Home Party उज्यालो नेपाल पार्टी
उज्यालो नेपाल पार्टी
उज्यालो नेपाल पार्टीको घोषणा पत्र
घोषणा पत्र

उज्यालो नेपाल पार्टीको घोषणा पत्र

प्रतिनिधिसभा निर्वाचन २०८२
Download PDF
Political Economic Social Technology

राजनीतिक, प्रशासनिक तथा वैदेशिक मामिला

शासन, सुशासन र परराष्ट्र नीति

१.

शासकीय स्वरूप र संविधान संशोधन

समस्याको पहिचान (Diagnosis)

  • राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार, नीतिगत असफलता, संसद्को निष्क्रियता र न्यायालयको विश्वसनीयतामा गम्भीर सङ्कट रहेको ।
  • त्रिशङ्कु संसद्का कारण सांसद किनबेच, कुशासन र विभाजन बढेको ।
  • सङ्घीयता आर्थिक उन्नयनको इन्जिन बन्न नसकेको र प्रदेश तथा स्थानीय तहलाई समयमा कानुन, स्रोत र अधिकार नदिइएको ।

समाधानका उपाय (Prescription)

  • संसद् र मन्त्रालय कटौती: प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ र प्रदेशसभा ५५० बाट ३३० कायम गर्ने; सङ्घमा १५ र प्रदेशमा ५ देखि ७ मन्त्रालय मात्र राख्ने तथा राज्यमन्त्री/सहायकमन्त्री नराख्ने ।
  • प्रत्यक्ष मुख्यमन्त्री र निर्दलीय स्थानीय तह: प्रदेशमा जनताबाट प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्ने र स्थानीय तहको निर्वाचन पूर्ण रूपमा दलविहीन (निर्दलीय) बनाउने ।
  • विज्ञ मन्त्री र जिल्ला खारेजी: मन्त्रिपरिषद्‌मा ५० प्रतिशत मन्त्री सांसद नभएका 'विषय विज्ञ' राख्न पाउने व्यवस्था गर्ने र प्रशासनिक खर्च बढाउने जिल्ला संरचना खारेज गर्ने ।
  • मतदान अधिकार: 'नो-भोट' (No-vote) को व्यवस्था गर्ने तथा बेजिल्ला र विदेशमा रहेका नेपालीलाई पनि मतदानको सुनिश्चितता गर्ने ।
२.

सुशासन, सार्वजनिक प्रशासन र भ्रष्टाचार नियन्त्रण

समस्याको पहिचान (Diagnosis)

  • दशकौंसम्म सत्ता दोहनमा रमाएका लाचार राजनीतिक पार्टीहरूका कारण विधिको शासन कमजोर भएको र भ्रष्टाचार बढेको ।
  • सार्वजनिक सेवामा चरम ढिलासुस्ती र जवाफदेहीताको अभाव रहेको ।
  • निजामती सेवा, शिक्षक र स्वास्थ्यकर्मीहरूमा दलीय ट्रेड युनियन हावी भएको ।

समाधानका उपाय (Prescription)

  • भ्रष्टाचारमा शून्य सहनशीलता: भ्रष्टाचारीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाउने, सम्पत्ति राष्ट्रियकरण गर्ने र भ्रष्टाचारको सूचना दिनेलाई असुल रकमको ५ प्रतिशत पुरस्कार दिने ।
  • सुशासनको हक: समयमै सेवा पाउने र जवाफदेहिता खोज्ने विषयलाई संविधानमा मौलिक हकको रूपमा स्थापित गर्ने । सार्वजनिक पदाधिकारीको वार्षिक सम्पत्ति विवरण अनलाइनमार्फत सार्वजनिक गर्ने ।
  • प्रशासनिक सुधार र डिजिटल सेवा: निजामती प्रशासनमा सचिवहरू 'ल्याटरल इन्ट्री' (परीक्षा लिई) बाट ल्याउने, दलीय ट्रेड युनियन खारेज गर्ने, अनावश्यक कर्मचारी कटौती गरी तलब शतप्रतिशत वृद्धि गर्ने र सम्पूर्ण सरकारी सेवालाई 'फेसलेस' (डिजिटल) बनाउने ।
३.

विदेश/परराष्ट्र नीति र कूटनीति

समस्याको पहिचान (Diagnosis)

  • पुराना राजनीतिक नेतृत्वहरूमा भूराजनीतिक सम्बन्ध र संवेदनशीलताको बुझाइमा कमी रहेको ।

समाधानका उपाय (Prescription)

  • समनिकटता र सामरिक स्वायत्तता: नेपालको भौगोलिक अखण्डता र सामरिक स्वायत्तता सुरक्षित राख्दै दुवै छिमेकीसँग आपसी संवेदनशीलतामा हेक्का राखेर 'समनिकटता' कायम गर्ने ।
  • राष्ट्रिय सहमति: राष्ट्रिय सहमतिका आधारमा परराष्ट्र नीतिको तर्जुमा र सञ्चालन गर्ने ।

आर्थिक तथा पूर्वाधार विकास

अर्थतन्त्र, पूर्वाधार, उद्योग, कृषि, ऊर्जा र पर्यटन

१.

आर्थिक नीति, वृद्धिदर र राष्ट्रिय लक्ष्य

समस्याको पहिचान (Diagnosis)

  • छिमेकी देशले आर्थिक क्रान्तिमा फड्को मार्दा नेपालको कुल गार्हस्थ्य उत्पादन ४५ अर्ब डलरमै सीमित रहेको ।
  • रोजगारीको अभावले लाखौं युवा विदेशिन बाध्य भएको र यो उनीहरूको भाग्य नभई विगतको नेतृत्वको अक्षमता रहेको ।
  • विधिको शासनको अभाव र विप्रेषण (रेमिट्यान्स) ले उपभोक्तावादी संस्कृति बढाएको तथा स्वदेशी उत्पादन र रोजगारी निष्क्रिय भएको ।

समाधानका उपाय (Prescription)

  • द्रुत विकास दशक: 'द्रुत विकास दशक' घोषणा गरी २०३० सम्म वार्षिक ९% आर्थिक वृद्धि गर्दै ७० अर्ब डलर र २०३५ सम्म १११ अर्ब डलरको अर्थतन्त्र बनाउने ।
  • रोजगारी सिर्जना: २०३० सम्म वार्षिक ९ लाख र २०३५ सम्म १५ लाख रोजगारी सिर्जना गर्ने ।
  • उत्पादनमा रेमिट्यान्स: रेमिट्यान्स फन्डबाट प्राप्त २० प्रतिशत रकम अनिवार्य रूपमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था मिलाउने ।
२.

पूर्वाधार विकास (यातायात, सहरीकरण र निर्माण)

समस्याको पहिचान (Diagnosis)

  • हिमाल, पहाड र तराईका उर्वर भूमि र अपार स्रोतलाई पूर्वाधारमार्फत पर्यटन, उत्पादन र निर्यातमा जोड्न नसकिएको ।

समाधानका उपाय (Prescription)

  • सडक र स्मार्ट सिटी: ५ वर्षभित्र ८,००० किमी सडक कालोपत्रे गर्ने र लुम्बिनी, निजगढ, भरतपुरलगायत १३ वटा सहरलाई 'स्मार्ट सिटी' का रूपमा विकास गर्ने ।
  • राष्ट्रिय गौरवका आयोजना: काठमाडौं-निजगढ फास्टट्र्याक, मध्यपहाडी र हुलाकी राजमार्ग सम्पन्न गर्ने ।
३.

उद्योगधन्दा, व्यापार र लगानी

समस्याको पहिचान (Diagnosis)

  • विगतका सरकारहरूले शंका र अत्यधिक नियमन गरेर निजी क्षेत्रलाई निरुत्साहित गरेको ।
  • केही पहुँचवाला पुँजीपतिले दलीय नेतृत्व र कर्मचारीतन्त्रसँग मिलेर कालोबजारी र एकाधिकार स्थापना गरी भ्रष्टाचार बढाएको ।
  • अनिश्चितता र प्रभावहीन औद्योगिक नीतिका कारण स्वदेशी पुँजी बाहिरिएको र वैदेशिक लगानी आउन नसकेको ।

समाधानका उपाय (Prescription)

  • स्टार्टअप फन्ड: १० अर्बको पुँजी कोष स्थापना गरी युवाहरूका लागि १० हजार स्टार्टअप अवसर सिर्जना गर्ने ।
  • आयात प्रतिस्थापन र निर्यात: ५ वर्षभित्र निर्यात १० अर्ब डलर पुर्‍याउने र स्वदेशी उत्पादनलाई 'मेड इन नेपाल' र 'मेक इन नेपाल' ब्रान्डिङ गर्ने ।
  • रुग्ण उद्योग सञ्चालन: बन्द रहेका रुग्ण उद्योगहरू (जस्तै: उदयपुर/हेटौंडा सिमेन्ट, गोरखकाली रबर) पीपीपी मोडलमा पुनः सञ्चालन गर्ने ।
४.

कृषि, पशुपालन र भू-उपयोग

समस्याको पहिचान (Diagnosis)

  • कृषि क्षेत्रमा उत्पादन लागत बढ्दो रहेको र कृषियोग्य जमिनको अनियन्त्रित खण्डीकरण भएको ।

समाधानका उपाय (Prescription)

  • मल कारखाना र सहुलियत: १० वर्षभित्र रासायनिक मल कारखाना सञ्चालन गर्ने र मलमा ५०% अनुदान दिने । कृषि सिँचाइका लागि निःशुल्क विद्युत् उपलब्ध गराउने ।
  • भूमि बैंक र चक्लाबन्दी: भूमि बैंकमार्फत १ लाख हेक्टर जमिन चक्लाबन्दी गरी भूमिको न्यायोचित वितरण गर्ने ।
  • कृषि एम्बुलेन्स र मूल्य ग्यारेन्टी: ५०० वटा कृषि एम्बुलेन्स सेवा सुरु गर्ने र किसानलाई लागत मूल्यमा २०% नाफा हुने गरी खरिदको ग्यारेन्टी गर्ने ।
५.

ऊर्जा (जलविद्युत उत्पादन, खपत र निर्यात)

समस्याको पहिचान (Diagnosis)

  • अपार जलविद्युत सम्भावना भए तापनि यसलाई राष्ट्रिय समृद्धिको मुख्य मुहान बनाउन नसकिएको ।

समाधानका उपाय (Prescription)

  • उत्पादन र निर्यात: २०३० सम्म १२ हजार र २०३५ सम्म २५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने । भारत, बंगलादेश र चीनलाई विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने ।
  • जनतालाई सेयर: प्रत्येक नागरिकलाई प्राथमिक मूल्यमा १ हजार कित्ता र वैदेशिक रोजगारमा रहेकालाई थप १ हजार गरी जम्मा २ हजार कित्ता जलविद्युत सेयर दिने ।
  • समृद्धि कोष: विद्युत् निर्यातबाट प्राप्त रकमको १५% 'राष्ट्रिय समृद्धि कोष' मा राखेर गरिबी निवारणमा खर्च गर्ने ।
६.

पर्यटन प्रवर्द्धन

समस्याको पहिचान (Diagnosis)

  • पर्यटन क्षेत्रको पूर्वाधारमा प्रचारप्रसारको अभाव, प्रशासनिक जटिलता र पर्यावरणीय जोखिम जस्ता चुनौतीहरू रहेको ।

समाधानका उपाय (Prescription)

  • पर्यटक लक्ष्य र ब्रान्डिङ: सन् २०३५ सम्म वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्ने र नेपाललाई '३६५ दिन पर्यटन गन्तव्य' का रूपमा अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने ।
  • आरोहण शुल्कमा छुट: सगरमाथालगायतका हिमालको आरोहण शुल्क ३०% ले घटाउने ।
  • पर्यटन कोष: पर्यटन राजस्वबाट ५ अर्बको 'पर्यटन समृद्धि कोष' स्थापना गरी ग्रामीण महिला पर्यटन उद्यमीलाई अनुदान दिने ।

सामाजिक क्षेत्र

शिक्षा, स्वास्थ्य, रोजगार र न्याय

१.

शिक्षा प्रणाली, प्राविधिक शिक्षा र अनुसन्धान

समस्याको पहिचान (Diagnosis)

  • विद्यालयमा ड्रपआउट दर (विशेषगरी बालिका र दलितको) उच्च रहेको र साक्षरता दर सुधार गर्नुपर्ने चुनौती रहेको।
  • विश्वविद्यालय र विद्यालयहरूमा अत्यधिक दलीय राजनीतिकरण, अनुशासनहीनता र विद्यार्थी युनियनको विकृति रहेको।
  • शिक्षामा निजीकरण र व्यापारीकरण बढेको तथा सार्वजनिक र निजी विद्यालयबीच सिकाई उपलब्धिमा ठूलो खाडल रहेको।

समाधानका उपाय (Prescription)

  • निःशुल्क शिक्षा र बचत कोष: विश्वविद्यालयसम्मको शिक्षा निःशुल्क गर्ने र प्रत्येक नवजात शिशुको नाममा १५ हजारको 'शिक्षा बचत खाता' खोलिदिने ।
  • कमाउँदै पढ्दै: +२ को पाठ्यक्रममा ५०% व्यावसायिक सीप अनिवार्य गरी १०० दिनको इन्टर्नसिप गराउने र विद्यार्थीलाई मासिक १० हजार रुपैयाँ बराबरको उत्प्रेरणा भत्ता दिने ।
  • राजनीतिमुक्त शिक्षालय: विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था र दलीय विद्यार्थी युनियन खारेज गर्ने ।
  • स्मार्ट स्कुल: प्रत्येक विद्यालयमा डिजिटल कक्षा र इन्टरनेटसहित १० कक्षासम्म गुणस्तरीय शिक्षा दिने ।
२.

जनस्वास्थ्य सेवा र स्वास्थ्य बीमा

समस्याको पहिचान (Diagnosis)

  • कुपोषण (विशेषगरी महिला र बालबालिकामा) र पुड्कोपनको समस्या रहेको।
  • नसर्ने रोगहरू, मानसिक स्वास्थ्य समस्या र मातृ तथा शिशु मृत्युदर उच्च रहेको।
  • गाउँघरमा विशेषज्ञ चिकित्सक र स्वास्थ्य उपकरणको अभाव रहेको।

समाधानका उपाय (Prescription)

  • निःशुल्क उपचार र बीमा: स्वास्थ्य बीमा कार्यक्रमलाई अनिवार्य गरी सबै नागरिकको आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने ।
  • विशेषज्ञ र मानसिक स्वास्थ्य: प्रत्येक स्थानीय तहको स्वास्थ्य संस्थामा कम्तीमा एक विशेषज्ञ डाक्टर राख्ने र प्रत्येक वडामा मानसिक स्वास्थ्य परामर्शदाता उपलब्ध गराउने ।
  • निरोगी नेपाल: ५०० मोबाइल क्लिनिक सञ्चालन गर्ने र ७५३ वटै स्थानीय तहमा निःशुल्क प्रसूति सेवा दिने ।
३.

रोजगारी सिर्जना र श्रम/वैदेशिक रोजगार नीति

समस्याको पहिचान (Diagnosis)

  • स्वदेशमा रोजगारीको अभावले लाखौं युवा विदेशिन बाध्य भएको।
  • विप्रेषण (रेमिट्यान्स) ले उपभोक्तावादी संस्कृति बढाएको तर स्वदेशी रोजगारी निष्क्रिय बनेको।
  • ट्रेड युनियनहरू पार्टीका भातृसंगठनका रूपमा सञ्चालन भई विकृति बढेको।

समाधानका उपाय (Prescription)

  • रोजगार र स्टार्टअप: देशभर युवा स्वरोजगार अभियान चलाएर ५ लाख युवालाई १० लाखसम्मको निर्ब्याजी ऋण र ५ लाख रुपैयाँसम्मको स्टार्टअप अनुदान दिने ।
  • ट्रेड युनियन खारेज: दलीय ट्रेड युनियनहरू खारेज गरी आधिकारिक एउटा मात्र ट्रेड युनियन राख्ने ।
  • १५ दिनमा तलब: निजी तथा अनौपचारिक क्षेत्रका मजदुरलाई हरेक १५ दिनमा तलब भुक्तानी दिने कानुनी व्यवस्था गर्ने ।
४.

सामाजिक सुरक्षा र कल्याण

समस्याको पहिचान (Diagnosis)

  • सहकारी, लघुवित्त र मिटरब्याजको जालोमा परी नागरिकहरू ठगिएको र कतिपयले ऋणको मारमा आत्महत्यासमेत गर्न बाध्य भएको।

समाधानका उपाय (Prescription)

  • पीडितलाई न्याय: सहकारी र लघुवित्त ठगीका ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गराउने र मिटरब्याज पीडितको मूलधनभन्दा बढीको अवैध ब्याज मिनाहा गर्ने ।
  • आत्महत्या पीडित परिवारलाई राहत: ऋणको मारमा आत्महत्या गरेका परिवारलाई आजीवन निःशुल्क स्वास्थ्य सेवा र सरकारी रोजगारीमा प्राथमिकता दिने ।
  • आवास र भूमि: भूमिहीनलाई लालपुर्जा दिने र वार्षिक १ लाख विपन्न परिवारका लागि आवास निर्माण गर्ने ।
  • परिवार संरक्षण प्याकेज: मुख्य आम्दानी गर्ने व्यक्तिको मृत्यु भएमा आश्रित परिवारलाई शिक्षा र स्वास्थ्यको ग्यारेन्टीसहितको प्याकेज दिने ।
५.

खेलकूद तथा कला/संस्कृति

समस्याको पहिचान (Diagnosis)

  • चलचित्र क्षेत्रमा पाइरेसी र श्रम शोषण हुने गरेको।
  • खेलकुदका पूर्वाधार (स्टेडियम) निर्माण अलपत्र परेका र खेलाडीको भविष्य सुनिश्चित नभएको।

समाधानका उपाय (Prescription)

  • खेलाडीलाई पेन्सन: पदक विजेता राष्ट्रिय खेलाडीलाई मासिक २५ हजार र अन्तर्राष्ट्रिय खेलाडीलाई ६० हजार पेन्सन दिने । निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाहरू सम्पन्न गर्ने ।
  • चलचित्र र सम्पदा: स्वायत्त चलचित्र बोर्ड बनाउने, 'फिल्म सिटी' निर्माण गर्ने र धार्मिक/सांस्कृतिक सर्किट (बुद्ध, रामायण) विकास गर्ने ।

प्रविधि, नवप्रवर्तन तथा वातावरण

डिजिटल रूपान्तरण, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दोहन

१.

सञ्चार, सूचना प्रविधि र डिजिटल रूपान्तरण (एआई सहित)

समस्याको पहिचान (Diagnosis)

  • सार्वजनिक सेवा प्रवाहका विभिन्न प्रणालीहरूबीच अन्तरआबद्धताको अभाव रहेको जसले गर्दा सेवा छरितो र पारदर्शी हुन नसकेको ।
  • विद्युतीय तथ्याङ्क (डिजिटल डाटा) को सुरक्षा र साइबर अपराध एउटा ठूलो चुनौतीको रूपमा रहेको ।
  • कृत्रिम बौद्धिकता (एआई) र नवप्रवर्तनको क्षेत्रमा जनशक्ति र आवश्यक पूर्वाधारको कमी रहेको ।

समाधानका उपाय (Prescription)

  • डिजिटल सीप र आई.टी. हब: ५ वर्षमा ६ लाख युवालाई कोडिङ, ए.आई. र साइबर सेक्युरिटी लगायतको शिक्षा दिने । १० अर्बको स्टार्टअप कोष स्थापना गरी सातै प्रदेशमा आई.टी. पार्क बनाउन कर छुट दिने ।
  • एआई र ब्लकचेन: कृत्रिम बौद्धिकता सम्बन्धी साक्षरता अभिवृद्धि गर्न प्रदेशस्तरीय एक्सिलेन्स सेन्टर स्थापना गर्ने । भ्रष्टाचार नियन्त्रण गर्न 'ब्लकचेन' जस्ता प्रविधिको उपयोग गर्ने ।
  • डिजिटल इकोसिस्टम: सबै सरकारी सेवाहरूलाई अन्तरआवद्धतासहित डिजिटल बनाई 'फेसलेस' र 'सिमलेस' सेवा प्रवाह गर्ने ।
२.

जलवायु परिवर्तन, विपद् व्यवस्थापन र वातावरण/चुरे संरक्षण

समस्याको पहिचान (Diagnosis)

  • भूकम्पलगायत सबै प्रकारका प्राकृतिक विपद्हरूको उच्च जोखिम रहेको ।
  • विपद् पूर्वसूचना प्रणाली सबै नागरिकसम्म पुग्न नसकेको ।
  • जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि क्षेत्र र पूर्वाधारमा परिरहेको ।

समाधानका उपाय (Prescription)

  • विपद् बिमा र पूर्वसूचना: सबै नागरिकका लागि विपद् बिमा सुनिश्चित गर्ने । पूर्वसूचना प्रणाली समयमै सबै तहसम्म पुग्ने व्यवस्था गर्ने ।
  • भवनसंहिता र हरित पूर्वाधार: भूकम्पलगायतका विपद्लाई मध्यनजर गरी भवनसंहिता कडाइका साथ लागू गर्ने । जलवायु अनुकूलित 'हरित पूर्वाधार' निर्माण गर्ने ।
  • कार्बन न्यूट्रल नेपाल: सन् २०३५ सम्म २५ हजार र २०४५ सम्म ४० हजार मेगावाट जलविद्युत उत्पादन गरी नेपाललाई 'कार्बन न्यूट्रल' मुलुकको रूपमा स्थापित गर्ने ।