनिवार्य सम्पन्न गर्ने र ५० वर्षे रेलमार्ग गुरुयोजना बनाउने ।
  • सुरक्षित यातायात: यातायात सिन्डिकेट अन्त्य गर्दै जीपीएस ट्र्याकिङ, एआई ट्राफिक क्यामेरा र डिजिटल जरिवाना प्रणाली लागू गर्ने । राजमार्ग छेउका सहरहरूमा नयाँ 'बाइपास सडक' बनाउने ।
  • सहरी खुला क्षेत्र: प्रमुख सहरहरूमा 'राष्ट्रिय खुल्ला क्षेत्र मापदण्ड' लागू गरी बन्द गरिएका सरकारी हाता/पर्खालहरू भत्काएर 'ग्रिन बेल्ट' बनाउने ।
३.

उद्योगधन्दा, व्यापार र लगानी

समस्याको पहिचान (Diagnosis)

  • व्यवसाय दर्ता र सञ्चालनका लागि फाइल बोकेर विभिन्न निकाय धाउनुपर्ने प्रशासनिक झन्झट रहेको ।
  • पुँजीबजार (सेयर बजार) मा इनसाइडर ट्रेडिङ र बजार हेरफेर जस्ता विकृतिहरू रहेका ।

समाधानका उपाय (Prescription)

  • सीमारहित अर्थतन्त्र: सूचना प्रविधि (IT) लाई 'राष्ट्रिय रणनीतिक उद्योग' घोषणा गरी १० वर्षमा ३० अर्ब डलरको निर्यात पुर्‍याउने र ७ वटै प्रदेशमा 'डिजिटल पार्क' निर्माण गर्ने ।
  • वान-स्टप सेवा: विदेशी र स्वदेशी लगानीका लागि एकै स्थानमा फाइल पेस गरेपछि अन्यत्र धाउन नपर्ने 'वान-स्टप सेवा केन्द्र' सञ्चालन गर्ने ।
४.

कृषि, पशुपालन र भू-उपयोग

समस्याको पहिचान (Diagnosis)

  • कृषि क्षेत्र अनिश्चितताको घेराभित्र रहेको ।
  • बस्ती क्षेत्रमा वन्यजन्तु (मुख्यतः बाँदर, हात्ती र बाघ) सँगको द्वन्द्व बढेको र बाँदरको आतंकका कारण सिङ्गो गाउँ नै बसाइँ जानुपर्ने बाध्यात्मक अवस्था रहेको ।

समाधानका उपाय (Prescription)

  • आधुनिकीकरण: बाँझो जमिन उपयोग र जग्गा चक्लाबन्दी प्रवर्द्धन गर्ने। कृषि अनुसन्धान परिषद्‌को पुनर्संरचना गर्ने ।
  • वन्यजन्तु नियन्त्रण: बाँदर नियन्त्रणका लागि नसबन्दी गर्ने, वनमा बगैंचा बनाउने र विद्युतीय छेकबार निर्माणलगायतका उपाय अपनाउने ।
५.

ऊर्जा (जलविद्युत उत्पादन, खपत र निर्यात)

समस्याको पहिचान (Diagnosis)

  • ऊर्जा आयोजना विकासका लागि ८ मन्त्रालय र २३ विभाग धाउनुपर्ने जटिलता रहेको ।
  • नेपालले कच्चा विद्युत् मात्र निर्यात गरिरहेको ।

समाधानका उपाय (Prescription)

  • कम्प्युटेसन निर्यात: कच्चा विद्युत् मात्र बेच्ने नभई, जलविद्युत आयोजना नजिकै उच्च क्षमताका 'डाटा केन्द्र' स्थापना गरी अन्तर्राष्ट्रिय बजारमा 'कम्प्युटेसन शक्ति' र 'कृत्रिम बौद्धिकता (AI)' निर्यात गर्ने ।
  • क्षमता र खपत: १० वर्षमा ३०,००० मेगावाट विद्युत् उत्पादन लक्ष्य राख्ने र सन् २०३५ सम्म प्रतिव्यक्ति विद्युत् खपत १५०० किलोवाट पुर्‍याउने ।
६.

पर्यटन प्रवर्द्धन

समस्याको पहिचान (Diagnosis)

  • पर्यटन मूलतः ट्रेकिङ-केन्द्रित मात्र रहेको र कतिपय ठाउँमा सडकले पदमार्ग ध्वस्त पारेको ।
  • पर्यटकका लागि अध्यागमन, निकुञ्ज र सम्पदास्थलका अनुमति प्रणालीहरू झन्झटिला रहेका ।
  • नेपालको हवाई उड्डयन क्षेत्र कालोसूचीमा रहेको र नेपाल वायुसेवा निगममा राजनीतिक भागबन्डा हावी भएको ।

समाधानका उपाय (Prescription)

  • पर्यटक वृद्धि: ५ वर्षभित्र पर्यटक सङ्ख्या र प्रतिव्यक्ति खर्च दोब्बर पार्ने ।
  • डिजिटल प्रणाली: ट्रेकिङ, निकुञ्ज र सम्पदा अनुमतिका लागि 'एकद्वार डिजिटल पर्यटन प्रणाली' लागू गर्ने ।
  • उड्डयन सुधार: हवाई सुरक्षा अडिट गराएर नेपाललाई कालोसूचीबाट हटाउने र नेपाल वायुसेवा निगमको ५१% स्वामित्व सरकारको राखी बाँकीमा निजी क्षेत्र भित्र्याउने ।

सामाजिक क्षेत्र

शिक्षा, स्वास्थ्य, रोजगार र न्याय

१.

शिक्षा प्रणाली, प्राविधिक शिक्षा र अनुसन्धान

समस्याको पहिचान (Diagnosis)

  • विश्वविद्यालय र विद्यालयहरू दलीय राजनीतिक गतिविधिको अखडा बनेका र विद्यार्थी सङ्गठनमार्फत शैक्षिक वातावरणमा अवरोध सिर्जना हुने गरेको ।
  • लाखौं नेपाली विद्यार्थी उच्च शिक्षाको खोजीमा र हजारौं प्राध्यापक कामको खोजीमा विदेश गइरहेका ।

समाधानका उपाय (Prescription)

  • दलीय राजनीति निषेध: विद्यालय र विश्वविद्यालयमा शिक्षक/प्राध्यापकको राजनीतिक आबद्धता र दलगत विद्यार्थी सङ्गठन निषेध गरी गैर-दलीय प्राज्ञिक विद्यार्थी प्रतिनिधित्व प्रणाली विकास गर्ने ।
  • समावेशी र अन्तर्राष्ट्रिय हब: अपाङ्गता (अटिजम आदि) भएका बालबालिकाका लागि प्रत्येक प्रदेशमा 'अत्याधुनिक नमुना समावेशी विद्यालय' स्थापना गर्ने । विदेशी विश्वविद्यालयसँग साझेदारी गरी नेपाललाई अन्तर्राष्ट्रिय उच्च शिक्षा हब बनाउने ।
२.

जनस्वास्थ्य सेवा र स्वास्थ्य बीमा

समस्याको पहिचान (Diagnosis)

  • आधारभूत स्वास्थ्य क्षेत्रमा न्यूनतम मापदण्ड कायम नभएको ।
  • स्वास्थ्यका कार्यक्रमहरू उपचारमुखी मात्र भएको र रोकथाममा ध्यान नपुगेको ।
  • मानसिक स्वास्थ्य उपेक्षित रहेको र जलन पीडितहरूले उपचार नपाउने अवस्था रहेको ।

समाधानका उपाय (Prescription)

  • स्वास्थ्य बीमा र निःशुल्क सेवा: स्वास्थ्यसँग सम्बन्धित सबै सामाजिक सुरक्षालाई एकद्वार प्रणालीमार्फत 'स्वास्थ्य बीमा कार्यक्रम' भित्र समेट्ने ।
  • जलन र मानसिक स्वास्थ्य: जलन पीडितको निःशुल्क उपचारका लागि 'जलन उपचार कोष' र विशेष अस्पताल निर्माण गर्ने । २४सै घण्टा चल्ने राष्ट्रिय हेल्पलाइनमार्फत 'मानसिक प्राथमिक उपचार' दिने ।
  • अपाङ्गता पुनर्स्थापना: प्रत्येक प्रदेशमा 'अत्याधुनिक अपाङ्गता पुनर्स्थापना विशिष्टीकृत स्रोत केन्द्र' स्थापना गर्ने ।
३.

रोजगारी सिर्जना र श्रम/वैदेशिक रोजगार नीति

समस्याको पहिचान (Diagnosis)

  • श्रम बजारमा श्रमिकहरूले उचित ज्याला नपाउने, कार्यस्थल असुरक्षित रहने र अनौपचारिक क्षेत्रमा बीमा/सामाजिक सुरक्षा नहुने जस्ता शोषण व्याप्त रहेको ।
  • वैदेशिक रोजगारमा जानेहरूमाथि ठगी, अत्यधिक शुल्क असुली र झूटा करार गर्ने प्रवृत्ति रहेको ।

समाधानका उपाय (Prescription)

  • श्रम सुरक्षा र रिमोट वर्क: अनौपचारिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गरी कार्यस्थल सुरक्षा र बीमा अनिवार्य गर्ने । नेपालमै बसेर विदेशी कम्पनीमा काम गर्ने (रिमोट वर्क) लाई वैधानिक मान्यता दिने ।
  • वैदेशिक रोजगार: विप्रेषण पठाउने श्रमिकलाई 'विशेष परिचयपत्र' दिई स्वास्थ्य र शिक्षामा सहुलियत दिने ।
४.

सामाजिक सुरक्षा र कल्याण

समस्याको पहिचान (Diagnosis)

  • सामाजिक सुरक्षा कार्यक्रमहरूमा दोहोरो लाभ लिने र दुरुपयोग हुने प्रवृत्ति रहेको ।

समाधानका उपाय (Prescription)

  • लक्षित वर्गलाई सुरक्षा: डाटाबेस निर्माण गरी प्राथमिकताका आधारमा सबैभन्दा बढी आवश्यकता भएका व्यक्तिहरूलाई लक्षित गर्दै सामाजिक सुरक्षा प्रणाली पुनः डिजाइन गर्ने ।
५.

सामाजिक न्याय, समावेशिता र सङ्क्रमणकालीन न्याय

समस्याको पहिचान (Diagnosis)

  • दलित तथा पिछडिएका समुदायले पुस्तौंदेखि अन्याय, अपमान र राज्यबाट बहिष्करण भोग्दै आएको ।
  • सङ्क्रमणकालीन न्यायका कामहरू अझै टुङ्गिन नसकेको ।
  • वास्तविक भूमिहीनभन्दा पनि सरकारी जग्गा कब्जा गर्ने 'नक्कली' सुकुम्बासीहरूको समस्या रहेको ।

समाधानका उपाय (Prescription)

  • ऐतिहासिक क्षमायाचना: नयाँ सरकार प्रमुखको पहिलो सम्बोधनमै दलित तथा पिछडिएका समुदायमाथि भएको जातीय विभेद र बहिष्करणप्रति नेपाल राज्यका तर्फबाट औपचारिक रूपमा क्षमायाचना गर्ने ।
  • न्याय र भूमि अधिकार: सङ्क्रमणकालीन न्यायका बाँकी काम टुङ्ग्याउन 'न्यायिक कोष ऐन, २०४६' तत्काल कार्यान्वयन गर्ने । भू-उपग्रह नक्साङ्कनमार्फत वास्तविक भूमिहीन पहिचान गरी 'राष्ट्रिय भूमि अधिकार प्राधिकरण' मार्फत एकीकृत नमुना बस्ती र लालपुर्जा दिने ।
६.

खेलकूद विकास र खेलाडी प्रोत्साहन

समस्याको पहिचान (Diagnosis)

  • खेलकुद क्षेत्रलाई केवल 'मनोरञ्जन' र 'भर्ती केन्द्र' का रूपमा मात्र सीमित गरिएको ।
  • खेलकुद प्रशासनमा राजनीतिक नियुक्ति हावी भएको र रङ्गशालाहरू १५ वर्षदेखि अधुरा रहेका ।

समाधानका उपाय (Prescription)

  • राजनीतिमुक्त खेलकुद र पेन्सन: खेलकुद प्रशासनमा राजनीतिक नियुक्ति खारेज गरी 'पेशागत नेतृत्व' ल्याउने । अन्तर्राष्ट्रिय पदक विजेतालाई 'खेलाडी पेन्सन कोष', स्वास्थ्य बीमा र रोजगारीको ग्यारेन्टी गर्ने ।
७.

कला, संस्कृति र सम्पदा संरक्षण

समस्याको पहिचान (Diagnosis)

  • अन्तर्राष्ट्रिय ब्रान्डिङ नपुगेका सुदूरपश्चिम, कर्णाली, मधेस र कोशीका प्रसिद्ध सम्पदाहरूको प्रवर्द्धन हुन नसकेको ।

समाधानका उपाय (Prescription)

  • धार्मिक पर्यटन र सफ्ट पावर: पशुपतिनाथ, लुम्बिनी, जनकपुर, देवघाट-मुक्तिनाथलाई धार्मिक-सांस्कृतिक पर्यटन केन्द्रका रूपमा प्रवर्द्धन गर्ने । प्रवासमार्फत नेपाली भाषा र कलालाई विश्वका प्रमुख सहरहरूमा 'सफ्ट पावर' का रूपमा फैलाउने ।

प्रविधि, नवप्रवर्तन तथा वातावरण

डिजिटल रूपान्तरण, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दोहन

१.

सञ्चार, सूचना प्रविधि र डिजिटल रूपान्तरण (एआई सहित)

समस्याको पहिचान (Diagnosis)

  • सरकारी सेवा लिनका लागि कार्यालय धाउनुपर्ने, लाइन बस्नुपर्ने, मध्यस्थकर्ता चाहिने र झन्झटिलो तहगत टिप्पणी प्रक्रिया रहेको ।
  • देशको अर्थतन्त्र श्रम निर्यातमा निर्भर रहेको र उच्च प्रविधिको सम्भावना पूर्ण रूपमा उपयोग हुन नसकेको ।
  • स्वदेशी स्टार्टअपहरूलाई विश्वव्यापी बजारसँग जोड्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) मा अड्चन रहेको ।
  • नेपालले जलविद्युतबाट कच्चा बिजुली मात्र निर्यात गरिरहेको तर 'कम्प्युटेसनल पावर' बेच्न नसकेको ।
  • नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्ने (Remote work) जनशक्तिका लागि कानुनी र नीतिगत अस्पष्टता रहेको ।

समाधानका उपाय (Prescription)

  • डिजिटल प्रशासन र सेवा: सार्वजनिक सेवा 'लाइनमा नभई अनलाइनमा' दिने व्यवस्था मिलाउने । कागजको टिप्पणी हटाएर डिजिटल हस्ताक्षरसहित 'tippani.gov.np' र 'paripatra.gov.np' लागू गर्ने ।
  • राष्ट्रिय रणनीतिक उद्योग: सूचना प्रविधि (IT) क्षेत्रलाई 'राष्ट्रिय रणनीतिक उद्योग' घोषणा गरी १० वर्षमा ३० अर्ब डलरको निर्यात पुर्‍याउने । नेपाललाई 'ग्लोबल टेक हब' बनाउन ७ वटै प्रदेशमा 'डिजिटल पार्क' निर्माण गर्ने ।
  • एआई र कम्प्युटेसन निर्यात: जलविद्युत आयोजना नजिकै उच्च क्षमताका 'डाटा केन्द्र' स्थापना गरी अन्तर्राष्ट्रिय बजारमा 'कृत्रिम बौद्धिकता (AI)' र 'कम्प्युटेसन शक्ति (Green GPU)' निर्यात गर्ने ।
  • रिमोट वर्क र भुक्तानी: 'अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे' का अड्चन तत्काल हटाउने । नेपालमै बसेर विदेशी कम्पनीमा काम गर्ने (Remote work) लाई वैधानिक मान्यता दिने र डिजिटल नोम्याडलाई आकर्षित गर्ने ।
  • उन्नत प्रविधि नीति: क्रिप्टोकरेन्सीको नियमनबारे स्पष्ट राष्ट्रिय नीति ल्याउने र 'क्रिप्टो माइनिङ' लाई पाइलट प्रोजेक्टको रूपमा सञ्चालन गर्ने ।
२.

जलवायु परिवर्तन, विपद् व्यवस्थापन र वातावरण/चुरे संरक्षण

समस्याको पहिचान (Diagnosis)

  • भूकम्प, बाढी, पहिरो र जलवायु परिवर्तनजन्य विपद्को उच्च जोखिम रहेको तर राज्यको नीति केवल 'प्रतिक्रियामुखी' मात्र रहेको ।
  • चुरे क्षेत्रमा ढुङ्गा, गिट्टी र बालुवाको अनियन्त्रित दोहनले गर्दा तराईमा डुबानको जोखिम बढेको ।
  • वायु प्रदूषण विश्व स्वास्थ्य संस्थाको मापदण्डभन्दा धेरै रहेको र दाउरा/गुइँठाको प्रयोगले स्वास्थ्य जोखिम रहेको ।
  • बाँदर, हात्ती, बाघ लगायतका वन्यजन्तु र मानवबीचको द्वन्द्वले सिङ्गो गाउँ नै बसाइँ सर्नुपर्ने बाध्यता रहेको ।
  • वन डढेलोको समस्या र तराईमा आर्सेनिकयुक्त पिउने पानीको गम्भीर जनस्वास्थ्य सङ्कट रहेको ।
  • पूर्वाधार निर्माणमा वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) र रुख कटान स्वीकृति प्रक्रिया अत्यन्तै झन्झटिलो रहेको ।

समाधानका उपाय (Prescription)

  • जलवायु कूटनीति र वित्त: 'राष्ट्रिय जलवायु वित्त रणनीति' स्वीकृत गरी विश्वव्यापी जलवायु कोषहरूबाट क्षतिपूर्ति र अनुदान ल्याउने । अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई 'पीडित' बाट 'नेतृत्वदायी' भूमिकामा पुर्‍याउने ।
  • विपद् व्यवस्थापन: 'प्रतिक्रियामुखी' नभई 'पूर्वतयारीमुखी' सुरक्षा नीति अपनाउने । उच्च जोखिमका बस्ती पहिचान गरी 'एकीकृत बस्ती' मा स्थानान्तरण गर्ने र ५ वटा अप्रयुक्त विमानस्थललाई राहत तथा उद्धार केन्द्र बनाउने ।
  • चुरे संरक्षण: चुरे दोहन रोक्न वातावरणीय सन्तुलन नबिग्रने गरी 'वैज्ञानिक उत्खनन तथा निर्यात कार्यविधि' लागू गर्ने । 'एकीकृत चुरे संरक्षण प्राधिकरण' लाई अधिकार सम्पन्न बनाई अति संवेदनशील क्षेत्रलाई 'पूर्ण संरक्षित क्षेत्र' घोषणा गर्ने ।
  • वन्यजन्तु द्वन्द्व र डढेलो: बाँदर नियन्त्रणका लागि नसबन्दी गर्ने, वनमा बगैंचा बनाउने र विद्युतीय छेकबार निर्माण गर्ने । ड्रोन र स्याटेलाइट प्रविधिमार्फत 'वन डढेलो उच्च-सतर्कता केन्द्र' स्थापना गर्ने ।
  • प्रदूषण र फोहोर व्यवस्थापन: घरमै फोहोर छुट्याउने र फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजना सुरु गर्ने । फोहोर र कृषि अवशेष खुला रूपमा जलाउन पूर्णतः प्रतिबन्ध लगाउने र 'आर्सेनिकमुक्त तराई अभियान' चलाउने ।